समाज : सुरक्षा/अपराध

एक डिआईजीको दुखद भोगाई : जसबाट सुरु भयो नक्कली डाक्टरविरुद्ध अपरेसन
SHARES

असोज ७, २०७३

    काठमाडौं : 'किलो सेरा टु', 'रोमियो' जस्ता अपरेसन अब सुरक्षाकर्मीका लागि इतिहास भइसक्यो। जसका विरुद्ध ती अपरेसन हुन्थे अहिले उनै सरकारमा छन्। समय बदलिएको छ। त्यो राजनीतिक विषय थियो। तर उपचार भने सुरक्षा कारबाहीबाटै खोजिएको थियो त्यतिबेला।

    नेपाल प्रहरीले राजनीतिक प्रकृतिका मात्र हाेइन सामाजिक र अन्य अपराधविरुद्ध पनि बेलाबखत कारबाही जारी राखेको छ। ती विशेष कारबाहीलाई छुट्टै नाम दिएर सञ्चालन गरिन्छ। 

    पछिल्लो समयमा प्रहरीको चर्चामा रहेको कारबाही हो 'अपरेसन क्‍वाक'। यो कारबाहीले धेरै 'प्रतिष्ठित'हरुलाई बिल्लीबाठ बनाएको छ। उनीहरुको चरित्र उदांगिएको छ। सन्दर्भ हो: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अर्थात सीआईबीले गरेको नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्धको कारबाही। यो कुनै फौजी कारबाही होइन। गोलाबारुद हानाहान छैन। बाटो चौबाटो कुर्नु पनि परेन। तर पनि चानचुने थिए यो कारबाही। अपरेसन क्‍वाकले खुद्रा मसिना होइन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका दन्त चिकित्सकलाई छोडेन। राजधानीका घराना र मोफसलमा नाम चलेकाहरुलाई पनि चिनेन। 

    सीआईबीले गत असारमा गरेको अपरेशनले ५६ जना डाक्टर नक्कली भेटिए। अहिले पनि प्रहरीले डाक्टरको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरिरहेको छ।

    कसरी सुरु भयो अपरेसन क्‍वाक?

    सीआईबी प्रमुख डीआइजी नवराज सिलवालले दुई वर्षअघि मातृ वियोग सहनुपर्‍यो। आमा बिरामी भएपछि उनी अस्पताल गए। आमाको उपचार हुँदै थियो। एउटा डाक्टरले एकथोक भन्ने र अर्कोले अर्कै। यो देखेर उनी अचम्ममा परे। चिन्ता आमाको स्वास्थ्यको थियो। 

    ‘मेरो मुमालाई थाइराइडको समस्या थियो, डाक्टरलाई देखाउँदा तुरुन्तै अपरेसन गर्नुपर्छ भनेपछि अपरेसन पनि गरियो’, उनले भने ‘तर अपरेसनपछि झन् अवस्था बिग्रियो। अर्को डाक्टरलाई देखाउँदा तपाईँले गलत डाक्टरलाई देखाउनुभयो भनेर भनेपछि म झसङ्ग भए।’

    अन्तत आमाको मृत्यु भयो। डिआईजी सिलवाल डाक्टरको असावधानीका कारण आमाको मृत्यु भएको निश्कर्षमा पुगे। 

    उनलाई शंका लाग्यो डाक्टरहरुमाथि नै। त्यसपछि सुरु भयो उनको योजना। लगत्तै थालियो अनुसन्धान। अामाको उपचार जुन डाक्टरले गरे ती डाक्टर सही हो कि होइन भनेर अनुसन्धान गरे। उनलाई लाग्यो 'नक्कली र क्षमताहीन डाक्टरकै कारण धेरैले आफ्ना आमालाई बचाउन सकेका छैनन्।'

    त्यसपछि उनी निरन्तर नक्कली डाक्टर खोज्ने अभियानमा जुटे। 'गलत चिकित्सकको हातमा परेर मुमा गुमाउनुपर्‍यो' भन्ने आफैंप्रति खेदसहित उनी आम नागरिकले सही चिकित्सक पाउन् भन्ने अभियानमा लागे। 

    सुरुमा दोधारमा थिए उनी डाक्टर पनि नक्कली हाेलान् र? तर शंका बढ्दै गयो। 

    २०७२ मंसिरमा मेडिकल काउन्सिलको परीक्षा चल्दै थियो। दुई जना नक्कली परीक्षार्थी पक्राउ परे।  नवीन यादव र निरज सरोज साहका नाममा दुई नक्कली डाक्टर जन्माउने काम हुँदै थियो। सुनिल मण्डल र निरज शर्मा नामका सक्कली डाक्टर त्यसमा सामेल भए परीक्षार्थी बनेर।

    उनीहरु पक्राउ परे। बयान लिएपछि खुल्न थाल्यो कि मेडिकल शिक्षामा नक्कलीको प्रवेश। त्यसपछि डीआईजी सिलवाललाई बाटो खुल्यो अनुसन्धानको। यस्तो भयो कि गोरेटो हराउन लाग्दा राजमार्ग भेटेजस्तो।

    उनले अनुसन्धानको राजमार्गमा आफ्नो रथ दौडाए। अनि सफल परिणाम निकाल्दै गए 'अपरेसन क्‍वाक'बाट।

    अघि बढ्यो अपरेसन क्‍वाक

    नक्कली डाक्टरका 'जननी' बन्न लागेका सक्कली डाक्टरले बयान दिए। त्यो वयानकै आधारमा अपरेसन क्‍वाक अघि बढ्दै गयो। त्यही आधारमा सीआईबीले एक हजार डाक्टरको सर्टिफिकेट हेर्‍यो। सर्टिफिकेट बिहारका शिक्षा बोर्ड वा विश्वविद्यालया हुनथे। त्यसपछि अनुसन्धानको फाइल बोकेरै प्रहरी टोली बिहार पुग्यो। त्यसपछि बल्ल फेला पर्‍यो सेतो कोटधारीको कालो कर्तुत।

    अनुसन्धानबाट धेरै खालका प्रमाण फेला पारेको डीआइजी सिलवाल बताउँछन्। एक हजार सर्टिफिकेटमध्ये एक सय वटा आइएस्सीको सर्टिफिकेटमा जारी गर्ने निकाय र काउन्सिलमा बुझाएको लब्धाङ्कपत्र फरक भेटियो। कतिपयमा भने नाम नै गलत भेटिएको थियो।

    ‘यो अपरेसनमा मलाई इमोसनल्ली अट्याचमेन्ट थियो’, उनले भने ‘यो सीआईबीको मात्र वा नेपाल प्रहरीको मात्र होइन, पूरै मुलुकको अभियान हो।' डाक्टरको असक्षमताको कारण कुनै नागरिकले ज्यान गुमाउनु नपरोस् भन्ने मूल उद्देश्यका साथ अपरेसन सुरु गरेको डिआईजी सिलवाल बताउँछन्।

    सामान्य नागरिकसँग जोडिएको यो अपरेसन मान्छेको बाँच्‍न पाउने अधिकार र जुन राज्यले दिने स्वास्थ्य उपचारसँग जोडिएको उनी बताउँछन्। उनले भने ‘डाक्टरलाई सामान्य मान्छेहरुले भगवान नै सम्झन्छन, सेतो बर्दीधारीहरुले भगवानको प्रतिनिधित्व गर्छन्। डाक्टरहरु भगवान नै हुन् तर भगवानहरु पनि सही हुनुपर्छ र उनीहरुमाथिको भरोसा भाँचिनु हुँदैन भन्ने यो अपरेसनको मूल कुरा थियो।’

    एसएलसीमा फेल भएकाहरु भारतका स्कुलबाट नक्कली परीक्षा दिएर उच्च श्रेणीमा पास हुने गरेका छन्। त्यसपछि नेपालमा आईएस्सी भर्ना हुने र पास हुन नसके फेरि भारत गएर उच्च अ‌ंक भएको सर्टिफिकेट लिएर सरकारी सुविधामा डाक्टर पढ्न विदेश जाने गरेको उनको अनुसन्धानले देखाएको छ। डीआईजी सिलवाल भन्छन्- यसैकारण नेपाली चिकित्सा क्षेत्र बदनाम बन्न पुगेको हो।

    नक्कली सर्टिफिकेट बोकेर आएकाहरुलाई पनि नेपाल मेडिकल काउन्सिलले कडाईका साथ परीक्षा नलिँदा वा डर र धम्कीका भरमा काउन्सिलले लाइसेन्स दिँदा विरामीको जीवनसँग खेलवाड भएको अनुसन्धानबाट खुलेको उनी बताउँछन्।

    किन नाम राखियो क्‍वाक

    अंग्रेजीमा नक्कली डाक्टरलाई क्‍वाक भनिन्छ। त्यसैले यो अपरेसनको नाम पनि 'अपरेसन क्वाक' राखियो। 

    नेपालमा कति छन् डाक्टर?

    ९० को दशकमा नेपालमा डाक्टरको संख्या अत्यन्तै कम थियो। दक्षिण एसियाली मुलुकहरुको तुलनामा नेपालमा डाक्टरको संख्या कम भएको कारणले पनि त्यत्तिबेला डाक्टरले आकर्षकसँगै सम्मानित पेशा पनि थियो। 

    त्यो दशकमा नेपालमा डाक्टर बन्ने होडबाजी नै चलेको  थियो। त्यसबेला एक डाक्टर बराबर १८ हजार ८ सय ६८ जना मानिस पर्दथे। सन् २००१ मा नेपाल मेडिकल एसोसिएसनमा २ हजार २ सय २५ सदस्य थिए। 

    सन् २००८ अघिसम्म विदेशमा एमबीबीएस अध्ययन गर्नेहरुलाई नियामक निकाय नेपाल मेडिकल काउन्सिलले नियमन गर्ने प्रावधान नै थिएन। विदेशमा अध्ययन पूरा गरेर फर्किए पश्चात उनीहरुले काउन्सिलको परीक्षा उतीर्ण गरे पुग्थ्यो। त्यस्ता विद्यार्थी विदेशमा अध्ययन गरेर फर्किएपश्चात काउन्सिलको परीक्षामा एउटै विद्यार्थी १९ पटकसम्म फेल भएका उदाहरण छन्।

    सन् २००८ पछि भने अध्ययन गर्न जानुअघि अनुमति पत्र लिनुपर्ने प्रावधान बनाइयो। अहिले पक्राउ पर्ने चिकित्सकहरु अधिकांश सन् २००८ भन्दा अघिका रहेको अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक तारिणीप्रसाद लम्सालले जानकारी दिए।

    हालसम्म काउन्सिलको दर्तामा १७ हजार डाक्टर छन्। यसमध्ये काउन्सिलमा १६ हजार डाक्टरको सबै तहको प्रमाणपत्र ‘स्क्यान’ भएर कसले कुन ठाउँमा, कुन विषय अध्ययन गरेको लगायतको वर्गीकरण गरी विवरण राखिएकोे उनले जानकारी दिए।

    पहिलो लटमा ३० नक्कली प्रमाणपत्रको छानबिन भएकोमा १९ जना समातिएका थिए। दोस्रो पटक भने एक सय ९ नक्कली प्रमाणपत्रधारीमध्ये ३६ पक्राउ परेका थिए। त्यसपछि छानविन गर्दै पक्राउ गर्दै आएपछि अहिलेसम्म ५६ जना डाक्टर सिआईबीले नक्कली फेला पारिसकेको छ।

विकास लम्साल

सुरक्षा मामिलामा रिपोटिङ गर्ने पत्रकार लम्सालले २०७३ मा थाहाखबरमा संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]