|

भक्तपुर : भक्तपुर नगरपालिकाले छाडा कुकुरहरूको बन्ध्याकरण र रेविजविरुद्धको खोप अभियान थालेको छ। 

नगरमा छाडा कुकुरहरूको संख्या वृद्धिले प्रदूषण बढ्नुका साथै नगर अशान्त हुन थालेपछि त्यसलाई न्यूनीकरण गर्न भक्तपुर नगरपालिकाले छाडा कुकुरहरूको बन्ध्याकरणका साथै रेविजविरुद्धको खोप अभियान थालेको हो।

कुकुरलाई बन्ध्याकरण र रेविजविरुद्ध खोप नदिनाले कुकुरहरूबीच झगडा हुने, ठूलो समूह देखिने, छाउराछाउरीको संख्या बढ्ने मात्रै नभई कुकुरमा ट्युमर देखिने भएकाले बन्ध्याकरण र रेविजविरुद्ध खोप लगाउने अभियान थालिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

उनका अनुसार नपालेका छाडा कुकुरहरूलाई समाएर केहीलाई स्थलगत रूपमा र केहीलाई क्लिनिकमा लगेर बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप लगाइएको हो। ‘सामान्यलाई जहाँ भेटिन्छ त्यहीँ र अलि फूर्तिलालाई पक्रेर क्लिनिकमा लगी खोप लगाउने कार्य भइरहेको छ’, प्रमुख प्रजापतिले भने। बन्ध्याकरण गरेको र खोप लगाएका कुकुरको पहिचानका लागि घाँंटीमा सुन्तला रङको पेटी लगाइदिने र दायाँं कानको टुप्पो काटिदिने गरेको उनले बताए। 

प्रमुख प्रजापतिसहित स्थलगत रूपमा कुकुर खोज्न दरबार स्क्वायरमा वडा अध्यक्षहरू राजकृष्ण गोरा, उकेश कवाँ, हरिराम सुवाल पुगेका थिए। उनले भने, ‘आज यहाँ भएभरका कुकुरहरूलाई पक्रनुपर्छ।’ त्यसका लागि कोही कुकुरलाई बिस्कुट दिएर फकाउँंदै थिए, कोही भने बोराभित्र कुकुरलाई हालेर पक्रने अभियानमा देखिन्थे।

भक्तपुर नगरपालिकाले वडा– ३ का वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम संचालन समिति गठन गरेको थियो।

समितिमा नपाको पशु शाखाका उमेशलाल प्रधान, सुरेश कवाँ, नगरपालिकाका दिलीपकुमार सुवाल सदस्य रहेका छन्। अभियानअन्तर्गत नगरपालिकाका टोलटोलमा पुगेर छाडा कुकुरहरूको बन्ध्याकरण गर्ने र रेविजविरुद्धको खोप दिने कार्यक्रम रहेको समितिका संयोजक गोराले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.