|

दमक (झापा): झापाको कमल गाउँपालिका– ५ मा चौथो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको सीएमजी भेट्रान क्लब र इलाम भेट्रान क्लब विजयी भए। जीतसँगै दुवै टिम समूह ८ मा पुग्न सफल भए।

स्व. मेजर टंक राईको स्मृतिमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा विजयी सीएमजीले धरमपुर भेट्रान क्लबलाई शून्यका विरुद्ध एक गोल गरेको थियो। सीएमजीका तर्फबाट जर्सी नम्बर ९ का दीपक सिंहले हाफपछि निर्णायक गोल गरेपछि विजयी भएको हो।

उद्घाटन दिनको दोस्रो खेलमा हाम्रो भेट्रान विराटनगरलाई शून्यका विरुद्ध एक गोल गरी इलाम भेट्रान क्लब दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो। इलामका तर्फबाट जर्सी नम्बर १६ का राजु थापाले खेलको हाफपछि गोल गर्न सफल भएका थिए। 

उक्त खेलको म्यान अफ द म्याच दुवै गोलकर्ता घोषित भएका थिए। म्यान अफ द म्याच घोषित खेलाडीलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा नेपालसहित बंगलादेशको बागोटा ओनाली अतिथ, भारतको सेनाली माल्दा अतिथ, केरलाको जिमखना फुटबल क्लब गरी १४ वटा टिम सहभागी छन्। प्रतियोगितामा विजेता, उपविजेताले क्रमशः नगद एक लाख एक हजार १० रुपैयाँ र ४० हजार ४०४ रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था दमक–लखनपुर भेट्रान क्लबका कोषाध्यक्षसमेत रहेका व्यवस्थापक प्रेमकुमार पाण्डेले जानकारी दिए।

पुस ५ गतेसम्म चल्ने प्रतियोगिताको अखिल नेपाल फुटबल संघका सदस्य पंकन नेम्बाङले उद्घाटन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.