|

काभ्रेपलाञ्चोक : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन ईकाइ (आलु) बनेपाले जिल्लाका किसानहरुलाई भकारो सुधार कार्यक्रम अन्तर्गत अनुदान वितरण गर्ने भएको छ।

कृषकले रासायनिक मल बढी प्रयोग गरी उत्पादनमा ह्रास आएकाले प्राङ्गारिक मल उत्पादन गर्न प्रोत्साह गर्न अनुदान वितरण गर्न लागिएको कार्यालयका प्रमुख किशोर प्रसाद पन्तले बताए। ‘खेर गइरहेका गहुँतलाई संकलन गर्न भकारो सुधार कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘माटोको उर्बर शक्ति बढाउन यो कार्यक्रम महत्वपूर्ण छ।’ अनुदानमा एक जना किसानलाई पाँच हजार रुपैयाँ वितरण गरिने उनले बताए।

अनुदान रकम जिल्लाका ४०० जना किसानलाई वितरण गरिने योजना छ। जसअन्तर्गत पनौती नगरपालिकाको टौखालका ११५, पाँचखाल नगरपालिकाको पाँचखालका १२०, बनेपा नगरपालिकाको नालाका ११५ र बेथानचोक गाउँपालिकाका ५० जना किसानलाई अनुदान वितरण गरिनेछ। कार्यालयका अनुसार अनुदान रकममा किसानले पाँच हजार रुपैयाँ थप गरी दश हजार रुपैयाँमा भकारो सुधारका लागि टहरा निर्माण गर्नु पर्नेछ। 

पनौती नगरपालिका–४, टौखालस्थित टौखाल कृषक समूहका सदस्य गोमा सापकाटोले भकारो सोहोर्ने तालिम पाएपछि गोठ र भकारो सुधार कार्यक्रमले प्राङ्गारिक मल बनाउने काममा धेरै सुधार आउन सक्ने बताइन्।

सुपरजोन कार्यालय बनेपाका सूचना अधिकारी कृष्ण धितालले परम्परागत रुपमा गर्दै आएको भकारोमा गोबर बढी र पिसाब कम हुने भएकाले खेतीमा राम्रो नभएको बताए। त्यसैले ब्यवस्थित रुपले भकारो सुधार गर्न उक्त अभियान सञ्चालन गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.