|

बैतडी : लक्षित समुदायका लागि छुट्याइएको बजेट नदिएको भन्दै दशरथचन्द नगरपालिका– ९ ग्वाल्लकेका दलित समुदाय आन्दोलित भएका छन्। दलितका लागि छुट्याइएको १० प्रतिशत बजेट दिनुपर्ने माग गर्दै उनीहरू अन्दोलित भएका हुन्। 

वडाका ८७ जना दलितको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाउँदै उनीहरूले नगरपालिकाले विकासको मूल प्रवाहबाट टाढा राख्न खोजेको आरोप लगाएका छन्। वडा कार्यालयले लक्षित बजेटअन्तर्गत दलितले पाउनुपर्ने १० प्रतिशत बजेटबारे बेवास्ता गरेकाले आवश्यक न्याय दिन दलित समुदायले अपिल पनि गरेको छ।

देशमा लामो संघर्षपछि दलित समुदायको मर्म र भावनाअनुसार नीति नियम बनेको र लोकतान्त्रिक सरकारले दलित समुदायका लागि १० प्रतिशत बजेट अनिवार्य गरे पनि वडा कार्यालय तानाशाही व्यवहार गरेको संघर्ष समितिका अध्यक्ष नन्दराम कोलीले बताए। ‘स्थानीय तहको निर्वाचनपछि आफ्नो टोलमा विकासको आशा गरेका थियौँ तर वडा कार्यालयले विनियोजित बजेट दिएन’, उनले भने। 

वडा नम्बर– ९ का लागि गएको ७८ लाख रुपैयाँको १० प्रतिशत अर्थात् सात लाख रुपैयाँभन्दा बढी रकम हुनुपर्नेमा अहिले एक लाख रुपैयाँभन्दा बढी नदिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। दलितका लागि कति बजेट वितरण गरिँदै छ भन्नेबारे पनि वडा कार्यालयले जानकारी नदिएको उनीहरूको गुनासो छ। 

लक्षित समुदायको अधिकार कटौती गरी आफैँले जिताएका जनप्रतिनिधिले बेइमानी गरेको भन्दै उनीहरूले न्यायोचित रूपमा बजेट वितरण नगरिए कडा आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्। 

गरिब, उत्पीडित,  दलित समुदायको विकासका लागि सरकारले छुट्याएको बजेटमा स्थानीय तहका जनप्रतिनिधिहरूले राजनीतिक स्वार्थबाट प्रेरित भएर लक्षित बजेटमा मनपरी गरेको भन्दै यसअघि वाम गठबन्धनले पनि मंगलबार विज्ञप्ति निकालेको थियो। एमालेकी कार्यालय सचिव सरस्वती नेपालीले नगरपालिकाले मनपरी ढंगले बजेट खर्च गरिरहेको आरोप लगाइन्। ‘एक शीर्षकको बजेट कसैसँग सल्लाह नगरी अर्कै शीर्षकमा खर्च भइरहेको छ’, उनले भनिन्।

दशरथचन्द नगरपालिकाले भने वडा कार्यालयले सबै पक्षसँग छलफल गरी लक्षित समूहको बजेट बाँडफाट गर्ने गरेको जनाएको छ। बजेट बाँडफाँटमा कुनै अनियमितता र विभेद नगरेको नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन्। वडा कार्यालयले सबैसँग छलफल गरेर लक्षित बजेट बाँडफाँट गर्न पाउँछ’, उनले भनिन्।

नगरपालिकाले नियमसंगत तरिकाले बजेट चलाइरहेको उपप्रमुख चन्दले बताइन्। ‘वाम गठबन्धनका साथीहरूले आरोपका लागि आरोप लगाएर स्थानीयलाई उचालिरहेका छन्’, उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.