|

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाको वर्तमान नेतृत्व पूर्णत: असफल भएको आरोप लगाएका छन्। 

राजधानीको भाटभटेनीस्थित एक होटलमा आफ्नो समूहका नेता/कार्यकर्ताको अनौपचारिक भेलालाई संबोधन गर्दै सिटौलाले देउवा नेतृत्वले आगामी दिनका चुनौतीलाई सामना गरेर पार्टी हाँक्न नसक्ने निष्कर्ष सुनाए। ‘नेतृत्वका कारण आज पार्टी नै सामन्तवादतर्फ उन्मुख भएको छ’, सिटौलाले भने, ‘वर्तमान नेतृत्व विधि र विधान पालना गर्नुभन्दा उल्लंघनमा रमाउने गरेको छ।’

स्थानीय, प्रदेश र संघीय निर्वाचनको चुनावी समीक्षा गर्न भएको भेलामा सिटौलाले कार्यकर्ता तहलाई उत्साहित बनाउन नेतृत्वले कुनै पनि जिम्मेवारी दिन नसक्दा र चुनावी रणनीति बनाउन नेतृत्व असफल हुँदा निर्वाचनमा कांग्रेस पराजित हुनुपरेको बताए। उनले भने, ‘पार्टीको नेतृत्व तहमा देखिएको बेथितिको पराकाष्ठाले सिंगो कांग्रेसलाई नकारात्मक असर गरेको छ।’ उनले कांग्रेस र देशलाई हाँक्न सक्ने बनाउन र गति दिन सक्ने बनाउन पार्टी नेतृत्वमा रूपान्तरण जरुरी भएको बताए।

वर्तमान नेतृत्व नै सुधारिएर अघि बढ्न सक्ने वा विकल्प खोज्ने भन्ने विषयमा देशैभर छलफल चलाउन आफू तयार भए पनि नेतृत्वले पार्टीभित्रै सामन्तवादी व्यवहार लाद्न खोजिरहेको सिटौलाको आरोप थियो। उनले पार्टीका हरके भ्रातृसंस्थालाई चलायमान बनाउन अभियान नै थालनी गर्ने बताए। 

युवा नेता गगन थापाले पार्टी ठूलो परिवर्तनको फड्को मारेर वर्तमान अवस्थासम्म आएकाले अब कांग्रेसकै नेतृत्वमा पनि फड्को मार्ने बेला आएको बताए। ‘संविधानको मालिक कांग्रेस नै हो’, थापाले भने, ‘अबको नेतृत्व वर्तमान पार्टी सभापति र वरिष्ठ नेताबाट सम्भव छैन।’

भेलामा सिटौला समूहका नेता तथा रक्षामन्त्री भीमसेनदास प्रधान, केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी, प्रदीप पौडेल, नेपाल महिला संघकी महामन्त्री धना खतिवडा, नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, महामन्त्री कुन्दन काफ्ले, पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङसहित ४ चार दर्जन नेताको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.