|

उदयपुर : देश शान्ति प्रक्रियामा आएको एक दशकबढी भइसेकेको छ। यस बीचमा भएका विभिन्न निर्वाचनमा उदयपुरबाट चुनाव जित्दा पनि हार्दा पनि माओवादीका नेताहरूले महान् शहीदलाई अवीर माला लगाउन छाडेका छैनन्।

१० वर्ष युद्ध लडेको तत्कालीन नेकपा माओवादी अहिले टुक्रा टुक्रामा विभाजन भएको छ। तर, पनि राज्यको नेतृत्व गरिसकेका माओवादीहरूले जनयुद्धमा मारिएका कार्यकताको सालिक बजार तथा गाउँका चोक चोकमा निर्माण गरेका छन्।

महान् शहीदको सम्मानको लागि भन्दै संसदीय विकास कोष तथा विभिन्न निकायबाट पैसा ल्याएर जनयुद्धका शहीदको सालिक, पार्क बनाएको उदयपुरमा प्रशस्त देख्न पाइन्छ। गाउँघरमा महान् शहीदको सालिक राज्यले द्वन्द्वपीडित परिवारको परिचय दिएको छ।

तर, जनयुद्धमा मारिएका नेता कार्यकर्तालाई  माओवादीले महान् शहीद भन्न भने छाडेको छैन। बर्सेनि माघ १६ गते सरकारले मनाउने शहीद दिवसले तत्कालीन नेकपा माओवादीको जनयुद्धमा ज्यान गुमाएका व्यक्तिलाई पनि राज्यले  शहीदको रुपमा सम्मान नगरेको गुनासो छ।

माओवादीका महान् शहीद तथा राज्यको तर्फबाट द्वन्द्वपीडित परिवार भनिएका व्यक्तिका परिवारले माओवादीले शहीद भने पनि राज्यले उपेक्षा गरेको गुनासो गर्न छाडेका छैनन्। शहीद दिवसमा गणतन्त्रको लागि ज्यानको बलिदान दिएका व्यक्तिहरूलाई पनि शहीदको दर्जामा राख्नुपर्ने माग माओवादी युद्धमा राज्यतर्फबाट मारिएका व्यक्तिका परिवारको छ।

युद्धको पीडा बिर्सनै कठिन

राणा शासनविरुद्ध बलि चढ्नेलाई सरकारले शहीदको रुपमा लिए पनि राजतन्त्रविरुद्धमा मर्नेलाई राज्यले हेला गरेको माओवादी युद्धमा दुईवटी दिदी गुमाएका भाई कटारी नगरपालिका १३ मयाँखु विवेक श्रेष्ठको गुनासो छ। ‘माओवादी जनयुद्धमा मर्नेलाई पनि राज्यले शहीदको रुपमा सम्मान गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘माओवादी युद्धमा मारिएकालाई राज्यले द्वन्द्वपीडित मात्र भनिरहन पाइँदैन, उनीहरूकै रगतले अहिले देशमा यो संघीयता आएको हो।’

राणापछिका तानाशाही राजाविरुद्ध ज्यान गुमाउनेलाई राज्यले द्वन्द्वपीडित भन्न नमिल्ने आक्रोश माओवादीका शहीद परिवारको छ। यसरी उदयपुरमा राज्यले शहीद दर्जा नदिएको गुनासो गर्नेहरू एकथरी छन् भने अर्काथरी जनयुद्धमा मारिएकालाई शहीद भन्दै विभिन्न टुक्रामा विभाजन भएका माओवादी नेतृत्वले नै अवहेलना गरेको आरोप पनि लगाउने छन्।

माओवादीले युद्धमा मारिएकालाई शहीद घोषणा गर्ने पहल गर्नुभन्दा पार्टीको नेतृत्व हत्याउने र नेता बन्ने होडवाजीले जनयुद्धका शहीदका सपना चकनाचुर माओवादीले बनाएको आरोप लगाइन्छ।

जनयुद्धमै राज्यको तर्फबाट जेठा दाई गुमाएका कटारी नगरपालिका ११ का राजन राउतले माओवादीको उच्च नेतृत्वबाटै पीडित भएको दुखेसो पोखेका छन्। ‘शान्ति सम्झौता गर्दा नै युद्धमा मारिएका कार्यकर्तालाई शहीद घोषणा गर्ने सम्झौता भएको थियो,’ राउतले भने, ‘अहिले माओवादी नेताहरूले त्यसतर्फ ध्यान नदिई  माओवादी भन्ने पार्टीको नेता मात्र बने।’

माओवादी फुटेर झन् समस्या

पहिलो संविधानसभाको विघटनपछि टुक्रिँदै जोडिँदै गरेका माओवादीहरू अहिले पनि विभिन्न टुक्रामा विभाजित छन्। माओवादी जनयुद्धले उठाएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन सबैलाई मान्य हुने तर राज्यले शहीद नभनी बस्न नपाइने उनीहरूको माग छ।

माओवादी युद्धमा आमाबुबा गुमाएका नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक तथा माओवादीकै शहीद परिवार समाजका अगुवा विनोद कटुवाल दिवसले माओवादीका शहीदलाई राज्यले हेला गरेको बताए। ‘माओवादी युद्धमा मारिएका व्यक्तिकै रगतले नै अहिले परिवर्तन भएको हो।’ संयोजक कटुवालले भने, ‘त्यो रगतको सम्मान गर्न अहिले पनि राज्य हिचकिचाउनु पर्दैन।’

युद्धमा मारिएकाको रगतको भर्‍याङ बनाएर पटक– पटक सरकारको नेतृत्व गरिरहेको  माओवादी नेताहरूले समेत हेला गरेकोप्रति आक्रोशित छन्। जसको रगतमा टेकेर प्रधामन्त्री, उपराष्ट्रपति, सभामुख, संसद बनेको छन् तीनैले हेला गरेका माओवादी शहीद परिवारको भनाइ छ।

उदयपुरमा राज्यको तर्फबाट मारिएका माओवादी कार्यकर्ताहरूको फोटो आमसभाको बेला गाडीमा झुन्डिएर देखाइन्छ भने, कोही माओवादीले कार्यालयमा सजाएर राख्ने मात्र गरेका छन्। पहिलो संविधानसभातका प्रचण्डको फोटो राखेर उदयपुरबाट शहीद भएको क्यालेन्डरमा रहेको तीन शहीदको फोटो अहिले सबै माओवादी कार्यालयमा छ।

मोहन वैद्य किरणले माओवादीलाई दुई चिरा बनाएपछि प्रचण्डको फोटो च्यातेर जनयुद्धमा मर्नेको फोटो मात्र प्रचारप्रचार गरिरहेका छन्। द्वन्द्वमा मारिएका व्यक्तिको छानबिन आयोगको कुनै अर्थ नरहेको भन्दै माओवादी युद्धमा मर्नेका परिवारलाई सरकारले राहात होइन शहीद घोषणा गर्नुपर्ने युद्धमै तत्कालीन राज्यबाट भाइ मारिएका रिस्कु गाल्टारका पर्शुराम पोखरेलको भनाइ छ। ‘हामीलाई राहत होइन मेरा भाइजस्ता मारिएकालाई शहीद घोषणा गर्नुपर्‍यो।’

थाहा खबरको कुराकानीमा उनले भने, ‘पार्टीले यसमा ध्यान नदिएकाले मन दुखेर आउँछ, परिवर्तनको लागि लड्दा मर्नेको सम्मान राज्यले किन गरेन।’ उदयपुरमा राज्यबाट झन्डै ५० जनभन्दाबढी माओवादी कार्यकर्ता मारिएको माओवादीहरूको दाबी छ।

कति राज्यबाट र कति माओवादीबाट मारिएका छन् भने कुनै यकिन तथ्यांक नभएको जिल्ला प्रशासन कर्यालयको उदयपुरको भनाइ छ। माओवादीका शहीदको लागि माओवादीले फागुन १४ गतेबाट २१ गतेसम्म मनाउँदै आएको नेकपा माओवादी केन्द्र उदयपुरका ईन्चार्ज मोहनबहादुर खत्री दीपकले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.