|

भेर्नन फिलान्डेरले दोस्रो इनिङमा ६ विकेट लिएपछि दक्षिण अफ्रिकाले भारतविरुद्धको पहिलो टेस्टमा सहज जीत हासिल गरेको छ। दोस्रो इनिङमा कमजोर योगफलका बाबजुद दक्षिण अफ्रिकाले बलरको उत्कृष्ट प्रदर्शनमा ७२ रनको प्रभावशाली जीत निकाल्दै सिरिजमा १–० को अग्रता बनायो।

तीन टेस्टको सिरिजको पहिलो टेस्टमा चौथो दिन नै जीत निकाल्ने क्रममा दक्षिण अफ्रिकी बलरको प्रदर्शन सम्झनलायक रह्यो। दक्षिण अफ्रिकाले दोस्रो इनिङको खराब ब्याटिङपछि भारतलाई २०८ रनको लक्ष्य दिएको थियो। सामान्य लक्ष्य पछ्याएको भारत चौथो दिनको तेस्रो सेसन पूरै समय खेल्न असफल हुँदै १३५ रनमै अलआउट भएपछि दक्षिण अफ्रिकाविरुद्धको खराब इतिहास तोड्न असफल भयो। भारतलाई पराजित गर्ने क्रममा मोर्ने मोर्केल र कागिस्व रवदाले समान २ विकेट लिए।

दक्षिण अफ्रिका दोस्रो इनिङमा भारतीय बलरसामु निरीह देखियो। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा मोहम्मद सामी र जसप्रीत बुम्राहले समान ३ विकेट लिए। त्यस्तै, विनय कुमार र हार्दिक पान्ड्याले समान २ विकेट लिए।

एइडिन मार्करम र डिन इल्गरले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरे पनि त्यसपछिका ब्याट्सम्यान लगातार विकेट पतनको सिकार भए। डी भिलियर्सले ३५ रन तथा केसभ महाराजले १५ रन बनाए।

फिलेन्डरसामु भारतीय ब्याट्सम्यान निरीह

समग्रमा २०८ रनको लक्ष्य पाएपछि उत्साही देखिएको भारतसँग जीतका लागि पर्याप्त समय थियो। तर, भारतलाई दक्षिण अफ्रिकाले चौथो दिनको पूरा खेल समय पनि टिक्न दिएन। ओपनरद्वय मुरली विजय र शिखर धवनको ३० रनको साझेदारी सर्वाधिक साझेदारीका रूपमा रह्यो।

भारतीय इनिङमा रविचन्द्र आश्विनको ३७ रन सर्वाधिक रह्यो । त्यस्तै, कप्तान विराट कोहलीले २८, शिखर धवनले १६, मुरली विजय र विनय कुमारले समान १३ रन बनाए। १५.४ ओभर बलिङ गरेका फिलेन्डरले ४ मेडन फाल्दै ४२ रन खर्चिएर ६ विकेट लिएका थिए। उनी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.