|

चौतारा : बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काम सुस्त बनेको छ। निर्माण सामग्री अभाव भएको भन्दै ठेकेदार कम्पनीले कुनै दिन कामै नगर्ने, काम भएका दिन पनि एकदेखि आठ मिटरमात्र सुरुङ खन्ने गरेकोमेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए।

आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २२३ मिटर र ग्यालथुम अडिटको जङ्सनमा ५० मिटरसहित २७३ मिटर खन्न बाँकी रहेको सूचना अधिकारी पन्तले जानकारी दिए।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहान रहेको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २७.२२७ किमी सुरुङ सम्पन्न भइसकेको छ। सो खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ गत वर्ष नै सम्पन्न भइसकेको र अम्बाथानदेखि ग्यालथुमखण्डको ७.५ किमी सुरुङ गएको पुस १४ गते मध्यरातमा सम्पन्न भएको थियो।

ठेकेदार कम्पनीले इन्धन, सिमेन्टलगायतका निर्माण सामग्री अभाव तथा रकमको अभाव भएकोजस्ता समस्या देखाएर काममा ढिलाइ गरिरहेको आयोजनाले जनाएको छ। सन् २००९ मा चिनियाँ कम्पनी १५ रेल्वे ब्यूरोसँग भएको सम्झौता अनुसार सन्तोषजनक काम नभएको भन्दै चार वर्षपछि ठेक्का रद्द गरिएको थियो।

त्यसपछि सन् २०१३ जुलाइमा इटलीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डी रेभेना सिएम्सीसँग सात अर्ब ७२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पटक–पटक म्याद थप गरी अायोजनाको अन्तिम अवधि आगामी मार्चसम्म कायम रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.