|

दमक (झापा) : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको दोस्रो चरणअन्तर्गत झापामा मंसिर २१ गते निर्वाचन भयो। पाँच प्रतिनिधिसभा र १० प्रदेशसभाका लागि भएको निर्वाचनको मत परिणाम एक साताभित्र सार्वजनिक पनि भयो। तर परिणामअनुसार निर्वाचित सांसदहरूले अझै सांसद भएको महसुस गर्न पाएका छैनन्। 

प्रतिनिधिसभा र प्रदेशसभाका अधिकांश सांसदहरूको दैनिकी भेटघाट, आसन ग्रहण र मन्तव्यमै बित्ने गरेको छ। झापा निर्वाचन क्षेत्र नं.– ५ ‘क’बाट प्रदेशसभामा निर्वाचित हिक्मत कार्की राष्ट्रिय राजनीतिको गतिरोध लम्बिएका कारण जनमतले दिएको कार्यभार पूरा गर्ने अवसर नपाएको बताउँछन्। ‘राजधानी तोकिएको छैन, कार्यालय टुंगो छैन। हामी त अलमलमा परेका छौँ’, उनले भने, ‘शपथ ग्रहणसमेत नभएकाले सांसद भएको महसुस पनि भएको छैन।’ 

नागरिकले गरेका विकास निर्माण, नीति निर्माणलगायतका विषयमा काम गर्ने वातावरण नभएकाले भेटघाट गर्ने, धन्यवाद दिनेलगायतका काममा समय बितिरहेको उनले बताए। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका उनले काठमाडौं आउजाउ भइरहे पनि बढी समय आफ्नो क्षेत्रमै रहेर समय बितेको बताए। 

यस्तै भनाइ छ, झापा निर्वाचन क्षेत्र नं.– ५ ‘ख’का प्रदेशसभा सदस्य अर्जुन राईको पनि। म्त परिणाम सार्वजनिक भएपछि केही दिन मतदाताका बीचमा धन्यवाद दिन पुगेको र त्यसपछि पनि मतदाताहरूकै बीचमा विभिन्न विषय र सन्दर्भमा पुगिरहेको उनको भनाइ छ। ‘जनताले जिम्मेवारी त दिए नि, काम थाल्ने वातावरण बनेको छैन’, उनले भने, ‘प्रदेश प्रमुखको नियुक्ति, अस्थायी राजधानी निर्धारणलगायतका प्राविधिक विषयमा भएको ढिलाइले हामी पनि औपचारिक, अनौपचारिक कार्यक्रममा मतदाताबीचमै रहेका छौँ।’ 

एमाले केन्द्रीय अनुशासन आयोग सदस्य र झापा जिल्ला सुकुमवासी समस्या समाधान आयोगका पूर्व अध्यक्षसमेत रहेका राईले खाली समयलाई पनि नागरिकका समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गरी उपयोग गरिरहेको बताए। जिल्ला विकास समिति झापाका पूर्व सभापतिसमेत रहेका उनले भने, ‘मतदाताले आफ्नो जनप्रतिनिधि चुनिसकेका छन्, अब काम गर्ने वातावरण जति सक्दो चाँडो बनाउनुपर्‍यो।’

झापाको क्षेत्र नं.– ४ ‘क’बाट प्रदेशसभामा निर्वाचित झलकसिंह दर्लामीको दैनिकी सांसदको हैसियतमा सुरु हुन सकेको छैन। परिणामपछिको समय विभिन्न स्थानको अवलोकन, सर्वधारणसँग भेटघाट, सभा समारोहहरूमै उनको दैनिकी बितिरहेको उनले बताए। ‘धेरै समय त म आफ्नै क्षेत्रमा बिताइरहेको छु’, उनले भने, ‘विभिन्न कार्यक्रम हुन्छन्, निम्तो आउँछन्, जानै पर्‍यो।’ तर औपचारिक कार्यक्रमहरूमा पनि जनताका पीरमर्का र अवस्था बुझ्ने अवसर भएकाले यस्ता कार्यक्रमलाई पनि व्यर्थ नठानेको उनको भनाइ छ। माओवादी केन्द्रका पोलिटव्युरो सदस्यसमेत रहेका उनी आवश्यकताअनुसार पार्टीका काम र बाँकी जनताकै बीचमा रहेर बिताइरहेको सुनाउँछन्। 

काम गर्ने वातावरण भएन
निर्वाचित सबै सांसदहरूको गुनासो एउटै छ, ‘निर्वाचित भइसकेपछि पनि काम गर्ने वातावरण भएन।’ देशमा पहिलो पटक संघीय व्यवस्थाअनुसार निर्वाचन भएको र यसलाई संघीयता र संविधान कार्यान्वयनमा महत्त्वपूर्ण कदमका रूपमा मतदाताले पनि लिएको उनीहरूको भनाइ छ। 

झापाको निर्वाचन क्षेत्र नं.– २ ‘क’बाट प्रदेशसभामा निर्वाचित एकराज कार्की आफूहरू संविधान र जनताले दिएको म्याण्डेट पूरा गर्न आतुर रहे पनि काम गर्ने वातावरण नै नभएको गुनासो गर्छन्। ‘हामी त आफ्नो कार्यभार पूरा गर्नकै लागि चुनावमा गएका थियौँ, जनताले पत्याए’, उनले भने, ‘तर सरकारको अलमल र सत्तालिप्साले जनप्रतिनिधिले निर्वाचन जितेर पनि काम गर्न पाएका छैनन्।’

झापा क्षेत्र नं.– ५ ‘क’का प्रदेशसभा सदस्य कार्कीको धारणा पनि उस्तै छ। संविधानले प्रदेशसभालाई धेरै कार्यभार तोकेको, यसको आधारभूत संरचना, नीतिगत तथा अन्य स्वरूपहरू तयार पार्नुपर्ने भएकाले यो अन्योललाई लम्ब्याउन नहुने धारणा राख्छन् उनी। मतदाताले विकास निर्माणप्रति व्यग्र आशा गरिरहेकाले जनप्रतिनिधिलाई लामो समय अलमल र अन्योलमा राख्न नहुने उनको धारणा छ। 

अरू पनि उस्तै
उनीहरू जस्तै अधिकांश प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यहरूको दैनिकी यस्तै रहेको छ। झापाबाट निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय राजनीतिमा केन्द्रित छन् भने बाँकीको समय काठमाडौं आउजाउ, पार्टी काम, भेटघाट र निमन्त्रणा स्वीकारमै बितिरहेको छ। 

प्रतिनिधिसभामा निर्वाचित झापा क्षेत्र नं.– १ का सुरेन्द्र कार्की माओवादी केन्द्रका प्रभावशाली नेतासमेत रहेकाले उनी राष्ट्रिय राजनीतिमा केन्द्रित छन् भने प्रदेश र प्रतिनिधिसभाका अन्य सदस्यहरू नीतिगत कामभन्दा पनि औपचारिक कार्यक्रम र आतिथ्य स्वीकारमा नै अलमलिइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.