|
रासायनिक हमला गरिएको भनिएको एक हप्तापछि डुमा सहर, रोयटर्स

संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरू समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरू मिसिएको घातक हतियारबाट भएका हमलाहरूको अध्ययनका लागि यस्ता शस्त्रहरू राखिएका भनिएका स्थानको भ्रमण गर्न सिरिया र रुसले अनुमति दिने भएका छन्।

ती स्थानको भ्रमण र अवलोकनका लागि रुस र सिरियाले अन्तर्राष्ट्रिय अनुगमनकर्ता तथा विज्ञहरूलाई पनि पहूँच दिने भएका हुन्।

सिरियाले रासायनिक हतियार प्रयोग गरेको भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि गत शनिबार क्षेप्यास्त्र हमला गरेका थिए। त्यसपछि अमेरिका तथा पश्चिमा राष्ट्र र रुसबीच तनावको स्थिति पैदा भएको थियो। रुसले रासायनिक हतियार प्रयोगको निष्पक्ष जाँच गर्ने निकाय हुँदाहुँदै किन ती स्थानमा क्षेप्यास्त्र हमला गरिएको हो भनेर अमेरिकातिर प्रश्न तेर्‍स्याएको छ।

यसरी ती स्थानमा रुस र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको विदेशी अनुगमनकर्ताहरूले जनाएका छन्। सिरियाली सरकारी सेनाले डुमामा गराएको हमलाको विषयमा सूचना संकलन गर्नबाट रोकिरहेको यसअघि बताइएको थियो।

यसअघि अमेरिका र उसको गठबन्धनका सदस्य राष्ट्रहरूले ती हतियारहरूको प्रयोग गरिएका भनिएका स्थलहरूमा सिरियाली सेनाले नै प्रमाणहरू नष्ट गरिरहेको अमेरिकी अधिकारीहरूले आरोप लगाएका थिए।

डुमामा जानका लागि भन्दै शनिवार नै सिरिया पुगेका अन्तर्राष्ट्रिय विज्ञहरूलाई नमुना संकलन गर्न जानबाट सरकारले रोकेको थियो।

यस घटनाको अन्तर्राष्ट्रिय रुपमा नै विरोध गरिएको छ। विरोधस्वरुप ती विदेशी विज्ञहरूले सरकारले नै ती क्षेत्रमा जान नदिएको भन्दै पहूँचका लागि सिरिया र रुसी सरकारलाई दबाव दिएका थिए।

पहूँच नदिइएको भन्नु आरोपमात्र

यसैबीच अन्तर्राष्ट्रिय रुपमा अनुगमन गरिरहेको अधिकारीहरूलाई सिरियामा रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको समाचार आधारहीन भएको क्रेमलिनले जनाएको छ।

रूसप्रति लगाइएका यस्ता आरोपमा कुनै सत्यता नभएको क्रेमलिनले जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि उक्त आरोपको खण्डन गरेका छन्।

उनले सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको पूर्वाग्रहरहित अनुसन्धानको पक्षमा रुस रहेको उनको भनाई छ।

रूस र सिरियाले रासायनिक हतियार निवारण सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (ओपिसीडब्लु) ले खटाएका हतियार विज्ञ सदस्यलाई सिरियाको डुमामा प्रवेश गर्न अवरोध गरेको बेलायतले जनाएको थियो।

यही अप्रिल ७ मा भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमला गरेको र त्यसमा परी कम्तमिा पनि ४० जना विद्रोहीको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.