पुराना र जीर्ण पाइप लाइनका कारण समस्या : धारा निरीक्षक गिरी

|

भक्तपुर : भक्तपुर नगरपालिका-६ का रामकेशरी सुवाल पानी आउने आसमा रित्ता गाग्री लिएर धारा कुरेर बसे। ‘११ दिन भइसक्यो धारामा पानी आएको छैन। इनारमा नै पानी छैन। कति किनेर खानु?’ उनले भने। ‘आज पानी आउँछ रे त्यही भएर धारा कुरेर बसेको।’ चुनावताका भोट माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गर्ने जनप्रतिनिधिहरूले दैनिक अतिआवश्यक खानेपानीको व्यवस्था गर्न चासो नदिएको उनले गुनासो गरे। 

त्यस्तैगरी, भनपा -१० का कृष्णश्वरी अवाल धारामा पानी आउँछ कि भनी कुर्दाकुर्दा दिनै बित्ने दुखेसो पोख्‍छन्। ‘धारामा पानी आउने ठेगान छैन। आज आउँछ भोलि आउँछ भन्दाभन्दै दुई हप्ता नाघिसक्यो खै के गर्नु। पानीको समस्याले अरू काम नै लथालिंग भइसक्यो,’ उनले भने। सुख्खा मौसमका कारण सार्वजनिक इनारमा समेत पानी सुकेर खानेपानीको समस्या बढ्न थालेपछि टोलका दुई तीन घर मिलेर ट्यांकरको पानी किनेर दैनिक गुजारा चलाउनुपरेको उनले बताए। 

बढ्दो सुख्खायामसँगै भक्तपुर नगरका अधिकांश क्षेत्रमा पानीको हाहाकार मच्चिएको छ। भएका मुहानहरू सुक्दै गएकाले ढुंगेधारा, इनार र पोखरीहरूमा समेत पानी सुक्दै गएको छ। हप्ता दिन बिराएर धारामा पानी आए पनि ढल मिसिएर आउने समस्याले भक्तपुर नगरबासी झन् समस्यामा परेका छन्।

केही सातायता नगरका चोर्चा, कमलविनायक, सूर्यविनायक, इताछें, भार्वाचो बंशगोपाल, बाराहीस्थान, व्यासीलगायतका ठाउँमा धारामा ढल मिसिएको पानी आउने गरेको स्थानीयले बताएका छन्। ‘धारामा पानी आउँदा कहिले कालो लेदो त कहिले साबुनको फिँज जस्तो पानी आउँछ।’ भक्तपुर व्यासीका कान्छी कोजुले भनिन्, 'करिब आधा घण्टापछि सफा पानी आउँछ, तर सफा पानी आएको एकछिनपछि धारा सुक्छ।’ 

पुराना र जीर्ण पाइप लाइनका कारण समस्या : धारा निरीक्षक गिरी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखाली)भक्तपुर शाखाका धारा निरीक्षक दामोदर गिरीले सुख्खायामका कारण भक्तपुरका मुख्य क्षेत्रहरूमा पानीमा ढल मिसिएर आउने समस्या देखापर्ने गरेको स्वीकार गरे। नगरका पुराना र जीर्ण पाइप लाइनका कारण ढल मिसिने समस्या देखापरेका हो, उनले भने। निरीक्षक गिरीले भक्तपुर नगरभित्र जर्मन प्रोजेक्टअन्तर्गत ढल विस्‍तार गर्ने क्रममा खानेपानीका पाइपसँगै ढलका पाइप विस्तार गरेकाले अहिले समस्या देखापरेको बताए। उनले भने,' ढलका मंगलमै खानेपानीका पाइप छन् त्यसैले सुख्खा याममा पानीमा ढल मिसिने समस्या देखापरेको छ।'

भक्तपुर नगरलाई दुई भागमा विभाजन गरेर बोडे र मुहान पोखरी स्रोतकेन्द्रको पानी वितरण गर्दै आइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखाली) का प्रमुख सुरेन्द्र हिमालयले जानकारी दिए। ‘नगरको टौमढीदेखि पश्चिम क्षेत्रमा बोडेको पानी पाँच दिन बिराएर र पूर्वी भागमा मुहान पोखरीको तिन दिन बिराएर वितरण गर्दै आइरहेको छौं।’ हाल भक्तपुरमा दैनिक ८० लाख लिटर पानीको माग रहेको  तर, काउखालीले ४०-५० लाख लिटर मात्र पानी वितरण गर्दै आएको उनले बताए।  
बढ्दो पानीको समस्या निराकरणका लागि भक्तपुरमा दुईवटा डिप बोरिङ खने पनि पानीमा माटोको मात्रा बढी भएका कारण वितरण गर्न नसकिएको प्रमुख हिमालयले जानकारी दिए। उनले मेलम्चीको पानीका लागि पहल भइरहेको जानकारी दिँदै त्यसभन्दा अघि ट्युबेलको पानी प्रशोधन गरी वितरण गर्ने योजना रहेको सुनाए।

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले अहिले नगरपालिकाले काउखालीसँग सहकार्य गरेर भक्तपुरका केही क्षेत्रहरूमा मात्र पानी वितरण गरिरहेको जानकारी दिए। उनले १५ चैतबाट नगरपालिकाले छुट्टै ट्यांकरबाट पानी वितरण गर्ने योजना रहेको बताए।

धेरैजसो धारा दर्ता नै नभएका 
भक्तपुर नगर टौमढी माथिल्लो क्षेत्रहरूमा अधिकांस दर्ता नभएका निजी धाराहरू रहेका छन्। स्थानीयका घरघरमा जडान भएका धाराहरु वर्षौं भइसक्दा पनि ती धारा काठमाडौं उपत्यका खानपानी लिमिटेड (काउखाली)मा दर्ता भएका छैनन्।

भक्तपुर नगरलाई सफा बनाउने योजनाअनुरूप जर्मन प्रोजेक्टले ढल विस्तार गर्ने क्रममा सर्वसाधारणले जोडेका धाराहरू अझै दर्ता प्रक्रियामा आउन नसकेको काउखाली स्रोतले जानकारी दिएको छ। ‘ती धाराहरू दर्ता प्रक्रियामा आउन कति अनुरोध गरेँ तर उपभोक्ताहरु मान्दैनन्।’ काउखालीका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए। ‘निरीक्षण गए जथाभावी गाली गर्ने, धमक्याउने, कुटौँलाजस्तो व्यवहार गर्छन्। ज्यानकै जोखिम हुन्छ हामीले के गर्ने ?’ उनले भने।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.