|

मलेखु (धादिङ) : बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङकी २२ वर्षीया शुक्रीमाया चेपाङका काखमा तीन सन्तान छन्। सानो बच्चा १७ महिनाको भयो। आठ महिनाको गभर्वती उनी सानो नानी बोकेर कन्दमूल र सिस्नुले गुजारा चलाउँछिन्।

आठ महिनाको गभर्वती पोषिलो खानेकुरा खाने, नियमित आइरन चक्की खाने, पटकपटक स्वास्थ्य चौकी गएर स्वास्थ्य जाँच गराउने जस्ता कुरा  शुक्रीमायालाई कुरा एकादेशको कथा जस्तै लाग्छ। 

उनीमात्र होइन गाउँमा अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुण्टा खान थालेका छन्। खानेकुरा अभावमा यहाँका चेपाङहरूलाई कन्दमूल खोज्न जानुपर्ने र आफ्नै बारीमा भएको सिस्नु टिपेर पकाउनुपर्ने बाध्यता छ। 

'सिस्नुको खोले नभए त मरिन्छ नि!' शुक्रीमायाले गम्भीर मुद्रामा भनिन् 'गाउँमै खानेकुरा छैन।' उनको घरमा दुई डोको जति मकै छ। खोरियामा मकै पाक्न १० महिना लाग्छ। गाउँमा स्वास्थ्य चौकी नभएकाले गाउँबाट कोही पनि गभर्वती भए पछि जाँच गराउन जाँदैनन्। स्वास्थ्य चौकी गइहाले पनि औषधि किनेर खानुपर्ने भन्ने सुनेकाले स्वास्थ्य चौकी नगएको उनीहरुको भनाइ छ। 

शुक्रीमाया मात्र होइन ब्रुसबाङका सबैको घरमा खानेकुरा छैन। खोले खानु पर्छ सिस्नुको। 'शहरमा बस्नेका लागि त एक दिन सिस्नु खाँदा रमाइलो लाग्छ तर संधै खोले खाएर तागत नै नआउने र बिरामी भएको जस्तो हुन्छ',प्रेममाया चेपाङले गुनासो गरिन्। 

धादिङ र चितवनको सीमा क्षेत्रमा रहेको ब्रुसबाङ महाभारत श्रृंखलाको एउटा चुचुरो डाँडामा रहेकाले यो गाउँ सबै किसिमका सुविधा र अवसरबाट वञ्चित रहेको यहाँका वृद्ध ७८ वर्षीय टेकबहादुर चेपाङको भनाइ छ। 

 पानी खानका लागि समेत दुई घण्टा टाढा चितवनतर्फ पुगेर एक भाँडो पानी ल्याउँदा दिन सकिन्छ। कुवाको पानी ल्याएर एक भाडोले तीन–चार दिनसम्मलाई पुर्‍याउनुपर्ने बाध्यता रहेकाले बस्ती पानी खान नपाएर भौतारिएको काकाकूलजस्तो भएको छ। 

दुई दिनअघि गाउँ पुगेको सरकारी टोलीमा जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम भण्डारी, प्रहरी नायब उपरीक्षक रामबहादुर केसीलगायतले गाउँवासीको समस्या दर्दनाक र पीडादायक भएको जिल्ला सदरमुकाम फर्केपछि बताए। 

'दश महिनामा खोरियाको मकै पाक्छ। यसले तीन महिनाभन्दा बढीलाई खान पुग्दैन। गाउँमा सबैको यस्तै हो', सूर्यमाया चेपाङले कुरा राखेपछि सरकारी टोली नै गम्भीर भएको थियो। सरकारले धादिङमा जिल्ला विकास समितिमार्फत २०३६ सालदेखि चेपाङ विकास कार्यक्रम सञ्चालन गरेको थियो तर ब्रुसबाङमा यो कार्यक्रमको कुनै प्रभाव नपरेको गाउँ पुगेको सरकारी टोलीका नेता नेपालको भनाइ छ।

सरकारले सञ्चालन गरेको गरिबी निवारण कार्यक्रमको पनि कुनै प्रभाव देखिएको छैन। विभिन्न संघसंस्थाले गरेको भनेको कार्यक्रम त गाउँसम्म नै नपुगी फर्किने गरेको यहाँका बासिन्दाको गुनासो छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.