|

बाजुरा : बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ। 

जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन्। घाइते हुनेमा बुढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही, गौमुल गाउँपालिका–६ का गोरखबहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। 

घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताए। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ।

कोल्टीबाट मार्तडी आउँदै गरेको से१ज ९४० नम्बरको जीप जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट ५० मिटर तल साँफे–मार्तडी राजमार्गमा खसेको प्रहरीको भनाइ छ। गाडी चालक भने फरार रहेको प्रहरीले बताएको छ। चालकको खोजी कार्य भइरहेको वलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.