|

काठमाडौं : बालाजुबाट कलंकी आउँदै गर्दा अशोक जोशीको आइफोन एट प्लस हरायो। उनले गत दसैँताका १ लाख ३५ हजार रुपैयाँमा किनेको माेबाइल आफ्नै मोटरसाइल पछाडि बसेकी छोरीको हातबाट खसेर हराएको हाे। माेबाइल हराएपछि उनले महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएका छन्।

राजधानीमा माेबाइल हराउने जाेशी एक प्रतिनिधि पात्र मात्र हुन्। मानिसका हातहातमा हुने फोन गर्ने र उठाउने मात्र नभएर मोबाइल मानिसका अभिन्न अंगझैं भएको छ। तर, सतर्कता नअपनाउँदा मोबाइल हराएर अार्थिक क्षति मात्र हाेइन त्यसमा राखिएका उपयोगी सामग्रीसमेत नष्ट हुने गरेको छ।

तिनै बहुउपयाेगी माेबाइल काठमाडौं उपत्याकामा मात्र दिनमा ५० देखि ८० वटा हराउने गरेकाे प्रहरी तथ्यांक छ। 'दिनमा ५० देखि ८० जना मोबाइल हरायो भनेर निवेदन दिन आउँछन्' महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायव उपरीक्षक शेखर खनालले भने, 'मोबाइल हराएको निवेदन लिन एक प्रहरी अधिकृतकाे नेतृत्वमा छुट्टै टिम नै बनाएका छौं।’ 

प्रहरी परिसर टेकुमा गत आर्थिक वर्षमा नौ हजार थान हाराहारीका मोबाइल हराएको निवेदन परेको थियो। चालु आर्थिक वर्षकाे ६ महिनामै १३ हजार थान मोबाइल हराएको निवेदन दर्ता भएका छन्।

दिनमा कति वटा भेटिन्छन् ?

प्रहरीले निवेदन दिएकाे १५ देखि २० दिनपछि मोबाइलका धनीलाई बोलाउने गरेको डिएसपी खनालको भनाइ छ। 'आफूहरूले अदालतको अनुमतिमा कुन  कम्पनीको सिम प्रयोग भएको छ त्यसको आधारमा लोकेसन हेरेर वा आइएमइआई नम्बर बाट ट्रयाकिङ गरी उक्त सेटको खोजी गर्ने गरेको र दिनमा १० देखि १२ वटा हराएको मोबाइल थान भेटेर सम्बन्धित मान्छेलाइ बुझाउने गरेको बताए। हराएको मोबाइलमा सिम प्रयोग नभए मोबाइल नभेटिने उनको भनाइ छ।

निवेदन दिँदा आइएमई आई नम्बर अनिवार्य

मोबाइल हराएमा खोजी गर्नका लागि आइएमई आई नम्बर अनिवार्य हुनैपर्छ। प्रत्येक मोबाइल सेटको आइएमई आई नम्बर फरक-फरक हुन्छ। आइएमई आई भनेको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो। यो मोबाइलको परिचय दिने १५ वा १७ अंकको हुन्छ। यो विशेष गरी मोबाइलको पछाडिको भागमा अर्थात् ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ। त्यस्तै, मोबाइलमा *#06# डायल गरेर पनि आफ्नो आइएमई आई नम्बर पत्ता लगाउन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.