दैनिक उपभोग्य वस्तुमा भारतीय बजारको भर

|
पञ्चेश्वर गाउँपालिका–२ मा रहेको ढोयाघाटमा डुंगामा महाकाली नदी तर्दै।

बैतडी : जिल्लाका दश स्थानीय तहमध्ये दुई गाउँपालिकाका नागरिक दैनिक उपभोग्य वस्तु खरिद गर्न महाकाली नदीमा जोखिमपूर्ण यात्रा गरी भारतीय बजार जान बाध्य छन्। उनीहरू महाकाली नदीमा झोलुंगे पुल नहुँदा काठको डुंगाबाट नदी तर्ने गर्दछन्। 

जिल्लाका शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकले दैनिक उपभोग्य वस्तुका साथै उपचारका लागि भारतीय बजारमा आश्रित रहनुपर्ने बाध्यता छ। नेपालतर्फ नजिकमा बजार नभएकाले उपचार र सरसामान किन्न जोखिम मोलेरै भए पनि भारतीय बजार जानुपरेको शिवनाथ गाउँपालिका– २ का मदन साउदले बताए।

महाकाली नदी दुई मुलुकको सिमानामा रहेकाले झोलु‌ंगे पुल निर्माण गर्न दुवै मुलुकबीच सम्झौता आवश्यक पर्ने भएकाले पुल निर्माण गर्न समस्या भएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए। 

महाकाली नदीमा सात ठाउँमा डुंगा चलाउने अनुमति दिइएको छ। तीमध्ये शिवनाथ गाउँपालिकामा दुई र पञ्चेश्वर गाउँपालिकामा पाँच स्थान पर्दछन्। डुंगा सञ्चालनका लागि तत्कालीन जिल्ला विकास समितिले टेण्डर आह्वान गरी सम्झौता गर्थ्यो। सम्झौतामा प्रति व्यक्ति १५ रुपैयाँ र प्रति पोका सामानको १० रुपैयाँ लिन पाउने साथै जोखिमपूर्ण अवस्थामा डुंगा सञ्चालन नगराउनू भन्ने उल्लेख छ। तर, अनुगमन नहँदा व्यवसायीले तोकेको भन्दा चार गुणा बढी भाडा असुल्नुका साथै जोखिमपूर्ण अवस्थामा पनि सञ्चालन गरेको स्थानीय पदमसिंह मंगोलाको आरोप छ। नदी वारपार गर्दा लाइफ ज्याकेट पनि व्यवस्था नभएको उनले बताए। 

नदीमा डुंगा सञ्चालन गर्न दिएवापत नेपाल सरकारलले वर्सेनि लाखौं रुपैयाँ राजश्व संकलन गर्दै आएको छ। सञ्चालनको अनुमति दिएवापत लाखौँ रुपैयाँ राजश्व संकलन गर्न पाउने भएकाले नदीमा झोलुंगे पुल निर्माण नभएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले आरोप लगाइन्। स्थानीय तह गठन हुनुअघि नदीमा डुंगा सञ्चालन गर्ने अनुमति तत्कालीन जिल्ला विकास समितिले दिँदै आए पनि अहिले स्थानीय तहले नै यस विषयमा हेर्दै आएको उपाध्यक्ष भट्टले बताइन्। उनले भनिन्, ‘अब मनपरि भाडा असुल्न र नियमविपरीत चलाउन दिँदैनौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.