|

लहान : पैतृक सम्पत्तिको बाँडफाँटमा प्रायः मुद्दा मामिला, झैझगडा भइरहने ठाउँ सिरहाका ६१ वर्षका भरत यादवले गाउँमै विद्यालय भवन बनाउन २५ लाख रुपैयाँ मूल्य बराबरको जग्गा दान गरेका छन्।

सिरहाको दक्षिणी क्षेत्रमा पर्ने लक्ष्मीपुर पतारी गाउँपालिका- ५ खरुकियाहीका स्थायी बासिन्दा यादवले एउटै विद्यालयलाई दुई पल्ट जग्गादान गरेर उदाहरणीय बनेका हुन्। यादवले विद्यालय स्थापनाकालमैे एक कठ्ठा जग्गा दान दिएका थिए। विद्यालय भवन अपुग भएपछि पुनः अहिले पनि दुई कठ्ठा जग्गा दिएर आफैँले भवन शिलान्यास गरेका हुन्।

यादवले जिल्ला शिक्षा कार्यालयको ३६ लाख रुपैयाँ अनुदानमा खरुकियाहीमा माध्यमिक विद्यालय निर्माण गर्नका लागि दान दिएको दुई कठ्ठा जग्गामै आइतबार उनले जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो, गाउँपालिका अध्यक्ष रामबल्लभ साह र उपाध्यक्ष आशादेवी यादवसँगै संयुक्त रूपमा भवनको शिलान्यास गर्न पाए।विद्यालय भवन शिलान्यास गर्न पाउँदा आफूलाई जीवनमै सबैभन्दा बढी खुसी लागेको दाता यादवले बताए। उनले भने, ‘मरेर लैजानु केही छैन, गाउँका लागि पैतृक सम्पत्तिको केही अंश दान दिएपछि पुण्य कमाएको महसुस गरेको छु।’ 

अढाई वर्षभित्र भवन बन्ने 

लक्ष्मीपुर पतारी गाउँपालिकामा पर्ने खरुकियाही, सिसवा, पत्थरगाढा, सुरनी लगायतका आधा दर्जन गाउँका एक हजार ३०० विद्यार्थी अध्ययनरत विद्यालयको चारकोठे भवन आगामी २०७६ असार मसान्तसम्म निर्माण सम्पन्न हुनेछ। निर्माणको ठेक्का पाएको एसएचए निर्माण सेवाका प्रोप्राइटर अब्दुर सकुरले भवन शिलान्यास समारोहमा भने, ‘निर्धारित समयमै गुणस्तरीय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्छु।’

विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद साहले यादव परिवारबाट प्राप्त जग्गामा भवन निर्माण गरेपछि दैनिक पठनपाठन र विद्यालय प्रशासन चलाउन सहज हुने बताए। यादव परिवारबाट प्राप्त भएको तीन कठ्ठा जग्गामा बनेका चारवटा ब्लकमा जेनतेन पठनपाठन चलिरहेको उनले उल्लेख गरे। 

विद्यालय प्रांगणको उत्तरपूर्व कुनामा रहेको विद्यालयको एक तल्ले भवन गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले प्रयोग गरिहेको छ। तर आगामी आर्थिक वर्षमा विद्यालयलाई नै जिम्मा दिइने गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.