|

पर्वत : छैटौँ म्याग्दी महोत्सव तथा माघेसंक्रान्ति मेला एवम् ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा बिहीबारदेखि हेलिकोप्टरबाट जिल्लाका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न पाइने भएको छ। 

म्याग्दी लवर्स युवा क्लबले महोत्सव स्थलबाहिर टिकट बिक्री सुरु गरेको छौटौँ दिनसम्मको बुकिङको आधारमा बिहीबारबाट उडान सुरु गरेको हो। 

हेलिकोप्टर सफारीमा छोटो दूरीको प्याकेज सात हजार रुपैयाँमा बेनी नगरपालिका र रघुगंगा गाउँपालिका, मध्यम दूरीको प्याकेज १० हजार रुपैयाँमा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका र लामो दूरी प्रति व्यक्ति १४ हजार रुपैयाँमा जिल्लाको अधिकांश क्षेत्रमा घुम्ने सुविधा रहेको क्लबका सचिव सागर बरुवालले बताए। ‘स्पेसल प्याकेजको सुविधा पनि छ। हेलिकोप्टर सफारी गरी अनुभव लिन अनुरोध गर्दछौँ’, बरुवालले भने।

उनका अनुसार ढोरपाटन र गुर्जासम्म पुग्न प्रति व्यक्ति २९ हजार रुपैयाँ शुल्क लाग्नेछ भने घोरेपानी पुगेर पाँच मिनेट पुनहिलमा फोटो खिच्ने सुविधामा ३५ हजार रुपैयाँ लाग्नेछ। यसका लागि क्लबले प्रभु कम्पनीसँग सम्झौता गरेको छ। 

यसअघिको महोत्सवमा समेत हेलिकोप्टर ल्याइएको थियो। महोत्सवमा जल, हवाई र घोडा सफारी आर्कषक मानिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.