|

काठमाडौं : देब्रे खुट्टामा बग्दै गरेको पीप, शरीरभरी गोलीको छर्रा बोकेर काठमाडौं आएका रुपन्देहीका गोविन्द रायदास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न आइतबार सिंहदरबार पसे। प्रधानमन्त्रीका प्रमुख जनसम्पर्क सल्लाहकार रामदीप आचार्यसँग भेटेर आफ्ना कागजपत्र देखाए।

आचार्यले उनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा जान सल्लाह दिए। आफूसँग गाडी भाडा नभएको सुनाएपछि आचार्यले गोजीबाट झिकेर सय रुपैयाँ दिए। त्यसपछि उनी बाहिरिए।

‘जनयुद्धका घाइते रहेछन्, गाडी भाडा दिएको, उहाँ हाम्रै दाजुभाई भएकाले दिएँ, जनयुद्धका प्रत्येक घाइतेको घाउको पीडाले हामीलाई पनि दुख्छ।’ आचार्यका अनुसार उपचारमा सहयोग मिलाइदिन आग्रह गर्दै धेरै घाइते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आउने गरेका छन्। ‘उपचार खोज्न धेरै आउँछन्, उनीहरुको उपचार गर्नु हाम्रो पहिलो दायित्व हो, मैले त्यही अनुसार काम गरिरहेको छु’ उनले थाहाखबरसँग भने।

रायदास फेरि फर्किए 'अध्यक्ष (प्रधानमन्त्री प्रचण्ड) सँग जसरी पनि भेट्न पाउँ।' आचार्यले उनलाई प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई भेट्न सुझाव दिए। सशस्त्र युद्धमा देब्रे आँखा र देब्रे हात गुमाएका उनको देब्रे खुट्टामा रहेको गम्भीर चोटबाट अहिले पनि पीप बगिरहन्छ।

कसरी बने घाइते ?

२०५७ साल। उनलाई महिना याद छैन। रायदास तत्कालीन नेकपा माओवादीले रुपन्देहीमानै आयोजना गरेको एउटा र्‍यालीमा सहभागी भएका थिए। त्यहीँबाट उनी माओवादीको पूर्णकालीन कार्यकर्ता बने। उनले विगत सम्झिए, ‘महान लक्ष्य लिएर युद्धमा होमिएको मेरो जीवनको उद्देश्य २०६२ साल चैतमा टुंगियो।’

रुपन्देहीमा झण्डै तीन महिना साँस्कृतिक अभियान चलाएपछि उनी सेनाको तालिम लिन पाल्पा पुगे। ०५९ सालमा तालिम लिएपछि उनी युद्धमा होमिए। हतियारसहित ‘स्पेशल कमाण्ड अफ फोर्स’ मा उनी संगठित बने। त्यसको केही समयमा नै ‘स्पेशल कमाण्ड अफ फोर्स’ का सेक्सन कमाण्डर बने। सेक्सन कमाण्डर भएकै बेला पाल्पामा सेनासँगको दोहोरो झडपमा १५ जनाको मृत्यु भयो। उनीसहित तीनजना घाइते भए।  

उनको पाँच दिन रुपन्देहीमा उपचार गरियो। त्यहाँ उपचार सम्भव नभएपछि भारत ‘रिफर’ गरियो। उपचारकै क्रममा देब्रे हात र देब्रे आँखा गुमाउनुपर्‍यो। भारतमा उपचार गरेपछि पनि खुट्टाको समस्या बल्झिएका कारण थप उपचार गरिरहनुपर्‍यो। मुलुकमा शान्ति प्रक्रिया सुरु भइसकेको थियो। सरकारले जनमुक्ति सेनाको प्रमाणिकरण थालेको थियो। उनी उपचारमै भएकाले प्रमाणिकरणमा सहभागी नै हुन सकेनन्।

किन आए सिंहदरबार?

१९ साउनमा प्रचण्ड प्रधानमन्त्री बन्दा रायदास औधी खुशी थिए। आफूले युद्धमा शरीरभित्र बोकेको गोलीका छर्रा र बगाएको रगतले प्रचण्डलाई दोश्रो पटक प्रधानमन्त्री बनाउन सकेको अनुभूति भएको छ। उनले एक पटक प्रधानमन्त्रीलाई भेटेरै बधाई दिने र आफू र आफूजस्तै उपचार नपाएका जनयुद्धका घाइतेहरुको उपचारमा सहयोग माग्ने योजना बनाए।

त्यसै अनुसार भदौको दोश्रो हप्ता रायदास रुपन्देहीबाट काठमाडौं हिँडेका हुन्। १५ सय रुपैयाँ बोकेर काठमाडौं आएका उनको गोजी रित्तिएपनि प्रधानमन्त्री भेट्न समय पाएका छैनन्। तर उनले आश मारेका छैनन्।प्रधानमन्त्री कार्यालय अगाडि रायदास

काठमाडौं आएदेखिको ५ दिन प्रधानमन्त्री प्रचण्डलाई भेट्न सचिवालयसँग समय माग्नमै बितेको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले उनलाई प्रधानमन्त्रीसँग भेटाउने वचन त दिएका छन्, तर कहिले भन्ने मिति र समय तोक्न सकेका छैनन्।

प्रमणिकरणमा छुटेका घाइतेहरुका लागि पुन: प्रमाणिकरणको व्यवस्था मिलाउनुपर्ने र घाइतेहरुको निशुल्क उपचार गर्नुपर्ने माग रायदासको छ। शान्तिप्रक्रियामा आएको एक दशक बितिसक्यो, हाम्रो घाउ दुख्न छाडेको छैन, आँशु बग्न छाडेको छैन, यो पटक हामीलाई उपचार र प्रमाणिकरणका लागि पहल गर्न आग्रह गर्छु’ उनले भने। 

प्रधानमन्त्री भेट्न नपाएर छटपटाएका रायदासले आइतबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवलाई भेटेर प्रधानमन्त्रीको समय माग गरेका छन्। बदलेवले उनलाई सोमबार भेटाउने आश्वासन दिएका छन्। तर प्रधानमन्त्रीसँग भेट हुनेमा रायदास विश्वस्त छैनन्। ‘प्रधानमन्त्रीलाई नभेटेसम्म म घर जान्नँ’ उनले भने, ‘यदि समय दिएनन् भने जहाँ उपयुक्त हुन्छ त्यही ढुकेर भेट्छु।’

डाक्टरले उनको शरीरबाट गोलीको छर्रा निकाल्न नमिल्ने बताइसकेका छन्। ‘गोलीको छर्रा निकाल्न मिल्दैन भनिसकेको छ, पार्टी र सरकारले हामीलाई केही गरिदिनुपर्छ, म प्रधानमन्त्रीलाई विनम्रताका साथ अनुरोध गर्छु’ रायदासले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.