|

दमक (झापा) : झापाको झिलझिलेमा सञ्चालित दोस्रो सताक्षी गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। विवादकाबीच बिहीबार सम्पन्न खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई २− १ ले पराजित गरेको हो। खेलको १८ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। मनाङका सुल्लाह सुलेमानले आर्मीका नवयुग श्रेष्ठलाई डिबक्स नजिकै फल गरेपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै कार्कीले गोल गरेका हुन्।

४४ औं मिनेटमा नवयुगले अर्को गोल थपे। तर, गोल पोस्टमा नछिरेको भन्दै मनाङले खेलमा विवाद गरेपछि पुन ५० मिनेट ढिलो गरेर खेल शुरु गरिएको थियो। अवरुद्ध पछि सञ्चालित खेलको ६४ औं मिनेटमा मनाङका कप्तान अनिल गुरुङले गोल गरेका थिए। उनले दोना थापाको क्रस पासमा हेड मार्फत गोल गरेका थिए। उपाधि जितेको आर्मीले नगद ५ लाख तथा उपविजेता बनेको मनाङले २ लाख ५० हजार रुपैया प्राप्त गरेको छ। कात्तिक २८ गतेदेखि सञ्चालित प्रतियोगितामा ए डिभिजनका ६, एक विदेशी र आयोजकसहित १० टिमको सहभागिता रहेको थियो। 

सहयोगका लागि राखेप तयार

खेलको समापन कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले मोफसलमा हुने गरेको गोल्डकपहरुका लागि राखेपले सहयोग गर्ने बताए। सताक्षी गोल्डकपका लागि समेत आगामी वर्षमा सहयोग गर्ने भन्दै उनले यस्ता प्रतियोगिताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग गर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.