|
फोटोमा नीलो टिसर्ट लगाउने एल्ड्रिन।

बुटवल : चन्द्रमामा पहिलोपटक पाइला टेक्ने मध्येका एक अन्तरिक्ष यात्री बज एल्ड्रिन सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आए। सोमबार बिहान १० बजे भैरहवा विमानस्थल आएका उनी सिधै लुम्बिनी पुगे।

उनलाई पूरातत्वविद् वसन्त विडारीले लुम्बिनीको बारेमा बताएका थिए। पत्तो नदिई लुम्बिनी आएका उनी आउँदा र जाँदा धेरैले थाहै पाएनन्।

उनी आउने जानकारी कुनै पनि सरकारी निकायलाई थिएन। न त उनी लुम्बिनी पुगेको लुम्बिनी विकास कोषलाई नै औपचारिक जानकारी थियो। लुम्बिनी विकास कोषका कोही पनि पदाधिकारीसँग उनको भेट भएन।

‘हामीलाई त्यस्तो जानकारी नै आएन, लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ महर्जनले भने– ‘उहाँ जस्तो व्यक्ति आउँदा हामीलाई जानकारी भएको भए हामीहरुले पनि लुम्बिनीको बारेमा केही कुरा भन्ने थियौं, तर व्यक्तिगत भ्रमण भएकाले होला हामीलाई जानकारी दिइएन।’

बौद्ध दर्शनमा रुचि राख्ने एल्ड्रिनले मायादेवी मन्दिर परिसरमा २ घण्टा बिताएका थिए। उनी लुम्बिनी आउँदा सुरक्षा निकायलाई पनि पत्तो थिएन।

जबकी विराटनगरमा उनको सुरक्षाका लागि २ सय सुरक्षाकर्मी परिचालनको तयारी छ। ‘उहाँ आएकोबारे हामीलाई कतैबाट जानकारी आएन,– जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक बेद पाण्डेले भने।

उनले एल्ड्रिनको भ्रमणबारे औपचारिक जानकारी नआएको बताए। ‘तपाइँले भनेपछि मात्रै थाहा भयो, उनले भने–पूर्वतिर आउने भन्ने त सुनिएको थियो, तर लुम्बिनी आएको भन्ने थाहा थिएन।’ एल्ड्रिनसँगै उनका छोरा डाक्टर एन्डी, बुहारी र वैज्ञानिक जोसेफ लेवलन्स पनि आएका थिए।

वायाँबाट दोस्रो एल्ड्रिन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.