|

बैतडी : पुर्चौंडी नगरपालिका हाटमा गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन्।

इन्टरनेटको असुविधाका कारण बैंकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताए। उनले भने, 'नेपाल टेलिकमको भिसेटमार्फत इन्टरनेट जडान गरेको भए पनि इन्टरनेटले काम नगर्दा समस्या भएको हो।'

गत पुस १८ गते स्थापना भएको शाखाले कारोबार सञ्चालन गरेको भए पनि सेवा ढिलो भएको सेवाग्राहीको गुनासो छ। खाता सञ्चालन गर्न नै एक हप्ताभन्दा बढी लागेको पुर्चाैंडी–४ का सुरेन्द्र धानुकले बताए। उनले भने, 'इन्टरनेटको असुविधाका कारण समयमै सेवा पाउन सकेका छैनौँ।' घर नजिकै बैंक आएकाले खुशी भएका नागरिक बैंकिंङ सेवा प्रभावकारी नहुँदा निराश हुन थालेका छन्। 

नेपाल टेलिकमको दहतालमा रहेको टावरले घाम लागेको बेला मात्रै काम गर्ने गरेको छ। टेलिकम बैतडीका प्रशासन सहायक तीर्थ चौधरीले उक्त समस्या समाधानका लागि पहल गर्ने बताए। पुर्चौंडी क्षेत्रका साबिकका करिब एक दर्जन गाविसका नागरिकले उक्त बैंकबाट सेवा लिँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.