|

धनकुटा : पञ्चायती व्यवस्थाविरुद्ध लडेर ज्यान गुमाएका छिन्ताङका शहीद परिवारमा खुशी छाएको छ। छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई ३८ वर्षपछि सरकारले शहीद घोषणा गरेको खबर सुनेपछि शहीद परिवारमा खुसीको सीमा नै रहेन।

‘यो खबर सुन्दा खुशीले मन थाम्नै सकिनँ’, शहीद पुत्रमान राईका छोरा बलराम राईले भक्कानिँदै भने ‘अभिभावकको बलिदानीलाई राज्यले बल्ल मूल्यांकन गरेको छ।’ शहीद घोषणा गर्ने नेताहरूको वर्षौंअघिदेखिको आश्वासनले दिक्क भइसकेका राईलाई शहीद घोषणाको खबर सुरुमा विश्वास नै लागेको थिएन।

यता शहीद गोपाल आनन्दका छोरा योगेन्द्र राईले पनि शहीद घोषणाको खबरले खुशी लागेको बताए। ढिलै भएपनि शहीदघोषणाको खबरले गाउँमा खुशीयाली छाएको उनले बताए। ‘पहिले नै शहीद घोषणा गरिनुपर्ने हो’, राईले भने, ‘ढिलै भएपनि शहीदको सम्मान भयो। धेरै खुशी छौं।’ शहीद परिवार मात्र नभई यो खबरले खाल्सा क्षेत्रमै धेरैपछि खुशीयाली छाएको छ।

शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पनि राज्यले ढिलै भएपनि शहीदलाई सम्मान गरेको प्रतिक्रिया दिए। घटना भएको करिब चार दशकमा राज्यले शहीद घोषणा गरेको खबरसँगै घर–घरमा दीपावली गरिएको शहीद परिवार संरक्षण समिति अध्यक्षसमेत रहेका शहीदपुत्र बलरामले जानकारी दिए। उनका अनुसार शहीदको शालिकमा पनि माल्यार्पण लगायत कार्यक्रम गर्ने तयारी गरिएको छ।

मन्त्रिपरिषद् बैठकले छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई नै शहीद घोषणा गरेपछि घाउमा मलम लागेको अुनभूति भएको शहीद परिवारले जनाएका छन्। शहीद घोषणा भएसँगै अाफूहरूको जिविकोपार्जनको व्यवस्था गर्न पनि शहीद परिवारले माग गरेका छन्।

२०३६ सालमा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउँदा छिन्ताङ, खोकु र आँखिसल्लाका १६ जनालाई राज्यपक्षबाट निर्ममतापूर्वक हत्या गरिएको थियो। कात्तिक २३ देखि २९ गतेसम्म धनकुटाको खोकू छिन्ताङ र आँखिसल्लामा सरकारले 'कम्युनिस्टका विरुवा राख्न हुँदैन' भन्दै उक्त क्षेत्रका १६ जनालाई निर्मतापूर्वक हत्या गरेको थियो। 

को–को थिए मारिने?
गोपाल आनन्द राई, गंगाबहादुर तुप्रिहाङ, लाखमान साधु राई, झगेन्द्र राई, धनवीर दर्जी, गंगाबहादुर विश्वकर्मा, गम्भीरमान दर्जी, रणध्वज पुमा राई, गणेश विश्वकर्मा, पुत्रमान राई, भैरव खालिङ, केशरमान राई, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, हाङ्खिमा साइँली राई र रामकुमारी राई हत्याकाण्डमा मारिएका थिए। 

छिन्ताङ हत्याकाण्डको समयमा धनकुटाकै नेता स्वर्गीय सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। सोही कारणले पनि छिन्ताङ काण्डको प्रमुख दोषीका रूपमा थापालाई लिइन्छ। उनीहरूलाई पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै उनीहरूको गतिविधि नियन्त्रण गर्ने नाममा सरकारले प्रहरी परिचालन गरी हत्या गरेको थियो।

छिन्ताङ हत्या काण्डपछि बसेको तत्कालीन कम्युनिष्ट पार्टीको समीक्षा बैठकमा ‘आफ्नै नेतृत्वको सही भूमिकाको अभाव’ भनिएको थियोे। तर, विशेषगरी हत्या आरोप लागेका थापाले उनको जीवनकालमा छिन्ताङ हत्याको खण्डन नगर्नु र त्यस क्षेत्रमा कुनै राजनीतिक कार्यक्रम लिएर नजानुले नैतिक रूपमा हत्याकाण्डको जिम्मा लिएको कतिपयको बुझाइ छ।

तत्कालीन भूमिगत पार्टी नेकपा मालेको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री थापाको प्रत्यक्ष निर्देशनमा गोली चलेको र सुत्केरीसहित १६ जना मारिएको आरोपको जवाफ नदिई थापा दिवंगत भए। छिन्ताङ हत्याकाण्डलाई नेपाली राजनीतिमा ठूलो घटनाका रूपमा लिइने गरिएको छ। 

हत्याकाण्डका बेला के के भयो ?
‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुःख बिसाउँदा...’ युवा गायक किशोर थुलुङले खोक छिन्ताङ घटनालाई लिएर गीत नै बनाएका छन्।

धनकुटेलीलाई हरेक वर्ष आउने शहीद दिवसमा छिन्ताङ काण्डले पिरोल्छ। समाजमा अपराध गरेर मरेको व्यक्तिलाई शहीद घोषणा गर्न नहिच्कीचाउने सरकारले पञ्चायती राज्य व्यवस्थाका विरुद्ध धावा बोल्ने ‘छिन्ताङे वीरहरूको लागि केही गर्न सकेको थिएन।

तत्कालीन नेकपा मालेले पञ्चायती शासन व्यवस्थाविरुद्ध किसान आन्दोलन गरेको थियो। त्यत्तिबेलाको निरङ्कुश पञ्चायती सरकारले त्यहाँका किसान परिवारलाई क्रुरतापूर्वक हत्या गरेको थियो। सुत्केरी महिलालाई भिरबाट खसालेर ज्यान लिइयो। केहीलाई तमोर नदीमा डुबाइयो। केहीलाई हातखुट्टा बाँधेर गोली हानियो। तमोर खोला तरेर भाग्न खोज्दा केहीलाई ढुङ्गाले हानेर समेत मारिएको शहीद धनवीर दर्जीका छोरा सोमबहादुर दर्जीले बताए।

के–के भयो शहीदका नाममा ?

२०४६ साल पछि एमाले लगायत कम्युनिष्टहरु बारम्बार सरकारमा पुगे। तर, कसैले पनि छिन्ताङ हत्याकाण्ड खोतल्ने प्रयास गरेनन्। खासगरी वामपन्थी विचार मान्नेहरुले छिन्ताङमा बनाइएका सहिदका अर्धकदका शालिकमा हरेक वर्ष माल्यार्पण गरेर नारा घन्काउँदै, ‘छिन्ताङ हत्याकाण्ड मारिएकाहरुलाई शहीद घोषणा गर’ भनेर भन्ने गरेका थिए। तर,शहीद घोषणा गर्न सरकारमा पुगेको बेला कसैको ध्यान गएन।

सरकारले प्रत्येक शहीद परिवारलाई एक लाख रुपैयाँको दरले केही वर्ष पहिले सम्मान गरेको थियो। यसले मात्र उनीहरूको जीवन सहज भएको थिएन। २०६२\६३ को जनआन्दोलपछि सयौंलाई शहीद घोषणा गर्दा पनि छिन्ताङका १६ जना सूचीमा अटाएका थिएनन्।

शहीदको स्मृतिमा छिन्ताङमा शहीदपार्क निर्माण गरिएको छ। यहाँ शहीदका अर्धकदका शलिक राखिएका छन्। यही शलिकमा प्रत्येक वर्ष माल्यार्पण गरिन्छ। प्रत्येक निर्वाचनमा यसलाई राजनीतिक नारा बनाइन्छ। तर उस्तै छ, शहीद परिवारको अवस्था।

उस्तै छ उनीहरुको दैनन्दिन। राजनीतिक व्यवस्था फेरियो। नेतृत्व बदलियो तर शहीद परिवारको आर्थिक अवस्था जस्ताको त्यस्तै। अझै पनि उनीहरु कष्टकर दैनिकी चलाउन बाध्य छन्। छिन्ताङ हत्याकाण्डको नाममा प्रत्येकजसो निर्वाचनमा भोट बैंकको रूपमा राजनीतिक दलहरूले तँछाडमछाड गर्दै नारा घन्काउँदै र शहीद घोषणा गर्ने भन्दै भोट माग्ने थलो बनाएका थिए।

'शहीदस्मृति दिवसमा गरिने औपचारिक कार्यक्रमले केही दिन चहलपहल बढे पनि बाँकी दिन  परिवारले अभावको सामना गरिरहेकै हुन्छन्',  शहीदपुत्र योगेन्द्र राईले  भने, 'तर, शहीद परिवारको आर्थिक अवस्थाबारे कसैले चासो दिँदैन।'

वाचा पूरा गरेँ : मन्त्री थापा
मन्त्री थापा गत २१ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनकुटाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए। उनले छिन्ताङ हत्याकाण्डमा मारिएकालाई आफू मन्त्री भएको बेला शहीदघोषणा गरेरै छाड्ने आश्वासन दिएका थिए।  यसलाई उनले आफूले चुनावी अभियानका क्रममा बोलेका कुरा पूरा गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.