|

कावासोती : नवलपरासीपूर्वको जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी साधन दुर्घटना न्यूनीकरण गर्न जिल्लाको ग्रामीण क्षेत्रमा चेकजाँचमा कडाइ गरेको छ। ग्रामीण क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिकले सवारी चालकको लापरवाही, मादक पदार्थ सेवान गरी साधन चलाउने, अत्यधिक यात्रु बोक्नेजस्ता कार्य घटाउन सक्रियता बढाएको हो। 

ट्राफिक प्रहरीले जिल्लाको कावासोती, विनयीत्रिवेणी, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिकाको ग्रामीण क्षेत्रको विभिन्न स्थानमा छड्के चेक गरी कारवाही गरेको छ। नवलपरासी भएर लामो तथा छोटा दूरीका सवारी साधन गुड्ने र यही क्षेत्रमा दुर्घटना हुने क्रम पनि बढ्ने भएकाले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख लक्ष्मणबहादुर शाहीले बताए। नियमविपरीत सवारी साधन चलाएको पाइएमा ऐनअन्तर्गत कारवाही गर्ने शाहीको भनाइ छ।

‘दुर्घटना न्यूनीकरण गर्नका लागि हामी लागिपरिरहेका छौँ। नियमविपरीत चलाउने सवारी चालकलाई कुनै पनि सर्तमा छाड्न सक्दैनौँ’, उनले भने। धेरै यात्रु चढाउने, चालकले मादक पदार्थ सेवन गर्ने, सामान राख्नका लागि बनाइएको क्यारियरमा यात्रु राख्ने जस्तो कार्य गरेकाले त्यस कार्यलाई रोक्न विशेष योजना बनाई तत्काल लागू गर्ने उनको भनाइ छ।

‘सामान राख्ने, मानिस बोक्न सजिलो बनाउनको लागि ठूलो क्यारियर बनाउने चलन बढेको छ', प्रमुख शाहीले भने, ‘त्यसलाई हटाउने कार्य योजना बनाएर लागू गर्न लागेका छौँ।’ आवश्यकताभन्दा बढी यात्रु कोच्ने माइक्रो बस, उल्टो सिट राखेर यात्रु राख्ने म्याजिक भ्यान, ढोका उघारेर चलाउने सवारी साधन, सिटभन्दा बढी यात्रु राख्ने जुनसुकै साना तथा ठूला सवारी साधनलाई कारवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ।

विनयीत्रिवेणी गाउँपालिकाको दुम्किवास बजारबाट सामान बोकेर यात्रु बसले छतमा राखी लैजाने चलन रहेकाले त्यसलाई रोक्न छतको क्यारियर झिक्ने कार्य केही दिनमा अघि बढाउने ट्राफिक प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रमा जाने सवारी साधनले यात्रुसँगै छतमा सामान बोक्ने गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.