काठमाडौं : भिजिविलिटी कम हुँदा तराईका अधिकांश विमानस्थलमा हवाई उडान हुन सकेका छैनन्। विराटनगर, भद्रपुर, जनकपुर, सीमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल हुँदै यात्रा गर्नेहरु सबैभन्दा समस्यामा परेका छन्।
भारतसँग सीमा जोडिएका क्षेत्रका विमानस्थलबाट यात्रा गर्दा तीन चार दिन कुर्नु परेको हवाई यात्रुको गुनासो छ। बाक्लो हुस्सु र वायुमण्डलमा फैलिएको धुलो तथा धुँवाका कारण भिजिविलिटी कम हुँदा विमानस्थलको सेवा प्रभावित भएको हो। काठमाडौंको आन्तरिक विमानस्थलमा बिहानैदेखि जहाज कुर्नेहरुका कारण बस्ने ठाउँ समेत अभाव हुने गरेको छ। सोमबार पनि त्रिभुवन विमानस्थलमा यो समस्या छ।
तराईका विमानस्थलको प्रतिक्षा कक्ष भरिभराउ हुने गरेको छ। कतिपय अवस्थामा थोरै जहाज मार्फत सेवा दिने विमान कम्पनीहरुले तालिका मिलाउन नसक्दा समेत यात्रुलाई समस्या पर्ने गरेको छ।
पानी नपरेसम्म भिजिविलिटी राम्रो हुने सम्भावना नरहेको मौसमविद् बरुण पौडेलले बताए। दुई दिनपछि हल्का पानी पर्ने सम्भावना रहेको उनको भनाई छ। तर, पानी नपरेको अवस्थामा अबको एकहप्तासम्म भिजिविलिटी नबढ्ने पौडेलको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।