‘एच ९’ लो प्याथोजेनिक रोगको संक्रमण

|

चितवन : चितवनमा एच९ लो प्याथोजेनिक रोगको संक्रमणले कुखुरा मरेको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ। तर, वर्डफ्लु अर्थात् एच५ एन१ भने अहिलेसम्म नदेखिएको कार्यालयले जनाएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा.दयराम चापागार्इंले हालसम्म नेपालमा गरिएको नमुना परीक्षणमा लो प्याथोजेनिक एचनाइन भेटिएको दाबी गरे।

देशका विभिन्न क्षेत्रबाट लो प्याथोजेनिक शंकास्पद देखिएमा यहाँ नमुना परीक्षण गर्ने गरिन्छ। थप शंका लागेमा यहाँबाट केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ। केही दिनअघि चितवनको रत्ननगरस्थित लामिछाने पोल्ट्री फर्ममा एक हप्ताको अन्तरालमा करिब चार हजार कुखुरा मरेका छन्। त्यसको परीक्षणमा समेत एच९ नै देखिएको छ। अन्य फर्ममा पनि नियमित कुखुरा मरिरहेको जनाइएको छ।

चापागाईंका अनुसार एचनाइनमा संक्रमणपछि खाना घटाउने, अन्डा उत्पादन आधा घट्ने र सात÷आठ प्रतिशत कुखुरा मर्ने गर्दछ। कतिपय खोरहरुमा अहिले त्योभन्दा बढी कुखुरा मरेको कारण एचनाइनको मल्टी इन्फेक्सन भएको आशंका छ।

बर्डफ्लु हुँदा भने तीन चार दिनमै शतप्रतिशत कुखुरा मर्ने गर्छ। गर्मी महिनामा बर्डफ्लु नदेखिने भए पनि एचनाइनको प्रकोप बढ्दै गएका कारण सीमा क्षेत्रमा रोग देखिएकाले जैविक सुरक्षा अपनाउन विशेष निर्देशन दिइएको पनि पसुसेवा विभागका महानिर्देशक विमलकुमार निर्मलले बताए।

केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला टेकुका प्रमुख डा.डिकरदेव भट्टले बढी मात्रामा चितवनबाट नमुनाहरु आइरहेको बताए। पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपालमा एचनाइन भ्याक्सिन ल्याउन नपाएका कारण यसले ठूलो क्षति किसानले व्यहोर्नुपरेको बताए।

नेपालमा पोल्ट्री क्षेत्रमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायीहरु बताउँछन्। चितवन पोल्ट्रीको राजधानीको रुपमा चिनिन्छ। पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलका अनुसार नेपालका कुनै पनि क्षेत्रमा हालसम्म बर्डफ्लु देखापरेको छैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.