काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय भोग्नुको समीक्षा गर्नुपर्ने दबाब नेतृत्वमा परिरहेका बेला प्रदेश सांसदहरू भने दलको नेता बन्ने आकांक्षासहित लविङमा लागेका छन्।
प्रदेशसभाको बैठकअघि र पछि पारेर कांग्रेसका प्रदेश सांसदको भेला आयोजनासमेत गरिँदै छ। ‘राष्ट्रियसभा निर्वाचनको सबै मत परिणाम र प्रतिनिधिसभाको समानुपातिकतर्फको सबै मत परिणाम आएपछि मात्र कांग्रेसले संसदीय दलको औपचारिक बैठक बोलाउनेछ’, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले थाहाखबरसँग भने, ‘संसदीय दलको गठन विधि, प्रक्रिया र संरचना कस्तो बनाउने भन्ने निर्णय भइनसकेकाले प्रदेशमा तत्काल संसदीय दल गठन हुँदैन।
कांग्रेसका हरेक प्रदेश सांसदको भेला माघ २२ देखि २४ गतेभित्र सम्बन्धित प्रदेशसभाको राजधानीमा हुँदै छ। प्रवक्ता शर्माका अनुसार ती सबै भेलामा सांसदबीच परिचय र प्रारम्भिक छलफल मात्र हुनेछ। कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउने सम्भावना नभएपछि र चाहना नगरेपछि दलको नेताको चयन भने औपचारिक रूपमा ढिलो हुने देखिन्छ।
प्रदेश- ६ को प्रदेशसभामा कमजोर उपस्थिति भएको कांग्रेसबाट केन्द्रीय सदस्य जीवनबहादुर शाही संसदीय दलको नेता बन्ने पक्का छ। ४० सदस्यीय प्रदेशसभा रहेको प्रदेश- ६ मा कांग्रेसबाट नेता शाहीले हुम्ला ‘ख’बाट प्रत्यक्षतर्फ जीत हासिल गरेका थिए। पाँच जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सांसद भएको प्रदेश- ६ मा पार्टीका पूर्व केन्द्रीय सदस्य दीनबन्धु श्रेष्ठ पनि सांसद छन्।
प्रदेश- १ बाट भने पार्टीका सुनसरी जिल्ला अध्यक्ष राजिव कोइराला संसदीय दलको नेता बन्ने सम्भावना छ। सुनसरी क्षेत्र नम्बर- २ ‘ख’बाट निर्वाचित कोइराला त्यस प्रदेशमा वरिष्ठ मानिन्छन्। सोही प्रदेशमा समानुपातिक प्रणालीबाट भने शान्ता पौडेल पनि सांसद छन्।
प्रदेश- २ मा भने धनुषा जिल्लाको पार्टी पूर्व सभापति रामसरोज यादव दलको नेता बन्ने पक्कापक्की भएको छ। उनलाई व्यवस्थापिका संसद्का पूर्व सांसद ओमप्रकाश शर्मा र शिवचन्द्र चौधरीले दाबी गरेका छन्। तर, वरिष्ठता, सक्रियता र पार्टीभित्रको गुटका कारणले समेत यादवको सम्भावना बढी छ। यादव नेता विमलेन्द्र निधि निकट नेता हुन्। धनुषा कांग्रेसको जिल्ला अधिवेशन भने विवादका कारण अहिलेसम्म हुन सकेको छैन।
प्रदेश- ३ मा भने कांग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बन्ने सम्भावना छ। यस प्रदेशबाट बानियाँलाई पार्टी संस्थापन पक्षकै राधा घलेले टक्कर दिएकी छन्। यो प्रदेशमा सबैभन्दा वरिष्ठ सांसद काठमाडौं- ४ ‘क’बाट निर्वाचित नरोत्तम वैद्यले पनि दाबी गरेका छन्। घले समानुपातिक सांसद भएकाले निर्वाचितलाई प्राथमिकता दिँदा वैद्य र बानियाँबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ।
प्रदेश- ४ मा भने नवलपरासी पूर्व- २ ‘क’बाट निर्वाचित प्रदेश सांसद तथा पार्टीको पूर्व जिल्ला सभापति कृष्णचन्द्र नेपाली दलको नेता हुने सम्भावना छ। यस प्रदेशबाट दलको नेता बन्न आकांक्षा राख्ने कुमार खड्का, मणिभद्र शर्मा र मेखलाल श्रेष्ठ सबै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकाले नेपालीको सम्भावना बढी रहेको एक केन्द्रीय सदस्य बताउँछन्।
प्रदेश-५ बाट पार्टी सभापति शेरबहादुर देउवा निकटका प्रदेश सांसद तथा बहालवाला श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी प्रदेशसभा संसदीय दलको नेता हुने सम्भावना छ। उनीसँग कपिलवस्तुका प्रदेश सांसद वीरेन्द्रकुमार कनौडियाले टक्कर दिइरहेका छन्। कनौडिया २०५६ सालको संसदीय निर्वाचनमा कपिलवस्तुबाटै निर्वाचित भएका थिए। पार्टीको पाल्पा जिल्ला सभापति वीरबहादुर रानाले चाहना राखे पनि सभापति देउवा निकटका चौधरी र कनौडियाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।
प्रदेश- ७ मा भने तीन जना निर्वाचित प्रदेश सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ। यहाँ प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको गृहजिल्ला डडेलधुरा ‘ख’बाट निर्वाचित कर्णबहादुर मल्ल, डोटी ‘क’बाट निर्वाचित निवर्तमान सांसद भरतबहादुर खड्का र कैलाली- १ ‘ख’बाट निर्वाचित सांसद रणबहादुर रावलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। मल्ल र रावल पार्टी सभापति देउवा पक्षधर हुन् भने खड्का उनीहरूभन्दा सिनियर र नेता रामचन्द्र पौडेल पक्षधर हुन्।
सातवटै प्रदेशले संवैधानिक प्रावधानअनुसार माघ २६ भित्रै प्रदेशसभा बैठक आह्वान गरेका छन्। निर्वाचन आयोगले सातवटै प्रदेशबाट निर्वाचित हुने समानुपातिकतर्फका सांसदहरूको नामावली माघ ७ मा सार्वजनिक गरेको थियो।
संसदीय दलको नेता चयन गर्दासमेत गुटगत भागबन्डा गर्दा प्रदेश- १ का कोइराला, प्रदेश- ४ का नेपाली पौडेल पक्षधर भएकाले उनीहरूले पाउने सम्भावना रहेको छ। प्रदेश- ६ बाट शाही, प्रदेश- ५ बाट चौधरी वा कनौडियामध्ये एक, प्रदेश- २ बाट यादव र प्रदेश- ३ बाट बानियाँ देउवा पक्षधर भएकाले उनीहरूले नै पाउने सम्भावना एक केन्द्रीय सदस्यले जानकारी दिए। प्रदेश- ७ को दलको नेता भने कसलाई दिने भनेर शीर्ष नेताबीच छलफल हुन बाँकी नै रहेको स्रोतको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।