|

झापा : झापाको कमल गाउँपालिकाका-२ नयाँ बस्तीका १२ परिवार विगत ९ महिनादेखि चिसो भुइँमा रात काट्न बाध्य भएका छन्। नौ महिनाअघि बाढीले घर बगाएर विस्थापित भएका बाढी पीडितहरू अस्थायी टहरोमा कष्टकर जीवन बिताउन बाध्य भएका हुन्। 

आफ्नो घर बनाउन नसक्दा यहाँका बाढीपीडित टिनको अस्थायी टहरो र चिसो भुइँमा गुजारा चलाइरहेका छन्। आर्थिक अवस्था कमजोर भएकाले घर निर्माण गर्न नसकेको स्थानीय रत्नमाया सुब्बाले बताइन्। ‘सुरुका केही समय त धेरैले सहयोग गरे’ सुब्बाले भनिन्, ‘हामीलाई खान लाउन मात्र दिएर भएन, घर बनाउन पनि सहयोग गर्नुपर्‍यो, हामी केही नहुनेले त कसरी घर बनाउनु?’

आर्थिक अभावका कारण घर निर्माण हुन नसकेको स्थानीय बासिन्दा यज्ञ भुजेल बताउँछन्। भुजेलका अनुसार कतिपय परिवारका सदस्यहरू भुइँको चिसोका कारण बिरामीसमेत हुने गरेका छन्। सहयोग अभावका कारण अर्को वर्षायाम सुरु हुने बेलासम्म घर निर्माण सम्‍पन्न हुन सकेको छैन। 

यता, खोलाले बगाएको क्षेत्रमा माटोले पुरेर बस्ती बस्नयोग्य बनाउन गाउँपालिकाले आठ लाख सहयोग गरेका वडा अध्यक्ष तारा न्यौपानेले जानकारी दिइन्।

त्यस्तै, बाढीपीडितलाई घर तथा चर्पी निर्माणका लागि विश्व लुथरन फेडरेसनमार्फत लुथरन सामुदायिक कल्याण समाजले समेत सहयोग गर्दै आएको छ। 

समाजले प्रतिपरिवार २३ हजार नगद दिनुका साथै ७५ हजार खर्चिएर उच्च धारा निर्माण गरिदिएको लुथरन सामुदायीक कल्याण समाजका कार्यक्रम अधिकृत गणेश मुर्मुले जानकारी दिएका छन् । उनका अुनसार खोला कटान रोक्न समाजले एक लाख रुपैयाँ खर्चिएर बोराको बाँध निर्माण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.