विनाशर्त कार्यकर्ता रिहाइ नगरे नेपाल बन्द गर्ने चेतावनी

|

धनकुटा : गत चैत ५ गते धनकुटाको हिलेबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता अदालतको आदेशबाट सामान्य धरौटीमा छुटेको केही बेरमा प्रहरीले पुनः पक्राउ गरेको छ। 

गएको चैत ५ गते राति हिलेको होटल हिले भ्युमा कोशी ब्युरोको बैठक बसिरहेका बेला नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राई र कोशी ब्यूरो सदस्य सागर लिम्बूसहित संखुवासभा इन्चार्ज समुल, सचिव दिव्य बराल, धनकुटा इन्चार्ज आकाश शर्मा, सचिव नवराज भट्टराई, तेह्रथुम सचिव कमला लिम्बू पनि पक्राउ परेका थिए। 

प्रहरीले यसरी नियन्त्रणमा लिएकालाई धनकुटाको जिल्ला अदालतले सामान्य धरौटीमा छोड्न आदेश दिएपछि जिल्ला प्रशासनले रिहा गरेको थियो। तर, प्रशासनले रिहा गरेलगत्तै उनीहरुलाई पुनः उदयपुर प्रहरीले धनकुटाबाट पक्राउ गरेका हो।

चन्दा माग गर्दै र गाउँपलिकामा जनप्रतिनिधिलाई राजीनामा दिन भन्दै चिठी आतंक मच्चाएको गुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले जानकारी दिए। उनका अुनसार धनकुटाको मुद्दा सकिए पनि अहिले भने उदयपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यसैगरी, उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले प्रदेश र संघीय चुनावको विरोधमा बम विस्फोटको मुद्दा रहेकाले उनीहरुलाई पक्राउ गरिएको बताए। पुनः पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जनाएको छ।

विनाशर्त कार्यकर्ता रिहाइ नगरे नेपाल बन्द

यता, नेकपाले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न सो पार्टीले माग गरेको छ। विनाकारण आफ्ना नेता–कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीले विनाशर्त रिहाइको माग गरेका छन्। 

‘एमाले र माओवादी केन्द्रको सामाजिक दलाल पुँजीवादी गठबन्धन सरकारले आफ्नै संविधान र प्रचलित कानुनसमेत उल्लंघन गर्दै नागरिक अधिकार खोस्दै, दमन, गिरफ्तारी र झुटा मुद्दा लगाउने कार्य तीव्र पारेको छ’, विरहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी त्यसप्रकारको सरकारी स्वेत आतंकको निन्दा, भर्त्सना गर्दछ र त्यसविरुद्ध २०७५ वैशाख ४ गते नेपाल बन्द तथा संघर्षको कार्यक्रम घोषणा गर्दछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.