|

लहान : सिरहाको धनगढीमाई नगरपालिका- २ मा पर्ने धनगढा गाउँको सामो मुस्लिम बस्ती। मुस्लिम बस्तीका मोहम्मद मकवुल राइन (मियाँ)की छोरीको विवाह ३ दिनपछि हुँदै छ। तर उनको घरमा विवाहको तयारी होइन, बरु दिनहुँजसो रुवावासी चलिरहेको छ। 

छैन विवाहको रौनक

परिवारलाई सुखी राख्ने सपना बुन्दै करिब डेढ वर्षअघि पैसा कमाउन खाडी मुलुक कतार गएका थिए उनका बाबु। राइनलाई २ महिनाअघि मस्तिष्कघात भयो। मस्तिष्कघातका कारण राइन कतारस्थित हम्माद अस्पतालमा उपचाररत छन्। यता, फागुन १५ गते राइनकी साहिँली छोरी सहेना खातुनको विवाह हुँदै छ। बाबु कोमामा गएपछि राइनको घरमा रुवाबासी चलिरहेको हो।  

विवाहको तयारी गर्न जुट्नुपर्नेमा घरमा विवाहको रौनक छैन। यसले छिमेकीलाई समेत नराम्रो लागेको स्थानीय रामअाशिष रायले बताए। ‘गाउँघरमा विवाहलगायतका सामाजिक कार्यमा छिमेकीलाई सघाउने नेपाली समाजको परम्परा हो तर दैनिकजसो रुवावासी हुने गरेकाले राइन घरमा पुग्नै गाह्रो हुन्छ’, रायले भने। 

स्थानीय झगडु मियाँका ४ भाइ छोरामध्ये साहिँला भाइ राइन डेढ वर्षअघि दोस्रो पल्ट कतार गएका हुन्। ‘कतारस्थित कुनै निश्चित कम्पनीमा काम गरेको पनि पाइएन’, उनले भने, ‘निश्चित कम्पनी नभएपछि कोमामा रहेका राइनको उपचार गर्न र नेपाल फर्काउन भनसुन गर्न पनि गाह्रो भएको छ।’ 
राइन कतारस्थित हम्माद अस्पतालको कोमामा रहेको रायले जानकारी दिए।

अप्ठ्यारोमा अवैध रूपले विदेशिन्छन् नेपाली 

वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सिरहाका कवीर चौधरीका अनुसार कतार, साउदी अरब, युएई, ओमान, बहराइन, कुबेत र मलेिसया ‘फ्री भिसा फ्री टिकट’ भए पनि दलालहरूले ‘राम्रो काम पाइँदैन’ भन्दै झुक्याएर पर्यटक भिसामा भारत हुँदै खाडीमुलुक पुर्‍याइएकाहरू अप्ठ्यारोमा पर्ने गरेका छन्। ‘पर्यटक भिसामा गएकाहरूको भिसा म्याद सकिएपछि अवैध भएर बस्नुपर्ने बाध्यता हुन्छ’, चौधरीले भने, ‘राइन पनि त्यसरी नै अप्ठ्यारोमा परेका मध्येकै हुन सक्छन्।’

जिल्ला प्रशासन सिरहाको कार्यालय परिसरमा संचालित सामीको सूचना केन्द्रका अनुसार आर्थिक वर्ष २०६७/०६८ देखि २०७३/०७४ को बैशाखसम्म सिरहा जिल्लाका विभिन्न ठाउँका गरी ९५ हजार २७५ जना वैदेशिक रोजगारीमा छन्।

मलेसिया, साउदी अरब, कतार, कुवेत, युएई, ओमान, बहराइन, जोर्डन र अन्य मुलुकमा सिरहाका १३१ महिला तथा ९४ हजार १४४ पुरुष रोजगारीको क्रममा विदेशमा रहेको सामीले जनाएको छ। त्यसमध्ये सबैभन्दा बढी मलेसिया, साउदी अरब र कतारमा नेपाली कामदारहरू काम गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.