|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारमा पहिलो चरणमा माओवादी केन्द्रबाट दुई जना मन्त्री भएका छन्। पार्टीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ र मातृका यादव मन्त्री भएका छन्।

थापाले गृहमन्त्रलायको जिम्मेवारी पाउँदा यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादीबाट पहिलो पटक सरकारमा गएका दुवै जना तत्कालीन एनेकपा माअोवादी पार्टी फुटाएर पछि पार्टीमा फर्किएका नेता हुन्। 

२०७३ बैशाखमा माओवादीमा पुनः फर्किएका यी नेताले मन्त्रीमा बाजी मार्न सफल भए। अन्य मन्त्रालयमा भने आकांक्षी धेरै भएपछि टुंगो लाग्न नसकेको माओवादीले दुई मन्त्रीलाई भने सोमबार मन्त्रिपरिषद् विस्तारमा पठाएको छ। उनीहरूले शपथ ग्रहण गरिसकेका छन्। माओवादीमा फर्किएदेखि नै बलियो देखिएका बादलले अन्य आकांक्षीलाई पछि पार्दै गृहमन्त्रीमा बाजी मार्न सफल भएका हुन्। 

उनी २०६९ असार ५ गते मोहन वैद्य किरणसँगै पार्टी फुटाएर नेकपा–माओवादीमा गएका थिए। त्यसको ४ वर्षपछि २०७३ बैशाखमा उनी पुनः माउ पार्टीमा फर्किए। पछि माओवादीबाट फुटेका अन्य घटकलाई समेत समेटेर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र बन्यो।

त्यस्तै, यादवले पनि २०६५ माघ २९ गते पार्टीबाट असन्तुष्टि जनाउँदै बाहिरिएका थिए। माओवादीलाई पुनर्गठन गर्ने भन्दै उनी नेकपा (माओवादी) को संयोजक भएर पार्टीबाट बाहिरिएका थिए। त्यसबेला उनले सभासद्‍बाट पनि राजीनामा दिएका थिए। उनी पनि ०७३ बैशाखमै माओवादी केन्द्रमा फर्किएका थिए। माओवादीमा फर्किएसँगै यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा १ बाट निर्वाचित भए।

एमालेसँगको सहकार्यमा सात मन्त्रालय पाएको माओवादीले अन्य पाँच मन्त्री भने मंगलबारसम्म टुंगो लगाइसक्ने जनाएको छ। माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले अन्य मन्त्रीहरूको पनि छिट्टै टुंगो लाग्ने थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘सामान्य विवादले आज पठाउन सकेनौँ तर पर्सिसम्म सबै मन्त्रीको टुंगो लाग्छ।’ 

माओवादी नेता बादलले माओवादीबाट नेतृत्व गरेर सरकारमा जाँदा दोस्रो वरियतामा उपप्रधानसहित गृहमन्त्री भएर जाने चर्चा थियो तर उनी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री पनि हुन सकेनन् भने दोस्रो वरियतामा पनि रहेनन्। एमाले नेता ईश्वर पोखरेल दोस्रो वरियतासहित रक्षामन्त्रीको जिम्मेवारीमा सरकारमा सहभागी भए। 

पार्टी एक हुन लागेकाले पनि बादल दोस्रो वरियतामा नरहेको माओवादी नेता पौडेलले बताए। उनले भने, ‘पार्टी एक हुन लागेको छ। त्यसैले दोस्रो वरियता पाउनुभएन होला।’

मन्त्री यादव : जनयुद्धमा प्रशिक्षकदेखि शान्तिप्रक्रियापछि चार पटक मन्त्री

यादव बेलाबेलामा चर्चामा आइरहने नेता हुन्। माओवादी शान्ति प्रक्रियमा आएपछि बनेको मन्त्रिपरिषद् बैठकमा तत्काली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग चर्काचर्की परेर उनी चर्चामा आएका थिए। 

उनी वन तथा भूसंरक्षणमन्त्री हुँदा ललितपुर जिविसका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई अवैध रूपमा ढुंगाखानी स‌ंचालन हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै शौचालयमा थुनेर पनि चर्चामा आएका थिए। 

२०३३ सालअघिसम्म उनले कांग्रेसको राजनीति गरेर राजनीतिमा प्रवेश गरेका थिए। तर, २०३३ सालमा विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएपछि असन्तुष्ट हुँदै कम्युनिस्ट पार्टीको राजनीति गर्ने घोषणा गरेका थिए। उनी २०३४ सालको नेकपाको चौथो महाधिवेशनबाट कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए। 

उनले २०३५/०३६ सालको आन्दोलनमा समेत भाग लिएका थिए। उनी पञ्चायतविरोधी राजनीतिमा सक्रिय रहँदा पटक–पटक जेलसमेत परेका थिए। भूमिगत विद्यार्थी संगठनमा काम गर्ने क्रममा उनी २०३८ चैतमा पक्राउ परे। उनलाई डिल्लीबजार कारगामा राखियो। उनी जेलको नाइके भए। आफूलाई रिहा गर्नुपर्ने माग गर्दा उनी आक्रमणमा परेका थिए।

यादव २०३९ सालमा जेलमुक्त भए। माओवादीले गरेको जनयुद्धमा पनि उनी सक्रिय रूपमा सहभागी भए तर पटक पटक पक्राउ परे। २०६० सालमा भारतबाट पक्राउ परेका उनी २०६३ को बैशाखमा मात्र छुटे। उनले जनयुद्धमा प्रशिक्षकको रूपमा काम गरेका थिए। 

पार्टी शान्ति प्रक्रियामा आएपछि उनी गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा वनमन्त्री भए। उनी अन्तरिम सरकारमा दुई पटक मन्त्री बने। दोस्रो पटक १३ दिन भूमिसुधारमन्त्री पनि भए यादव। यस्तै, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि उनी वनमन्त्री बने। यस पटक उनले चौथो पटक मन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।

यो पनि पढ्नुस् :

बादलको राजनीतिक यात्रा : छापामार कमान्डरदेखि गृहमन्त्रीसम्म

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.