|

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओलीको मन्त्रिपरिषद्‌मा सहभागी हुने नेताको नाम टुंगो लागेको छ। शपथ ग्रहणसम्म कुनै फेरबदल नभए एमालेबाट सरकारमा सहभागी हुनेको नाम टुंगो लागेको छ।  

एमाले स्थायी कमिटीबाट मन्त्री छान्ने जिम्मेवारी पाएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुने नेताको नाम टुंगो लगाएका हुन्। उनले अन्य नेताहरूसँगको परामर्शमा यी नामको टुंगो लगाएको प्रधानमन्त्री निकट स्रोतले बतायो। सरकारमा सहभागी हुने केही नेताको जिम्मेवारीसमेत टुंगो लागेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेलले अर्थ मन्त्रालय सम्हाल्नेछन्। सचिव प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइने एमालेका एक नेता बताए। 

सरकारमा संघीय समाजवादी फोरम सहभागी भए परराष्ट्र मन्त्रीमा हेरफेर हुनसक्ने एमाले नेताले संकेत दिए। फोरम अध्यक्ष उपेन्द्र यादवलाई परराष्ट्र मन्त्री बनाएर सरकारमा ल्याउने कसरत भइरहेको छ।

अन्य मन्त्रीका सन्दर्भमा भने मन्त्रालय कुनकुन हुने भन्ने टुंगो नलागेको उनको भनाइ छ।

नेता भानुभक्त ढकाल शिक्षा तथा जनसंख्यामन्त्री बन्ने बताइएको छ। एमाले सचिव योगेश भट्टराईको नाम सरकारमा सहभागी हुनेको सूचीमा रहेको र उनी सूचना तथा सञ्चारमन्त्री हुने सम्भावना रहेको ती नेताले बताए।

यस्तै, नेताहरू नारदमुनि राना, प्रेम आले, पार्वत गुरुङ, रघुवीर महासेठ, पद्‍मा अर्याल मन्त्री बन्ने लगभग टुंगो लागेको छ। प्रधानमन्त्रीसँगै जनसंख्या तथा वातावरणमन्त्री बनेका लालबाबु पण्डितलाई स्थानीय विकास मन्त्रालय दिने गृहकार्य भइरहेको स्रोतको भनाइ छ।

शुक्रबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई मन्त्री छान्ने जिम्मा दिएको थियो।

शपथ ग्रहण सोमबार 

नयाँ संविधानअनुसार भएको संघीय संसदको निर्वाचनबाट मुलुकले प्रधानमन्त्री पाएको २ साता बढी भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। निकट भविष्यमै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमालेले १० र माओवादी केन्द्रले ७ वटा मन्त्रालय लिने भागबण्डा गरेका छन्। तर, यी दुवै पार्टीले मन्त्रीको टुंगो लगाउन नसक्दा हालसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो।

यद्यपि, सरकारले मन्त्रीहरूको शपथ ग्रहणको समय भने सोमबारका लागि तोकेको छ। सोमबार दिउँसो ३ बजे मन्त्रीहरूको शपथ ग्रहणको समय तोकेको प्रधानमन्त्री ओलीका सचिवालयका एक सदस्यले जानकारी दिए।

फागुन ३ गते नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री नियुक्त भएका थिए। सोही दिन प्रधानमन्त्री ओलीले जनसंख्या तथा वातावरणमन्त्रीमा लालबाबु पण्डित र महिला तथा बालबालिका मन्त्रीमा थममाया थापा मगरलाई मन्त्रीको शपथ खुवाएका थिए।

एमाले स्थायी समिति सदस्य सुवास नेम्वाङले सोमबारसम्म मन्त्रीहरूको शपथ ग्रहण गराउनेग री गृहकार्य भइरहेको बताए। सबै मन्त्रीहरूको अन्तिम नामावली सोमबार टुंगिसक्ने नेता नेम्वाङले बताए। 'कसलाई के मन्त्री बनाउने भनेर प्रधानमन्त्रीले गृहकार्य गरिरहनुभएको छ। सोमबारसम्म यसको टुंगो लाग्नेछ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.