|
नेपाली खानाको फोटो : krantipanday.blogspot.com

काठमाडौं : हिन्दु नेपाली महिलाहरुको ठूलो पर्व तीज सुरु हुन एक दिन बाँकी छ। शहरतिर दरको नाममा भोज खाने क्रम चलिरहेको छ। शहरमा बसोबास गर्नेको संख्या बढेका कारण हिजोआज माइत गएर दर खानुअघि नै समूह बनाएर दर खाने प्रचलन बढेको देखिन्छ।

यद्यपी तीजकै दिन खाइने दरका परिकार र प्रचलनमा पनि धेरै फेरबदल आइसकेको छ। त्यसैले हिजोआज दर र तीजको सम्बन्ध पनि फेरिएको छ। यसै सन्दर्भमा थाहाखबरकी सविना खनालले काठमाडौंको वाल्मिकी क्याम्पसमा अध्यापन गर्ने संस्कृतिविद् प्रियंबदा काफ्लेलेसँग तीज र दरको सम्बन्ध प्रष्ट्याएकी छन्। उनले ब्यक्त गरेको विचारको सम्पादित अंश :

दर भनेको के हो?

हाम्रो हिन्दु वैदिक परम्परा अनुसार ब्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ।  खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्व दिइन्छ।  ब्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने र थोरै खानाले भोलिपल्ट तन्दुरुस्त रहन मद्दत गर्छ।

तीज भनेको धार्मिक परम्परासँग जोडिएको पर्व हो। तर तीजमा खाइने दरको सम्बन्ध धर्मसँग छैन। अघिल्लो दिन आडिलो खानेकुरा खाँदा ब्रतको दिन सजिलो हुन्छ भनेर दर खाने प्रचलन बसेको हो। गाउँघरमा तीजको दिन पनि काम गर्नुपर्ने हुन्छ। भोकै दिनभरी काम गर्न सकिदैन,  काम गर्न बल पनि चाहिन्छ त्यसका लागि अघिल्लो दिन नै दरिलो, आडिलो खानेकुरा खानुपर्छ भन्ने मान्यता छ। ब्रत बस्दा शरीरलाई कमजोर हुन नदिने विषयसँग दरको सम्बन्ध रहेको छ।

किन खुवाइन्छ चेलीबेटीलाई दर?

हिन्दु नेपाली संस्कारमा चेलीहरु तीजमा माइत जान्छन् र ब्रत बस्छन्। बल्लबल्ल माइत आएका चेलिबेटीहरूलाई मिठो खुवाउने मन अभिभावकहरुमा हुनु स्वभाविक हो। चेलिबेटीहरू तीजमा ब्रत बस्ने भएपछि उनीहरूलाई अघिल्लो दिन नै मिठोमिठो खुवाउने चलन पहिलेदेखि नै चलिआयो। यसरी तीजको अघिल्लो दिन खाने परिकारलाई दर भनियो।

पहिले-पहिले गाउँघरमा महिलाहरुले सामान्य खानेकुरा मात्र खान पाउँथे। यसबाट पर्याप्त पौष्टिक आहार पनि उनीहरुले पाउँदैनथे। शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको हो। पहिले पहिले गाउँघरमा मिठो खान चाडबाड नै कुर्नुपर्थ्यो। त्यसकारण तीजको अघिल्लो दिन शरीरलाई दह्रो बनाउने आडिला खानेकुरा सहित दर खुवाउने गरिन्थो।

दरको रुपमा तीजको अघिल्लो दिन राती अबेरतिर अनादीको लट्टे, घ्यू हालेको खाना, खीर, ढकनीजस्ता तागत दिने खानेकुरा खाने चलन छ। तर हिजोआज दरको रुपमा माछा मासु लगायतका खानेकुरा पनि खाने गरेको पाइएको छ। तीजमा ब्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर ब्रत बस्नु शुद्ध मानिदैन।

ब्रत बस्ने अघिल्लो दिन दूध,  घ्यूबाट बनेको चोखो र आडिलो खानेकुरा खानुपर्छ। हिजोआज ठाउँ अनुसार तीजको दिन शारीरिक परिश्रम गर्ने चलन घटेको छ। त्यसैले प्रोटिनयुक्त खानेकुरा खाँदा शरीरलाई थप असर गर्ने कुरामा ख्याल गर्नुपर्छ।

दर खाने शैलीदेखि तीजका गीतमा पनि विकृति

हिजोआज शहरी क्षेत्रमा तीज आउनुभन्दा धेरै अगाडिदेखि दरको नाममा होटल र पार्टी प्यालेसहरूमा रेडिमेट खानेकुरा खाने प्रचलन बढेको छ। पहिले-पहिलेका दरमा चेलीबेटी र आमाबीचको प्रेम झल्किन्थो। गीतहरुमा पनि आमाको दरको महिमा गरिन्थो तर, अहिले व्यापारिक दर भएको छ। होटल, पार्टी प्यालेसका साहुहरुले दर पकाउँछन्, प्लेटको हिसाबमा हुन्छ, जुन स्वस्थकर छैन, जसमा प्रेम हुँदैन अनि नेपाली मौलिक परिकार पनि पाइदैन।

पहिले-पहिलेका तीज गीतहरुमा महिलाहरुले घरमा भोगेका पीडा, आफ्नो इच्छाहरुलाई तीज गीतको भाकामा साथीहरुसँग ब्यक्त गर्ने र धार्मिक भावना भएका गीतहरु गाउने चलन थियो।

कहाँमा जान्छौँ रानीचरी बगाल

भगवानलाई भेटन नि बरिलै भगवानलाई भेटन

भगवानलाई भेटन के-के सर्धम चाहिन्छ? यति समाचार ल्याइदेऊ बरिलै

भगवानलाई भेटन एकमा चाहिन्छ श्रीखण्ड चन्दन दोसरी बोलपत्र

हिजोआज पनि धेरै राम्रा गीतहरु बनेका छन्। तर, पहिलाजस्तो तीजमा नै गाउने निश्चित भाकाहरुमा गीत गाइदैन, सबै रत्यौलीमा गाइनेजस्ता भड्किला शैलीका गीत गाउने चलन बढेको छ। त्यसैले तीज गीतको संस्कृति बोक्ने खालका गीतहरु हराउँदै गएका छन्। सस्तो लोकप्रियताको कारण हिजोआज उत्ताउलो पाराले तीज गीत गाउने चलन बढेको छ। स्वतन्त्रताको नाममा उश्रृङ्खलता बढेको छ।

नारीले मात्र बस्ने भन्ने छैन तीजको ब्रत

स्वस्थानीमा हिमालय पर्वतकी छोरी पार्वतीले महादेव पति पाउँ भनी स्वस्थानीको ब्रत बसेकी थिइन्। त्यसैले नेपाली हिन्दु संस्कारमा पनि महिलाहरु मात्र तीजको ब्रत बसेको पाइन्छ। तर समय अनुसार यसलाई फरक ढंगले पनि ब्यहार गर्नुपर्छ। विवाहित महिलाहरुले पतिसँगै ब्रत बस्नु राम्रो हुन्छ। यदि कुनै नारीको पतिले पत्नी ब्रत बसेको मन पर्दैन भने जबर्जस्ती ब्रत बस्नु हुँदैन। जसले पतिलाई राम्रो हुनुको सट्टा झन् नराम्रो लाग्न सक्छ। बिहे नगरेका नारीहरुमा ब्रतले सकारात्मक भावनाको विकास गराउँछ।

तीजको ब्रत पतिले पनि बस्दा हुन्छ। पतिपत्नी भनेको एउटै रथको दुई पाङग्रा जस्तै हो। एकबिना अर्को अपूरो हुन्छ, त्यसैले पतिले पनि पत्नीको नाममा ब्रत बस्न सक्छन्। ब्रत नबस्ने हो भने ब्रत बसेको पत्नीलाई सहयोग गर्न सक्छन्। तर, पतिलाई राम्रो होस्, राम्रो पति पाउन भन्दै आफ्नो शरीर र मनलाई अप्ठेरोमा पारेर पानी पनि नखाई ब्रत बुनु राम्रो होइन। शरीरको अवस्था अनुसार पानी, फलफूल, जुस, दूध, दही खाएर ब्रत बस्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.