|
जेलमुक्त हुनेक्रममा किरण केसी

रुकुम : कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर करिब ७ वर्ष जेल सजाय भोगेका रुकुमका २ व्यक्ति सर्वोच्च अदालतबाट निर्दोष सावित भई रिहा भएका छन्। मुसिकोट नगरपालिका– १२ का पूर्णबहादुर ओली र मुसिकोट नगरपालिकाकै वडा नम्बर ११ का किरण केसी जेलमुक्त भएका हुन्।

उनीहरु दुवैलाई रुकुमको बैरागीठाँटीमा २०६७ सालमा भएको व्यक्ति हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत रुकुमले २०६९ असार १९ गते दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। त्यसपछि २०७० वैशाख १६ गतेको तत्कालीन पुनरावेदन अदालत तुलसीपुर दाङले रुकुम जिल्ला अदालतले सुनाएको फैसला सदर गरेको थियो।

ओली पक्राउ परेको करिब ७ वर्ष र केसी ५ वर्ष पछि निर्दोष सावित भएर जेलमुक्त भएको जिल्ला कारागार शाखा रुकुमका जेलर बलबहादुर केसीले जानकारी दिए। उनका अनुसार ओली २०६७ मंसिर १९ गते र केसी २०६९ असार १९ गते थुनामा परेका थिए। ‘मेरो जानकारीमा भएसम्म लामो समय पछि निर्दोष सावित भएर छुटेको यो पहिलो घटना हो, हालसम्म बढीमा डेढ/दुई वर्षपछि भने निर्दोष सावित भएका छुट्ने गरेका धेरै घटना छन्,’ जेलर केसीले भने, ‘यो एउटा दुःखद् घटना मान्नुपर्छ, यति लामो समय निर्दोष व्यक्तिले जेल सजाय भोगे।’

यसरी लामो जेल बसाई र अनुसन्धानपछि निर्दोष सावित भएर जेलमुक्त हुनेहरुका लागि राज्यले क्षतिपूर्तिको व्यवस्था गरे राम्रो हुने उनको भनाई छ। ‘बेकारमा आधादशक बढी जीवनको महत्वपूर्ण समय जेलमा बिताइयो, पछि ऊ निर्दोष सावित भयो तर, उसले केही क्षतिपूर्ति पाउँदैन, धेरै टाढा घर छ भने गाडिभाडासम्म हामी कार्यालयको तर्फबाट व्यवस्थापन गरेर दिन सक्छौँ त्यो भन्दा केही क्षतिपूर्ति छैन,’ उनले भने। केसी तुलसीपुर कारागारमा थिए भने ओली रुकुम कारागारमा थिए। लामो समयपछि निर्दोष सावित भएर जेलमुक्त भएपछि आफन्तहरुले उनीहरुलाई अवीर र माला लगाएर सम्मान अनि स्वागत गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.