|

काठमाडौं : पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही कर्णाली प्रदेशका प्रदेश सांसद हुन्। उनी त्यस प्रदेशमा नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक मात्र सदस्य हुन्। केन्द्रमा जस्तै कर्णाली प्रदेशमा पनि नेपाली कांग्रेस प्रतिपक्षी दल हो। 

सम्बन्धित क्षेत्र र जिल्लाको विकासका लागि योजना पस्केर निर्वाचित भएका शाहीलाई प्रतिपक्षमा भएको कारण विकास भएन भन्ने छुट छैन। त्यसैले कर्णाली प्रदेश सांसद शाही सरकारसँग समन्वय गरेरै विकासका लागि अघि बढ्ने बताउँछन्। 

कर्णाली प्रदेशको विकासका लागि शाहीसँग केही सूत्र छन्। मंगलबार नेपाल आर्थिक पत्रकार समाज र विश्‍व बैंकले राजधानीमा आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशको विकासका लागि उनले सूत्र सुनाए। उनको सूत्र छ 'ब'को हो। 

कर्णाली प्रदेशको विकासका लागि बाटो, विद्युत, विचार, वन, बजार र व्यवस्थापन जस्ता छवटा ‘ब’मा ध्यान दिनुपर्ने शाहीले बताए। उनले कर्णालीमा लगानी पुर्‍याउनका लागि सबैभन्दा पहिले बाटो र बत्ती अनिवार्य रहेको भन्दै कर्णाली प्रदेशमा मात्र दुई हजार मेगावाट बढी विद्युत उत्पादन क्षमता रहेको बताए। 'कर्णालीमा लगानीको संभावना भएर पनि त्यहाँ जाँदा बाटोको अवस्था देखेरै लगानीकर्ता तर्सन्छ', शाहीले भने। 

उनले अब सिंगो प्रदेश कर्णालीको बाटो विस्तार र ऊर्जाको विकासमा लाग्ने बताउँदै यसका लागि केन्द्र सरकारले सहयोग गर्नुपर्ने बताए। कर्णालीमा बाटोको विकासका लागि ठूलो रकम लाग्ने शाहीको भनाइ छ। 'तराईमा १० लाख रुपैयाँले केही किलोमिटर सडक बनाउन सकिन्छ तर त्यही रकमले कर्णालीमा केही मिटर बाटो मात्रै बन्छ', शाहीले भने, 'तर सडक नबनेसम्म अरू विकाका काम हुन सक्दैनन्।' 

शाहीले सरकारले जनसंख्यालाई आधार मानेर बजेट वितरण गर्दा कर्णाली प्रदेश अन्यायमा पर्नेसमेत बताए। कर्णाली धेरै भूभाग छ, जनसंख्या न्यून छ, बजेट पाउनका लागि धेरै सन्तान जन्माउनुपर्ने भयो', शाहीले भने, 'यस्तो शैलीबाट बजेट विरतण गर्नुहुँदैन।'

अन्तर्क्रिया कार्यक्रममा सहभागी सरकारी अधिकारी, विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिहरूले हालसम्म नेपालको विकास नहुनुका पछाडि सबै जिम्मेवार रहेको बताउँदै अब सुधारको बाटोमा लाग्नुपर्ने धारणा राखे। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले भने, 'अहिलेको अवस्था आउनुमा सबै क्षेत्रको कमजोरी छ, अब सबैले आफ्नो कमजोरी स्वीकार गरेर जानुपर्छ।'

सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका अध्यक्ष सुरज वैद्यले सरकारले नीतिगत सहजता प्रदान गरेमा अहिले धेरै लगानी गर्न इच्छुक देखिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.