|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पक्षमा भोट दिन नपाउँदा विपक्षीलाई निद्रा नलाग्ने बताएका छन्। संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिनेलाई पछुतो लाग्ने बताएका हुन्। 

‘मलाई भोट दिन नसक्ने साथीहरू घर फर्कंदा ड्राइभरले सोध्लान्- केपी ओलीलाई भोट दिनुभो? उनले सोधनेन् भने गार्डले पनि सोध्ला’, अोलीले भने, ‘उसले पनि नसोधे खाना बनाउनेले सोध्लान्, उनले पनि नसोधे आफ्नै मनले सोध्नेछ- ओलीलाई किन भोट नदिएको भनेर?  आफ्नै मनलाई त ढाट्न सकिँदैन। मलाई भोट नदिएकै कारण निद्रा नबिथोलियोस्। ढुक्कले सुत्नुस्।’

उनले आफू एमाले र माओवादीको मात्र प्रधानमन्त्री नभई जनताको प्रधानमन्त्री भएको बताए। ‘म एमाले वा माओवादीको प्रधानमन्त्री होइन, म नेपालको प्रधानमन्त्री हुँ। एमाले र माओवादीले तालमेल गरेर मलाई यहाँसम्म पठाएका मात्र हुन्’, उनले भने, ‘म कुनै एक दलको मात्र होइन, म जनताको प्रधानमन्त्री हुँ।’

सुशासनका क्षेत्रमा सरकार उत्तरदायी र इमान्दारीका साथ काम गर्ने उनले बताए। उनले आफूहरूले घोषणापत्रमा गरेको प्रतिवद्धताअनुसारकै काम गर्ने बताए। ‘विपक्षी एक सांसदले हाम्रो घोषणापत्र पढेर कति कार्यान्वयन हुन्छ भनेर हेर्नेछौँ भन्नुभयो’, उनले भने, ‘त्यसका लागि उहाँलाई धन्यवाद तर हामी घोषणापत्र बिहानबिहानै पाठ गरेर मात्र आउने होइन, कार्यान्वयन पनि गर्नेछौँ।’ 

उनले आफूमा रहेको इमान्दारी कहिले मर्न नदिने बताए। उनले भने, ‘आयुको अवधि र सीमा हुन्छ। सामर्थ्य र ज्ञानको पनि सीमा हुन्छ। मसँग असीमित ज्ञान र समर्थ्य छ भन्ने पक्षमा म छैन तर मेरो इमान्दारीमा सीमा छैन। पूर्ण इमान्दारीका साथ काम गर्नेछु।’

विगतमा के भयो भन्ने कुरा खोतल्न जरुरी नरहेको प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘हिजो केही तीतोमीठो भयो होला। विगतमा कहाँकहाँ नराम्रो भयो भनेर खोतल्न जरुरी छैन।’

उनले संविधान असंशोधित दस्तावेज नभएको बताएका छन्। उनले समयअनुसार संविधान संशोधन हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन गरेर बहुमत पुर्‍याउन नखोजेको बताए। उनले भने, ‘हामीसँग भएको आरामदायी बहुमत दम्भका लागि होइन, देश एकजुट छ भन्ने देखाउनका लागि हो।’

संविधानको संशोधन समयअनुसार आवश्यक हुने उनले बताए। उनले भने, ‘समस्या भएरै समाधान गर्न खोजेको हो। मेलम्चीको पानी ल्याउन खोजिएको आवश्यकता परेरै हो। मेरो गन्तव्य लक्ष्य बोकेर योजना, नीति र कार्यक्रम बनाएर हिँड्ने हो।’

उनले आफू एकछिनका निम्ति मीठा कुरा गरेर अलमल्याउने नभएको बताए। उनले भने, ‘म एकछिन मीठो बोलेर अलमल्याउन चाहन्नँ र कसैलाई अलमल्याएर उम्कने प्रधानमन्त्री पनि होइन म। म कुनै 'एक्स्क्युज' (क्षमा) खोज्दिनँ, जवाफदेही र उत्तरदायी हुनेछु।’

यो पनि पढ्नुहोस्

संसदमा ओलीको जवाफ : २५ दिनदेखि विकृति फैलिएको होइन​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.