|

  •  अनुमानकै भरमा सार्वभाैम राष्ट्रमाथि आक्रमण गर्न मिल्छ ?
    अहिलेको यो युद्धको हतारोले सन् २००३ को इराक हमलालाई स्मरण गराइदिएको छ। संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरु हतियार निरीक्षणका लागि पुगिसकेको र उनीहरुले इराकमा कुनै पनि किसिमको ‘विनाशकारी’ हतियार नरहेको भन्‍ने रिर्पोट दिइसकेको अवस्था अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि इराकमा हमला गरेकाे थियो। युद्धमा लाखौँको मृत्यु भइसक्दा पनि उसले दाबी गरेजस्तो विनाशकारी हतियार भेटिएन।

    फेरि एकपटक, पश्चिमी राष्ट्रहरुले एक सार्वभौमसत्ता सम्पन्‍न देश विरुद्ध गुटबन्दी गरेका छन्। पहिले, उसमाथि बिनाप्रमाण अपराधको आरोप लगाएर अनि भयंकर आक्रमण गरेर। यसो गर्नुको कारण निकै हल्का छ, ‘किनकि उनीहरूले गर्न सक्छन्।’

शनिबार एकाबिहानै अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि गरेको आक्रमणको खबर सुनेर संसार जाग्यो। निर्दोष मानिसहरुमाथि रासायनिक हतियार प्रयोग गरेको आरोपमा सिरियाली राष्ट्रपति बसर असदलाई सजाय दिने चेतावनी यसअघि नै यी देशहरुले दिएका थिए। त्यसपछि यस्तो हमला गरियो।

नाटोमा आबद्ध यी शक्तिशाली राष्ट्रहरुले राजधानी दमास्कस र होम्स प्रान्त नजिकै मिसाईल आक्रमण गरेका हुन्। उनीहरुका अनुसार त्यस्तो स्थानमा मिसाइल खसालिएको छ जुन स्थानको प्रत्यक्ष सम्बन्ध रासायनिक हतियारसँग छ। यदि यो आक्रमण ठूला कुराबाट विश्वको ध्यानलाई स-साना कुरातर्फ डाइभर्ट गर्ने उद्देश्यले गरिएको थियो भने दुग्भार्यका साथ भन्नुपर्छ, ‘योजना पूरा नहुने भयो।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक आक्रामणको विरोध गरेका छन्। रुसले यस विषयमा संयुक्त राष्ट्रसंघको बैठकमा पनि कुरा उठाएको छ। ‘तीनवटा पश्चिमा शक्तिले मिलेर एउटा सार्वभौम देशमाथि आक्रमण गरेका छन्। जुन देश आतंकवादविरुद्धको लडाइँमा अग्रमोर्चामा थियो। त्यसमाथि रासायनिक हतियारको कुनै प्रमाण भेट्नुअगावै आक्रमण भएको छ,’ संयुक्त राष्ट्रसंघमा रुसी दूत भासिली ए नेवेन्जियाले भनेका छन्।

रुसले यस आक्रमणलाई संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानुन र मर्यादाविपरीतको आक्रमण भनेको  छ। सार्वभौम राष्ट्रमाथि ठूला राष्ट्रले बिनाकारण आक्रमण गर्न सक्छन् भन्ने मान्यतालाई यस आक्रमणले फेरि एकपटक पुनर्स्थापित गरिदिएको छ।

अमेरिका, बेलायत र फ्रान्सले त्यसरी नै अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाएका छन्। जसरी ७ वर्षअघि उनीहरूले लिबियामा उडाएका थिए। युद्धको हतारोमा उनीहरूले आफ्नै देशका प्रजातान्त्रिक संस्थाहरूसँग समेत परामर्श लिन चाहेनन्।

आक्रमणअघि अमेरिकाका दुवै सदन (सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ) मा कुनै छलफल भएन। न फ्रान्समा त्यस्तो भयो। न आफूलाई प्रजातन्त्रको जननी भन्न रुचाउने बेलायतमा नै। खासमा शनिबार केही कुरा पारदर्शी थियो भने त्यो आक्रमणको भिडियो नै थियो। विज्ञापन गर्नका लागि यसलाई फिल्मी फाउन्डेसनमै रहेर तयार गरिएको थियो।

रुसमाथि जासुस स्क्रिपलको हत्या आरोप लगाउने बेला बेलायती प्रधानमन्त्री थिरेसा मेइले जेजस्ता प्रश्न तेस्र्याएकी थिइन्। त्यस्तै, बेतुकका प्रश्न र आरोप लगाएर अहिले आक्रमण गरिएको छ।

लाज शरम भुल्दै बिनाप्रमाण बेलायतले ‘स्क्रिपल विष काण्ठमा रुसको संलग्नता रहेको हुनसक्ने धेरै सम्‍भावना’ भनेको थियो। अहिले  उसले भनेको छ , ‘ सिरियामा पछिल्लो भएको भएको रासयनिक हमलामा सिरियाली राष्ट्रपति बसर अल असदकै संलग्नता रहेको सम्‍भावना अधिक देखिएको छ। ’

अमेरिकी राष्ट्रपतिको कार्यालय वासिंगनले विज्ञप्ति निकाल्दै, ‘रासायनिक हतियारको प्रयोगमा असदको सत्ता जिम्मेवार रहेको कुरामा अमेरिकालाई उच्च तहको आत्मविश्वास रहेको’ उल्लेख गरेको छ।

फ्रान्सका राष्ट्रपति इम्यानुयनल माक्रोनले आफूसँग यस हमलाका विषयमा प्रमाण भएको र असद यस घटनामा जिम्मेवार रहेको आरोप लगाएका छन्। तर, यी फ्रेन्च मेकअप आर्टिस्टले आफ्ना आरोपमा बल पुग्नेगरी प्रमाण देखाउन सकेका छैनन्। नेपोलियन शैलीमा बनावटी कुरा मात्रै गरिरहेका छन्।

यसरी शनिबार अनुमान र उच्च आत्मविश्वासकै भरमा पश्चिमाहरूले एक सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि आक्रमण गरेका छन्। यदि ट्रम्पले केही दिन मात्रै कुर्ने धैर्यता गरेको भए एक साताअघि दमास्कसमा के भयो भन्ने विषयमा धेरै कुरा खुल्न सक्ने थियो।

रासायनिक हतियारको प्रयोगमा रोक लगाउने संस्था अर्गनाइजेसन अफर द प्रोहिविशन अफ केमिकल (ओपिसिडब्ल्यु) को टोली अप्रिल १४ मै सिरिया जाने कार्यक्रम थियो। यही दिन टोली आउनुअगावै नाटोले आफैँ आरोप लगाएर आक्रमण गरे। अर्को शब्दमा भन्नुपर्दा ट्रम्प, मे र माक्रोनमाथि अपराधलाई प्रश्रय दिएको र प्रमाण नष्‍ट गर्ने कोसिस गरेको अभियोग लगाउन सकिन्छ।

‘ओपिसिडब्ल्युले भर्खरै सुरु गरेको अनुसन्धानमा समस्या सिर्जना गर्नका लागि यस्तो प्रयास गरिएको हो ,’ रुसको विदेश विभागका अध्यक्ष कोन्सटान्टिन कोसाचेभले भनेका छन्।

अहिलेको यो युद्धको हतारोले सन् २००३ को इराक हमलालाई स्मरण गराइदिएको छ। संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरु हतियार निरीक्षणका लागि पुगिसकेको र उनीहरूले इराकमा कुनै पनि किसिमको ‘विनाशकारी’ हतियार नरहेको भन्‍ने रिर्पोट दिइसकेको अवस्थामा अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि इराकमा हमला गरेकाे थियो।

जुनदिन राष्ट्रस‌ंघका अधिकारीहरुले इराकमा विनाशकारी हतियार नरहेकाे जानकारी दिए त्यसदिन अमेरिकी विदेशमन्त्री कोलिन पोवेलले संयुक्त राष्ट्रसंघको साधारणसभामा ओस्कार अवार्डको जस्तै प्रस्तूति दिए। ‘ सद्दाम हुसैनले आफ्नो जनताविरुद्ध खतरनाक ब्याक्टेरिया (हतियार) प्रयोग गरे भने कस्तो अवस्था आउँछ ?' भावुक नाटक मञ्चन गर्दै उनले प्रश्‍न राखेका थिए । जसकाे कुनै तुक थिएन । 

यसरी विनाशकारी हतियारको झुठो बहाना बनाएर इराक युद्ध सुरु भयो। तर, पश्चिमा मिडियाहरुले खराब जानकारीसहित जनतालाई धोका दिएर अमेरिकाले युद्ध सुरु गरेको विषयमा कहिल्यै किन प्रश्न गरेनन्? हो, उनीहरुले गरे जब ध्वंसात्मक युद्ध सकियो, युद्धको राप र तापमा जलेर लाखौं जनता खरानी भए। अनि त्यसपछि मात्रै। दुईचार जनाको अवसरपूर्तिका लागि लाखौँ निर्दोषको ज्यान लिने बर्बरतापूर्ण यस युद्ध अमेरिका र उसको नाटो गठबन्धनले सुरु गरेको थियो।

नाटोेले सन् २०११ म लिबियामा शासन परिवर्तन गर्ने क्रममा पनि यस्तो गर्‍यो। के भ्रम सिर्जना गरिएको छ भने आतंकवाद, उत्शृंखलता र अपराधको चिन्ता धनी र स्थिर देशहरूलाई मात्रै हुन्छ। तर, साँचो के हो भने पश्चिमा जगतले इराकमा हस्तक्षेप नगरेको भए अहिलेसम्म संसारले ‘इस्लामिक स्टेट’ नामक आतंककारी संगठनको नाम सुन्नुपर्ने नै थिएन। र अहिले पश्चिमा जगतले रोगी मनोविज्ञान पालेर सिरियाली सरकारी सेनामाथि आक्रमण गरिरहदाँ यसले आतंककारीहरूलाई राजधानी दमास्कससम्म जानका लागि ढोका खोलिदिन सक्छ।

अमेरिकाले यो कुरालाई खुलेयाम नै देखाइसकेको छ कि उसको लक्ष्य बसर असदलाई सत्ताबाट हटाउनु हो। जसरी, उसले इराक र लिबियाका प्रमुखहरूलाई हटाएको थियो। उनीहरुले विद्रोहीलाई उचालेर असदको विकल्पका रूपमा सारेको पनि सबैले देखेकै छन्। खाली, के हो भने अमेरिका यस विषयमा संवेदनशील छैन। उसले युद्ध भड्काउन चाहिरहेको छ।

शनिबार आक्रमणपछि राष्ट्रपति ट्रम्पले प्रयोग गरेको ‘मिसन पूरा’ शब्द प्रयोग गरे। मानौँ यो गल्फ कोर्समा उनले बिताएको एक अर्को दिन हो। यसले  उनी कतिसम्म हलुका छन् भन्ने देखाउँछ। यस्तै, गैहजिम्मेवारीपन जर्ज डब्लु बुसले सन् २००३ मा देखाएका थिए। त्यतिबेला ‘युएसएस अब्राहम लिंकन एयरक्राफ्ट क्यारियर’ को सिटमा बसेर उनले इराकमा सैन्य अपरेशन अन्त्य भएको घोषणा गरेका थिए। नजिकै ‘मिसन पूरा’ लेखिएको ब्यानर टाँगिएको थियो। तर, यर्थाथ फरक थियो। इराकमा अन्धकार भर्खरै सुरु हुँदै थियो।

अमेरिकाको कमजोर एक ध्रुवीय नीति?

अब एउटा प्रश्न सोध्नैपर्ने हुन्छ, ‘कुन रोगको संक्रमणले पश्चिमा दिमागलाई असर गर्‍यो। जहाँबाट उसले सोच्यो कि सार्वभौमसत्ता सम्पन्न थुप्रै देशहरूमा आक्रमण गर्ने लाइसेन्स उसँग छ। ’ मेरो व्यक्तिगत बुझाइमा पश्चिमा जगत् र अमेरिकाको एकध्रुवीय नीति कमजोर हुँदै गएकाले उनीहरूले सन्तुलन गुमाएका छन्।

सोभियतसँगको पतन लगत्तै अमेरिकाले आफूलाई विश्वकै दादा सोच्यो। उसले संसारका धेरैभन्दा धेरै देशमा आफ्नो दादागिरी फैलायो। यो थियो, अमेरिकाको एकध्रुवीय नीति। नियो कन्भरभेटिभहरुले यो नीतिको प्रशंसक थिए। चाल्र्स क्राउथाम्मरले सन् १९९० मा विदेश नीतिबारे एक ध्रुवीय नीत शीर्षक लेखेको लेखमा उल्लेख गरेका छन्, ‘ शीतयुद्धको समाप्तिलगत्तै विश्व बहुध्रुवमा रहने छैन। यो एक ध्रुव हुनेछ। विश्व शक्तिको केन्द्रलाई कसैले चुनौति दिनसक्ने छैन। यो महाशक्ति हुनेछ। संयुक्त अमेरिकाले आफ्नो पश्चिमा सहयोगीमार्फत यसको नेतृत्व गर्नेछ। ’

यस्तो शुद्ध अवसरवादी सोचाइले स्वतन्त्रता र समानतालाई वास्तविक कानुनबाहिर राखेको छ। ठूलाले अनुमान गरेको सही हुन्छ भन्ने सिद्धान्त ‘माइट इज राइट’ स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यो सबै कुरालाई समय र इतिहासका घटनाक्रमले पटक-पटक पुष्टि गरिसकेका छन्।

जब कुनै पनि देश आफ्नो शक्तिका उच्चविन्दुमा बस्छ। त्यतिवेला बेलायती राजनीतिज्ञ लर्ड एक्टनको भनाइ,‘ शक्तिले भ्रष्‍टाचार गर्नसक्छ र महाशक्तिले महाभ्रष्‍टाचार गर्नसक्छ,’ लागू  हुनसक्छ। पछिल्लो समय अमेरिकी टेलिभिजन कार्यक्रम डेमोक्रेसी नाउमा सेनाका जनरल वेस्ले क्लार्कले दिएको अन्तरवार्ताबाट पनि अमेरिकी राजनीति कसरी अघि बढेको छ भन्ने प्रस्ट हुन्छ।

उनले भनेका छन्,‘ मभन्दा माथिका एक अधिकारीले पाँच वर्षको अवधिमा हामीले कसरी सात देशलाई नियन्त्रणमा लिनेछौँ भन्ने योजना देखाएका थिए। यस मेमोमा सबै व्यहोरा उल्लेख थियो। इराकबाट सुरु भएर पाँच वर्षभित्र सिरिया, लेबनान, लिबिया, सोमालिया, सुडान र इरानमा गएर अन्त्य गर्ने योजना थियो,’ वेस्लेले भनेका छन्। यसलाई संयोग भनौँ वा तीतो यथार्थ यस लिस्टमा परेका धेरै देशमा अहिले पश्चिमा देशका सेनाहरूले आफ्नो रिस पोखिरहेका छन्। यद्यपि, विश्वमा बहुध्रुवहरूको उदय हुन थालेपछि अमेरिकाको यो सपिङ लिस्ट अहिले होल्डमा राखिएको छ, सधैँ होल्डैमै रहने आशा छ।

अब जे-जस्तै घटना भए पनि यो सधैँ स्पष्ट छ कि पश्चिमा जगतले ‘प्रजातान्त्रिक मुल्यमान्यताको संरक्षक’ को ताज आफू र आफ्नो गठबन्धन शक्तिसँग रहेको दाबी गर्छ। यो पूर्णता भ्रामक र खराब तर्क हो। भ्रमहरू अन्त्य हुँदै जाँदा यो कति लामो समयसम्म रहन्छ। जब जनताले नै खुलेयाम भन्न थालिसके कि शासकहरूको कपडा हुन्न।

(ब्रिज अमेरिकी लेखक तथा पत्रकार हुन्। सन् २०१३ मा प्रकाशित ‘मिडलाइट इन द अमेरिकन इम्पायर’ नामक उनको पुस्तक निकै चर्चित छ। )

(रुसी सञ्चारमाध्यम आरटीबाट)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.