फिचर

अाठ वर्ष जिब्रो छेडेका जुजुभाइ भन्छन्, 'पहिलो पटक सुइरो देख्दा अाङ नै सिरिङ्ङ भयो'
SHARES

बैशाख २, २०७५

    बोडे : २०६६ चैतको मध्यतिर बोडेका जुजुभाइ बासँ श्रेष्ठले यस्तो खबर सुने, जसले उनलाई मर्माहत बनायो। बिस्केटअन्तर्गत बोडेको प्रसिद्ध जात्रामा जिब्रो छेडाउने मान्छे अभाव भएको खबर थियो, त्यो। 

    चार वर्ष लगालग जिब्रो छेडाएका बुद्धकृष्ण श्रेष्ठ आमाको शोकका कारण परम्परालाई निरन्तरता दिन नपाउने भएका थिए।

    कहिलेदेखि चल्दै आयो भन्ने यकिन नै नभएको जात्रा एकाएक रोकिने अवस्था आएपछि उनको मनमा लाग्याे, बोडेमा परेको यत्रो समस्या समस्या समाधान गर्न आफैँ किन नलागुँ।’ २८ वर्षीय जुजुभाइले घरमा कुरा राखे। साथीभाइलाई सुनाए।

    विभिन्न विद्यालयमा चित्रकला पढउँथे। प्रिन्सिपल सहकर्मीलाई भने। सबैले हौसला दिए। परिवारको भनाइ थियो, ‘परम्परा जोगाउने काम हो। सक्छौ भने गर न त।’ 

    सबैका कुरा सुनेर जुजुभाइ हौसिए।

    जिब्रो छेड्ने दिन अर्थात् वैशाख २ नजिकिँदै थियो। उनको मनमा एक किसिमको डर पैदा भइरहेको थियो, ‘खुट्टामा सानो काँढा बिझ्दा त कति पीडा हुन्छ, जिब्रोजस्तो संवेदनशील अंग खोप्ने काम!’ 

    जिब्रो छेड्ने व्यक्तिले दुई दिनअघिदेखि नै नियममा बस्नुपर्छ। जीवजन्तु आदिलाई नछुने, वैशाख १ गते निराहार व्रत बसेपछि भोलिपल्ट बिहान जिब्रो छेडिन्छ।   

    आधा दर्जनभन्दा बढी विद्यालयमा चित्रकला पढाउने अनि समाजिक काममा पनि जुटिरहने उनलाई नियम पालना गरेर एकै ठाउँमा कुँजिनुपर्दा निकै सास्ती भयो।

    मनमा डर छँदै थियो, आँट त गरियो सकिएला? एकैछिनमा मनले नै जवाफ दियो, ‘सयौं वर्षदेखि पुर्खाले जोगाएर राखेको परम्परा धान्न म नसकुँला र भन्या!’

    जिब्रो छेड्दा दुख्ला भन्ने कुरामा भन्दा रगत आउला भन्ने चिन्ता थियो। जिब्रो छेड्दा रगत आउनु हुँदैन आयो भने अनिष्ट हुन्छ भन्ने विश्वास छ बोडेवासीमा। उनको पिरलो त्यसैमा थियो। 

    जिब्रो छेड्दा दुख्ला भन्ने कुरामा भन्दा रगत आउला भन्ने चिन्ता थियो। जिब्रो छेड्दा रगत आउनु हुँदैन आयो भने अनिष्ट हुन्छ भन्ने विश्वास छ बोडेवासीमा। उनको पिरलो त्यसैमा थियो। 

    जिब्रो छेड्ने दिन 
    जिब्रो छेडाउनुअघि हातमा पूजा सामग्री बोकेर सहयोगीका साथ बोडेभरका देवालयमा फूलअक्षता चढाउँदै परिक्रमा गर्नुपर्छ। जुजुभाइले पनि परम्परालाई पालना गरे। ठिमीको बालकुमारी मन्दिरमा सिन्दुर जात्रा सम्पन्न भएपछि बोडेका जात्रा सुरु हुन्छ।

    बस्तीका सबै देवीदेवतालाई पुजी उनी जिब्रो छेड्ने ठाउँमा आइपुगे। पहिले नै मञ्च बनाएर राखिएको थियो गणेश मन्दिरलाई दाहिने बनाएर। मञ्चमा चढे। तीनैतिर श्रद्धालुले घेरेका थिए। ‘त्यत्रा मानिस मलाई नै हेरेर बसिरहेका छन्’, नौ वर्षअघिको घटना सम्झिँदै जुजुभाइले भने, ‘एकदमै हतोत्साही भएँ। हातखुट्टा फतक्कै गले।’ 

    जिब्रो छेड्नुअघि महिनादिनदेखि तेलमा डुबाएर राखेको सुइरो कर्मी नाइकेले हेर्न बसेका सबैलाई देखाउँछन्। जुजुभाइले पनि कर्के आँखाले सुइरो प्रदर्शन गरेको हेरे। ‘अाङ नै सिरिङ्ङ भयो’, उनले भने।

    सुइरो पहिलो पटक देखेका पनि होइनन्। बुझ्ने भएपछि प्रत्येक वर्ष जिब्रो छेडेको दृश्य देखेकै थिए। तर आफूलाई परेपछि थाहा हुँदो रहेछ। ‘आँट गरिसकेको छु जे त होला’ मनलाई कमजोर हुन दिएनन्। बलियो बनाए। कर्मी नाइके सुइरो लिएर अगाडि आए। जुजुभाइले बिस्तारै जिब्रो निकालेर ‘आत्मसमर्पण’ गरे। 

    कर्मी नाइकेले कृष्णचन्द्र बाग श्रेष्ठ (जो आफूले पनि १२ पटक जिब्रो छेडाएका छन्)ले जिब्रोमा सुइरोले दबाए। जुजुभाइले आँखा चिम्लिए। बोडेका देवीदेवतालाई सम्झे।

    ‘माथिल्लो भागमा त सहजै गयो’, उनले भने, तल्लो भाग छेड्दा प्राणै जाने हो कि भनेजस्तो भयो।’ जिब्रोको माथिल्लो भागमा कोमल मासु हुन्छ, त्यो छेड्दा तुलनात्मक रूपमा त्यति पीडा हुँदेन जति तत्लो भाग झिल्ली छेड्दा हुन्छ। 

    जिब्रो छेडेर देवालय भ्रमण

    जिब्रो छेडेसँगै बाँस र निकालोले बनेको बडेमानको महादीप (स्थानीय भाषामा भ्यय:) बोकेर यसलाई स्थानीय भाषामा भनिन्छ। मञ्चबाट ओर्लिएर दुई हातले महादीप बोकेर खाली खुट्टा नै पूरै बोडे घुम्नुपर्छ। ज्रिबोमा सुइरो। दुई हातमा महादीप। अघिपछि श्रद्धालुहरू। वैशाखको धुप। मध्याह्न समय। हिँड्दा पाइला कतै ठेस लाग्यो भने आफूलाई त पीडा हुन्छ नै, बत्ती खसेर अरुको शरीरमा पर्ला भन्ने डर।

    ‘देवालय भ्रमण गरिरहँदा पनि पीर एउटै हुनेरहेछ, कतै पाइला अड्किएर सुइरो थप थिचिएर वा निस्किएर रगत पो आउने हो कि! एकदमै सतर्क भएर हिँड्नुपर्छ।’ बोडे नगर परिक्रमापछि जिब्रो छेडेको सुइरो कर्मी नाइकले महालक्ष्मी मन्दिर प्रांगणको नाटेश्वर मन्दिरमा ठोकिदिने रहेछन्। त्यसपछि विभिन्न प्रक्रिया सकेर घर पुगी पानी र हल्का खानेकुरा खाने गर्छन्, जिब्रो छेड्नेहरू। 

    जिब्रो छेड्ने बेला देखिएको विशाल घुइँचो देखेर खुशी पनि मानिसहरू देख्दा एकदमै अानन्द अाउँदो रहेछ जुजुभाइलाई। 'संस्कृति जोगाउने काममा यत्रो मानिसले साथ दिएका छन् भन्ने लाग्छ', उनी भन्छन्, 'पुर्खाले छोडेको नासो जोगाउन पाउँदा को खुशी नहोला।'

    यसरी आठ वर्षसम्म जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिए जुजुभाइले। अघिल्लो वर्ष पारिवारिक समस्यामा परेपछि उनीभन्दा अघि जिब्रो छेडाउने बुद्धकृष्णले ‘यसपालि म छेड्छु भाइ’ भने। यो वर्ष पनि बुद्धकृष्णले नै जिब्रो छेडाउँदैछन्।

    विश्वास

    ‘यी त भए देखिने कुरा। नदेखिने पक्ष अर्को छ’, जुजुभाइ भन्छन्, यसरी विधिपूर्वक जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिँदा बोडेमा अनावृष्टि हुँदैन, अतिवृष्टि हुँदैन, महाभूकम्पजस्ता प्राकृतिक र महारोगजस्ता मानवीय प्रकोप हुँदैन। धर्ममा आस्था बढ्छ भन्ने विश्वास छ।’

    जुजुभाइ पहिले यो कुरामा त्यति विश्वास गर्दैनथे। अरु कुरा त्यस्तै हो बोडेको परम्पराचाहिँ बचाइराख्नुपर्छ भन्थे। २०७२ साल वैशाख १२ गतेपछि उनी यसमा पूर्ण विश्वस्त भए। 

    ‘त्यत्रो भूकम्प गयो, देशभर त्यत्रा घर भत्किए, हजारौँ मानिस मरे तर बोडेमा सामान्य प्रभाव मात्र पर्‍यो',उनी भन्छन्, 'बोडबासी कसैलाई केही भएन।’ 

    घटना यस्ता पनि

    ७३ सालमा जिब्रो छेडाउँदाको प्रसंग। भूकम्पका कारण प्रत्येक घरमा टेका लगाइएको थियो। जिब्रोमा सुइरो घुसारेको छ। दुई हातमा महादीप। टेको छलेर हिँड्नुपर्ने थियो। सहयोगीहरू अन्य श्रद्धालुले जुजुभाइलाई छोलान् भनेर जोगाउनँदै थिए। तर दुर्भाग्य जोगाउने प्रयास गरेका सहयोगीको हात जुजुभाइको जिब्रोमा रहेको सुइरोमा पर्‍यो।

    ‘सुइरो अलि तल सर्‍यो प्राणै जालाजस्तो भयो’ उनले सम्झिए, ‘हातबाट महादीप छुट्ला भनेजस्तै भयो।’ तर पनि सम्हालिएर अघि बढे जोगाउन खोज्दाखोज्दै, सुइरोमा हान्न पुगे महादीप लिएर हिँड्दै थिए। दुखेको भन्दा पनि रगत आउला भन्ने डर त छँदैथियो।

    यसअघि ६८ सालको एउटा प्रसंग सम्झन्छन् उनी। जिब्रो छेडिएसँगै महादीप बोकेर हिँडिरहेका थिए उनी। पछाडिबाट कसैले धकेलियो। झण्डै झण्डै लड्न पुगे। महादीपका दुई तीन खसेर सहयोगीको हात काँध र खुट्टा पोल्यो।

    सामान्य अवस्थामा अाउन एक साता

    जिब्रो छेडेपछि सामान्य अवस्थामा आउन एक साता लाग्ने उनले बताए। जिब्रोबाट सियो निकालेपछि सामान्य खानेकुरा खाँदै विस्तारै पुरानै स्वरूपमा फर्किनुपर्छ। 'आठ वर्षसम्म जिब्रो छेडाउनुभएको। खै देखाउनुस् त, कस्तो देखिँदो रहेछ?' थाहाखबरकर्मीको जिज्ञासामा उनले भने, ‘तपाईँ हेरेर थाहा पाउनुहुन्न। मैलै अनुभव गरेर मात्र थाहा पाउने हो। भित्र सानो गाँठोजस्तो हुन्छ।'

    पैसाले किन्न नपाइने आनन्द

    जिब्रो छेडाउनुअघि जुजुभाइलाई बोडे वरपरका बासिन्दा र पढाउने स्कुलका शिक्षक–विद्यार्थीले चिन्थे तर अहिले उनको परिचय फराकिलो भएको छ। पूर्व जनकपुरदेखि सुदूरपश्चिमका विभिन्न जिल्ला घुमे। आम मानिसले गर्ने व्यवहारले उनलाई उत्साह जाग्दो रहेछ। तपाइँ नै होइन जिब्रो छेड्ने भनेर सम्मान गर्छन् रे उनलाई। ‘पाका मानिसहरूले समेत देवतालाई गरेजस्तो सत्कार गर्ने’, एक किसिमले आत्मसन्तुष्टि हुने। अर्कातिर लाज पनि लाग्ने।’ अाफूभन्दा पाका बूढाबुढीले पनि नमस्कार गरेको, ढोग्न आएको देखेर अलि अप्ठ्यारो लाग्छ, उनलाई।

    किन नभेटिने होलान् जिब्रो छेड्ने मानिस?

    ‘जात्रा पर्वमा सहभागी हुने अन्य काम नहुने मानिसले हो भन्ने मान्यता समाजमा छ’, उनी भन्छन्, ‘फेरि मानिस अर्थमुखी छन्। धर्मकर्म गरेर पैसा त आउँदैन।’ त्यसैले अगाडि सर्न गाह्रो मान्ने गरेको उनी बताउँछन्।

    जिब्रो छेडाउन अघि नसर्नुको अर्को कारण कारण मानिसको व्यस्तता पनि हो। जीविकाका लागि अन्य पेशा गर्नेहरूलाई गाह्रो छ। कम्तीमा पनि १५\२० दिन तयारी गर्नुपर्छ’ उनी भन्छन्, ‘जात्रामा आउने सबैलाई जिब्रो छेडाउनेले नै भोज खुवाउनुपर्छ।’

    ‘ बोडेका बासिन्दाले त सहयोग गर्छन् तर स्थानीय तहले गर्ने व्यवहार मन परेको रहेनछ, जुजुभाइलाई। नगरपालिकाले सहयोग गरेजस्तो मात्रै गर्छ। त्यसपछि वर्षदिन पूरै बेवास्ता। ‘जात्रा जोगाइराख्ने हो भने’, उनी भन्छन्, ‘स्थानीय सरकारले नै सोच्नुपर्छ। जिब्रो छेड्न प्रेरित गर्न र सम्मान गर्न अक्षयकोष स्थापना गर्नुपर्छ।’

    ‘सियोको टुप्पोले अन्य भागमा छुस्स घोच्दा त पीडा हुन्छ’,उनी भन्छन्, ‘जिब्रो छेडाउने काम सामान्य त होइन नि!’ जात्रामा बोडेका बासिन्दा उत्साहित रूपमा सहयोग गर्छन् तर स्थानीय तहले गर्ने व्यवहार मन परेको रहेनछ, जुजुभाइलाई।

    नगरपालिकाले सहयोग गरेजस्तो मात्रै गर्छ। त्यसपछि वर्षदिन पूरै बेवास्ता। ‘जात्रा जोगाइराख्ने हो भने’, उनी भन्छन्, ‘स्थानीय सरकारले नै सोच्नुपर्छ। जिब्रो छेड्न प्रेरित गर्न र सम्मान गर्न अक्षयकोष स्थापना गर्नुपर्छ।’

    जुजुभाइको दिनचर्या

    दुई वर्षअघिसम्म चैत लाग्दा उनलाई चटारो भइसक्थ्यो। जात्रामा सहभागी हुन आउनेका लागि खानेकुराको जोरजाम, जलपान र भोजभतेरको चिन्ता हुन्थ्यो। जात्राको चहलपहल भइरहँदा यसपटक उनलाई त्यति चिन्ता छैन। 

    बोडेमै 'प्री–स्कुल' चलाएका छन्। नौ वटा स्कुलमा कला विषय पढाउँछन्। केही समयअघि साथीहरूसँग मिलेर बोडेमै खोलिएको फुटसलमा व्यस्त देखिन्छन्, अपराह्नतिर।

    यो वर्ष आइतबार दिउँसो हुन लागेको जात्रामा बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउँदैछन्। उनलाई सहयोग गर्दैछन्, जुजुभाइ।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]