|

सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ। बिहीबारदेखि लागेको डढेलो शुक्रबार साँझ नियन्त्रणमा आएको लुक्ला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक यादव खड्काले जानकारी दिए।

घरमा लागेको आगो जंगलमा फैलिँदा सातहजार वर्गमिटर वन क्षेत्र डढेको प्रहरी नायब निरीक्षक खड्काले जानकारी दिए। आगोका कारण सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने दूधकुण्ड सामुदायिक वन, चौरीखर्क मध्यवर्ती क्षेत्रसहित सात हजार वर्गमिटर वन जलेर नष्ट भएको उनले बताए। स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी तथा पैदल यात्रीको निरन्तरको प्रयासपछि आगो नियन्त्रणमा आएको हो।

 अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आएको बताइएको छ। प्रनानि खड्काले भने, 'डढेलोका कारण के कति वन्यजन्तुको क्षति भयो भन्ने विवरण भने आएको छैन।'

बिहीबार दिउसो सवा एक बजे स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी  हुँदा घर नजिकै रहेको वनमा आगो सल्किएको थियो। आगलागीको समयमा हावा चल्नुका साथै नियन्त्रण गर्ने साधन नहुँदा अन्यत्र फैलिएको प्रहरीको भनाइ छ।

आगलागीका कारण स्थानीय काल्देनवाङ्छु शेर्पाको पुरै घर र घरमा रहेको दश तोला सुन, कासा, तामालगायत सबै सामग्री जलेर नष्ट हुदाँ करिब डेढ करोड बराबरको क्षति भएको प्रहरी नायव निरिक्षक यादव खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.