बेवारिसे गाई तथा बाच्छा हटाए दुर्घटनाको जोखिम घट्न सक्छ

|

काठमाडौं : पशुपति मन्दिर परिसरभित्र एक छेउमा चार/पाँचवटा छाप्रा छन्। ती छाप्राभित्र धेरै संख्यामा गाई र साँढे देखिन्छन्। उक्त छाप्रोको परिसरभित्र एकतर्फ दूध दिने गाई राखिएको छ भने अर्कोतर्फ साँढे राखिएका छन्। यो कुनै कृषि फर्म भने होइन। नाफा कमाउने उद्देश्यले उक्त गाई तथा साँढे पालिएको पनि होइन। त्यहाँ त सडकमा बेवारिसे अवस्थामा छाडिएका गाई र ती बाच्छा राखिएका छन्। कतिपय बाच्छाहरू बढेर साँढे भइसकेका छन्।

त्यहाँ राखिएका गाई तथा साँढे अचम्मका छन्। उनीहरूको बेग्लाबेग्लै नाम राखिएको छ। नामबाट बोलाउँदा मान्छेलाई बोलाएजस्तै उनीहरू आउँछन्।

शहरी क्षेत्रमा गाई पाल्ने र दूध दिन छाडेपछि त्यसलाई सडकमा छाड्ने चलन बढ्दो छ। गाईले बच्चा जन्माउनेबित्तिकै बाच्छालाई दूधबाट छुटाएर सडकमा बेवारिसे छाड्ने क्रम बढ्दो छ। पछिल्लो समय उपत्यकामा मात्र करिब १० हजार गाई तथा बाच्छा छाडा छाडिएका छन्। यसरी छाडा छाडिएका गाई तथा बाच्छाका कारण दुर्घटना जोखिम पनि छ।

गाई तथा साँढेको सेवा गर्दै आएका छन् ६८ वर्षीय गौरीशंकर न्यौपााने (गौरी बा)। उनीसँगै सात जनाले निःशुल्क गौ सेवा गरिरहेका छन्। गौरी बाको जीवनको अन्तिम समयसम्म गाईको सेवा गर्ने मन छ। उनको घर काभ्रे हो। श्रीमतीको निधन भएपछि उनले घर छाडे। भन्छन्, ‘घरमा परिवार छन्। मेरो छोरा एउटा हो। छोरीहरूको विवाह भइसकेको छ। छोराको व्यवहार पनि त्यस्तैभयो। घर बस्न मन नै लागेन। काठमाडौं आएँ।’

यस्ता गाई तथा बाच्छा सडकमा भेट्नेवित्तिकै कसैले उद्धार गरेर लान्छ भन्दा विश्वास नलाग्न सक्छ। तर उपत्यकामा बेवारिसे अवस्थामा छाडिएका गाई तथा बाच्छालाई उद्धार गरेर आश्रममा राख्ने एउटा संस्था छ।

यसरी छाडिएका गाई तथा बाच्छाको संरक्षण गर्दै आएको छ, मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानले। पशुपति मन्दिर परिसरभित्र संचालन भइरहेको उक्त अभियानले गाई आश्रममा उपत्यकामा विभिन्न ठाउँमा छाडा छाडिएका १८० भन्दा बढी गाई तथा बाच्छा राखिएको छ। सडकमा छाडा छाडिएका गाई तथा बाच्छालाई उक्त आश्रमले उद्धार गरेर ल्याउन गरेको छ। सडकमा छाडिएका गाईका बाच्छा देख्नेवित्तिकै उक्त संस्थाले मिले सम्म मोटरसाइकलमा हालेर समेत आश्रमसम्म ल्याउने गरेको छ।

यसरी सुरु भयो गौ आश्रम

अभियानका अध्यक्ष हुन्, रामबहादुर न्यौपाने। उनलाई पशु चौपायाको सानैदेखि माया लाग्थ्यो। पशु चौपाया बिरामी भएको देख्नेवित्तिकै उपचार गरिदिने उनको बानी थियो। धेरै वर्षदेखि उनी मर्निङ वाकमा जान्थे। उनले सडकमा सानासाना बाच्छा तथा गाईहरू घाइते भएर बसेको प्रत्येक दिन देख्थे। गाई तथा बाच्छामा चोट लागेको देख्नासाथ औषधि ल्याएर लगाइदिने गरेका थिए।

त्यसबेला सडकमा धेरै यस्ता गाई तथा बाच्छा हुने भएकाले औषधि मात्र लगाउने गर्थे। उनलाई त्यसको स्याहार गर्न खासै करलाग्दो थिएन रे! ‘त्यसबेला सडकमा यसरी गाईवस्तु घाइते अवस्थामा देख्थेँ। कतिपयलाई औषधि दिन्थेँ’, अध्यक्ष न्यौपानेले भने, ‘कति पटक घाँस पनि दिएँ। आखिर पृथ्वी त सबैको साझा हो। पशुलाई किन यस्तो भन्ने लाग्थ्यो मलाई। तर त्यसबेलासम्म लगेर पाल्न करलाग्दो थिएन।’

२०६९ सालताका एक दिन उनी गुह्येश्वरी हुँदै किराँतेश्वरमा मृगलाई केही खुवाएर आर्यघाट आएर कैलाशतर्फ जाँदै थिए। एउटा बाच्छो भीरबाट खसेर अड्किएको रहेछ। अर्को बाच्छो भने आफ्नो साथीलाई पर्खेर बसिरहेको रहेछ। उनी भन्छन्, ‘मान्छे मात्र स्वार्थी हुँदोरहेछ। बिचरा त्यो बाच्छो आफ्नो साथी लडेपछि पर्खेर बसिरहेको थियो। आफ्नो साथीलाई उद्धार गर्न नसक्दा उसले मान्छे देख्यो कि कराउँदोरहेछ तर स्वार्थी मान्छेले के वास्ता गर्थे र ! हातमा अगरबत्ती बोकेका भक्तजनले पनि बाच्छाका लागि के ज्यान फाल्नुसम्म भने।’

उनले त्यस बाच्छोको उद्धार गर्ने योजना बनाएको सुनाए। भावुक हुँदै न्यौपानेले भने, ‘त्यो भीरमा गएर हेरेँ। एउटा रूख जराले अड्काएको रहेछ। मैले त्यो बाच्छाको साथीलाई बाबा तिमी नकराऊ, म तिम्रो साथीलाई उद्धार गर्छु भनेँ। पशु भए पनि कति बुझ्झकी, ऊ नकराई बस्यो। मैले एक्लै सकिनँ। धेरैलाई सहयोग मागेँ तर कसैले वास्ता गरेनन्।’

त्यसपछि उनी महानगरीय प्रहरी वृत्त गौशाला पुगे। त्यहाँ पुगेर एक जना प्रहरीलाई घटनाबारे बताए। न्यौपानेले ती प्रहरीलाई प्रमुखलाई फोन लगाउन भनेर प्रमुखसँग कुरा गरेर सहयोग मागे। उनी नौ जना प्रहरी लिएर त्यही भीरतर्फ लागे रे ! भन्छन्, ‘नौ जना प्रहरी, एक जना मन्दिरमा आएका भक्तजन गरेर ११ जनाले उद्धार गर्‍यौँ। धेरै प्रयासपछि त्यहाँबाट लड्दैन भन्ने ठाउँसम्म ल्याउन सफल भयौँ।’ त्यसपछि उनी त्यहाँबाट अब डाक्टरलाई ल्याएर त्यो बाच्छाको उपचार गर्ने योजनाका साथ मोटरसाइकल लिन घरतर्फ जाँदै थिए, बाटोमा फेरि अर्को बाच्छो पनि उनको पछि लाग्यो।

भन्छन्, ‘बाटोमा यत्रो मान्छे हिँडेका छन्। मेरै पछि लागेपछि केही न केही त छ भन्ने लाग्यो। त्यसपछि त्यहाँ धेरै मान्छे भेला भए। कसैले म लान्थेँ, पाल्ने मान्छे छैनन् भने त कसैले राख्ने ठाउँ छैन भन्दै टारे। अब छाड्नुभएन भन्ने लाग्यो र तत्काल एक जना साथीलाई मोटरसाइकल मगाएँ र मूलपानीमा रहेको मेरो फर्ममा लगेँ।’ त्यसबेला उनलाई यति सानो बाच्छा ल्याएको भन्दै धेरैले पागलसम्म भन्न भ्याए। सानो बाच्छी भएकाले अण्डा र दूध खुवाएर बल्लतल्ल बचाए उनले।

उनी प्रत्येक दिन शारीरिक व्यायामका लागि हिँड्दा यस्तै बच्छा देख्थे। ती बाच्छाले त्यसरी नै उनलाई पछ्याउँथे। त्यसपछि उनलाई यस्तै गाई तथा बाच्छाको उद्धार गरेर संरक्षण गर्ने सोच आयो। ‘एक जना साथीलाई संस्था दर्ता गर्नुपर्‍यो भनेँ। उहाँले ११ जना चाहिन्छ तीन/तीन लाख जम्मा गर्नुहोस् भनेर सल्लाह दिए', भन्छन्, 'पैसा नभएपछि कसरी गर्ने भन्ने भयो। त्यसबेला फेरि चितुवा लागेको थियो। दैनिक पाँचवटासम्म गाई मरेका हुने। साह्रै चिन्ता लाग्यो।’

त्यसपछि २०७१ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर संस्था दर्ता गरे। यसरी जन्मियो मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान। संस्था त दर्ता भयो तर उनलाई जग्गाको चिन्ता सुरु भयो। संस्था दर्ता गरे पनि फेरि उनीहरू सडकमै पुगे। भन्छन्, ‘योजना बनाएपछि सफल होइनरहेछ। दिमागमा एउटा आइडिया आयो। पशुपति क्षेत्र विकास कोषको त्यत्रो जग्गा छ। यस्तो पुण्यको काम गर्न त जग्गा देलान् नि भन्ने भएपछि म २०० रोपनी जग्गा माग्न कोषमा गएँ।’

त्यसबेला कोषका सदस्य सचिव डा. गोविन्द टन्डन थिए। न्यौपानेले आफ्ना सबै योजना सुनाएपछि उनले पशुपति क्षेत्रभित्र सडकमा छाडिएका गाई तथा बाच्छाको संरक्षणका लागि करिब १६ रोपनी जग्गा दिए। त्यहाँ केही टहरा थिए। त्यसमा मन्दिरमा छाडिएका साँढेहरू राखिन्थ्यो।

तत्कालीन मुख्य सचिव लीलामणि पौडेल हुँदा सडक गाई संरक्षणका लागि प्रयास भएको उनी बताउँछन्। भन्छन्, ‘तत्कालीन मुख्य सचिवजीले वामदेव गौतम दुई महिनाका लागि कृषिमन्त्री हुँदा हाम्रो संस्थाका बारेमा जानकारी गराएर १९ करोडको बजेटसहितको फाइल लिएर जानुभएको थियो।' तर वामदेव गौतमले प्रोजेक्ट स्वाहा पारिदिएको उनको आरोप छ। 'उहाँले यो कुरा सुन्नै मान्नुभएन। उहाँले कहाँ गाई बाच्छाको कुरा गर्ने? अर्को फाइल ल्याउनुस् भन्नुभएछ। उहाँको जीवन कहानी बुझ्दा उहाँ किसानको छोरा हो। माथिल्लो तहमा पुगेपछि यसरी बिर्सिदिनुभएन नि!’

अहिले त्यही टहरामा संरक्षण गरेर राखेका गाई तथा साँढे राख्ने गरिन्छ।

संरक्षण गर्न समस्या नै समस्या

सडकमा छाडिएका गाई तथा बाच्छा ल्याएर राख्दा धेरै समस्या छन्। सरकारी निकायले सहयोग नगर्दा अहिले गाई तथा साँढेको पालन पोषणका लागि समस्या भएको उक्त संस्थाका कानुनी सल्लाहकार खगेन्द्र सुवेदी बताउँछन्। उनका अनुसार अहिले सबै दाताहरूको सहयोगमा संस्था चलिरहेको छ। भन्छन्, ‘हामीले आजीवन सदस्य बनाएका छौँ। धेरैलाई सहयोग माग्न आफैँ जाने गरेका छौँ। अहिलेसम्म दुःखले चलेको छ।’

गाई तथा साँढेका लागि अहिले दुई दिनमा ४० हजार रुपैयाँ खर्च लाग्ने गरेको उनी बताउँछन्।

संस्थामा पालेका केही गाईबाट दूध दुहुने गरिन्छ तर संस्थाले दिनमा एक पटक मात्र दूध दुहुने गरेको छ। त्यो दूध पशुतिमा आउने भक्तजनले मागेमा दिइने गरेको छ। त्यसवापत भक्तजनले दानपेटिकामा केही दान दिने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘हामी यति नै भनेर सहयोग माग्दैनौँ। उहाँहरूले इच्छाले दानपेटिकामा हाल्नुहुन्छ।’ धेरै समस्याका बीच संस्था चलेको उनी बताउँछन्। ‘अहिले धेरै दुःखका बीच चलेको छ। यसलाई कसैले सहयोग गरे सडकमा अलपत्र परेका अझै धेरै गाई-बाच्छालाई संरक्षण गर्न सकिने थियो’, उनको अपेक्षा छ।

अनुदान माग्दा घुस मागे कर्मचारीले

गाई तथा साँढेको संरक्षण गर्न धेरै समस्या छ। दाताको सहयोगमा चलेको हुँदा संचालनका निम्ति सरकारी कार्यालयमा अनुदान र सहयोग माग्न यहाँको संचालक समिति धेरै पटक सरकारी कार्यालय धायो। सरकारी कार्यालयका प्रमुखले कसैले पनि हुँदैन भनेनन् नत खासै सहयोग नै गरे ।

यसरी सरकारी कार्यालयले अनुदान नदिँदा उनलाई अचम्म लाग्छ रे ! सुवेदी भन्छन्, ‘सरकारी निकाय पनि अचम्मको छ। मासु व्यवसायीलाई १५ लाख दिने रे ! दूध डेरीलाई पाँच लाख दिने रे  ! अनि गाई संरक्षकलाई चाहिँ एक लाख! राज्य कति विभेदकारी छ ! त्यो एक लाख त हामीलाई दुई दिन पनि पुग्दैन।’

तत्कालीन मुख्य सचिव लीलामणि पौडेल हुँदा सडक गाई संरक्षणका लागि प्रयास भएको उनी बताउँछन्। भन्छन्, ‘तत्कालीन मुख्य सचिवजीले वामदेव गौतम दुई महिनाका लागि कृषिमन्त्री हुँदा हाम्रो संस्थाका बारेमा जानकारी गराएर १९ करोडको बजेटसहितको फाइल लिएर जानुभएको थियो।' तर वामदेव गौतमले प्रोजेक्ट स्वाहा पारिदिएको उनको आरोप छ। 'उहाँले यो कुरा सुन्नै मान्नुभएन। उहाँले कहाँ गाई बाच्छाको कुरा गर्ने ? अर्को फाइल ल्याउनुस् भन्नुभएछ। उहाँको जीवन कहानी बुझ्दा उहाँ किसानको छोरा हो। माथिल्लो तहमा पुगेपछि यसरी बिर्सिदिनु भएन नि !’

त्यसपछि तत्कालीन मुख्य सचिव पौडेलले पशुपन्छी मन्त्रालयका तत्कालीन सचिव डा. कृष्णचन्द्र पौडेललाई बजेट उपलब्ध गराउन निर्देशन दिएको उनी सम्झन्छन्। भन्छन्, ‘मुख्य सचिवले निर्देशन दिएपछि सचिवले मेरै अगाडि महानिर्देशकलाई बोलाएर कम्तीमा २५ लाख उहाँलाई अनुदान दिनू भन्नुभयो। उहाँले एउटा एम्बुलेन्स, सरकारी ड्राइभर र २५ लाख उपलब्ध गराउँछु भन्नुभयो।’

त्यसपछि सचिव डा. पौडेलले अवकास पाएपछि रकम नै नपाएको गुनासो उनले गरे। ‘सचिव रिटायर्ड भएपछि १० लाख त आउने भयो। त्यहाँबाट पनि केके हो काटेर नौ लाख चानचुन आउनेभयो। महानिर्देशकले तोक लगाएर लेखामा जान भने', उनले भने, 'लेखामा जाँदा महासय त्यतिकै पैसा आउँछ? त्यहाँका हाकिमले भन्नुभयो। मैले नआए तपाईं नै राख्नुहोस् भनेर छाडिदिएँ।’ फेरि पाँच लाख अनुदान आएको थाहा पाएपछि उनी अनुदान लिन मन्त्रालय पुगे।

त्यहाँबाट उनी निराश भएर फर्कनुपरेको बताउँछन्। भन्छन्, ‘त्यहाँ गएर मैले प्रमुख डा. गौरीमान श्रेष्ठलाई भेटेँ। उहाँले तपाईं जस्तो काम गर्ने धेरै छन् भन्नुभयो। तैपनि निवेदन दिएँ। पछि साढे दुई लाख परेछ। त्यसपछि मैले पाँच लाखभन्दा बढीको काम गर्नुपर्ने रहेछ।' त्यसको पनि बिल पेस गरे उनले। 'चेक लिन जाने बेलामा मलाई ५० हजार नगद ल्याएर छाडिदिनुस् भनियो। घुस मागियो। त्यसपछि मैले गर्ने भनेर सोचेँ तर सुरु छ, हामीलाई पनि गाह्रै छ भनेर ४० हजार लगेर दिएर साढे दुई लाखको चेक लिएँ’, उनले भने।

'हामीलाई सहयोग गर्नुहोस्, छाडा गाई तथा साँढेको संरक्षण हामी गर्छौं'

अहिले देश संघीय संरचनामा छ। त्यहीअनुसार प्रत्येक प्रदेशमा गौ आरक्षण केन्द्र स्थापना गरिनुपर्ने संस्थाको माग छ। प्रदेश ३ का सबै छाडा चौपायको संरक्षण गर्ने जिम्मा आफूहरू लिन तयार रहेको अध्यक्ष न्यौपाने बताउँछन्। भन्छन्, ‘सरकारले प्रत्येक प्रदेशमा गौ संरक्षण केन्द्र स्थापना गर्नुपर्छ। प्रदेश ३ को जिम्मा हामी लिन्छौँ। सबैभन्दा बढी छाडा चौपाया काठमाडौंमा छन्।’ यसरी संरक्षण केन्द्र स्थापना गरेर सरकारी वनलाई गौ चरणका लागि छुट्याइनुपर्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘वन क्षेत्र छुट्याउनुपर्‍यो। गोठ बनाइदिनुपर्‍यो। औषधि उपचार गर्नुपर्‍यो। छ महिना सरकारले खर्च गरोस्। हामी मागेर भए पनि छ महिनाको खर्च गर्छौं।’ तर अबको सरकार पाँच वर्षका लागि दिगो बनेकाले गौ रक्षाको क्षेत्रमा कही योगदान गर्ने अध्यक्ष न्यौपानेको आशा छ। भन्छन्,  'अहिलेको सरकार दिगो सरकार हो। हामी पनि उहाँहरूको ध्यानाकर्षण गराउनेछौँ। यो सरकारले सहयोग गर्नेमा केही आशा छ।'

परिवार छाडेर गाईको सेवा

संस्था स्थापनादेखि नै गाई तथा साँढेको सेवा गर्दै आएका छन् ६८ वर्षीय गौरीशंकर न्यौपााने (गौरी बा)। उनीसँगै सात जनाले निःशुल्क गौ सेवा गरिरहेका छन्। गौरी बाको जीवनको अन्तिम समयसम्म गाईको सेवा गर्ने मन छ। उनको घर काभ्रे हो। श्रीमतीको निधन भएपछि उनले घर छाडे। भन्छन्, ‘घरमा परिवार छन्। मेरो छोरा एउटा हो। छोरीहरूको विवाह भइसकेको छ। छोराको व्यवहार पनि त्यस्तैभयो। घर बस्न मन नै लागेन। काठमाडौं आएँ।’

अहिले उनको दैनिकी बिहानै उठ्ने र  गोबर सोहोर्ने र यिनीहरूको स्याहार गरेर उनको दैनिकी बित्छ। अहिले यी गाई तथा साँढे छोराछोरी जस्तै लाग्छ भन्छन उनी । भन्छन्, ‘अहिले त यी गाई र बाच्छाको माया छोराछोरी जस्तै लाग्छ। यिनीहरू पनि मेरो पछिपछि लाग्छन्। यसैमा सन्तुष्टि छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.