|

गोरखा : पालुङ्टार नगरपालिका–१ का वडाअध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजको आधारमा एक महिलालाई सहायक कर्मचारीमा छनौट गरेको तथ्य खुलेको छ।

बहिनी हिरा बानियाँको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेश गरेकी स्थानीय कविता बानियाँ(खड्का)लाई खुल्ला प्रतिस्पर्धा गराएर छनौट गरिएको हो।
साथै दुई नाम भएका एउटै व्यक्ति हुन् भन्ने फर्जी सिफारिससमेत पेश भएको अहिले खुलेको छ। 

वडा कार्यालयले आवेदन खुल्ला  गरेपछि सात जनाको निवेदन परेको थियो। उनीहरूमध्ये वडा अध्यक्ष परियारले कविताको नाम प्रकाशन गरेका स्थानीय भोला श्रेष्ठले जानकारी दिए।

कविताले कक्षा आठ उतीर्ण गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्र साहिली बहिनी हिरा बानियाँको पेश गरेको खुलेको छ। नागरिकताको प्रमाणपत्र भने आफ्नै नामको पेश गरेकी छन्। नागरिकतामा जन्म मिति २०४५ साल उल्लेख छ भने लब्धाङ्कपत्र र प्रमाणपत्रमा जन्ममिति २०४९ साल उल्लेख छ। 

साथै उनले हिरा र कविता भन्ने व्यक्ति एउटै हुन् भन्ने प्रमाणपत्र पनि पेश गरेकी छन्। सो दिदी र बहिनीलाई एउटै हुन् भन्ने प्रमाणपत्र उनलाई गोरखा नगरपालिका ३ ले, पालुङ्टार नगरपालिका १ ले र जिल्ला प्रशासन कार्यालयले समेत प्रमाणित गरेको छ।

‘हिरा र कविता भन्ने व्यक्ति एउटै हो भन्ने गोरखा नगरपालिका ३ को वडा कार्यालयको सिफारिस आयो। मार्कसिट र सर्टिफिकेटमा फोटो पनि कविताकै टाँसेर पेश भयो त्यसैले मैले अघि बढाएँ’ पालुङ्टार १ का वडा अध्यक्ष परियारले भने ‘हामीले त मान्छे भन्दा पनि कागजलाई प्रमाण मान्ने हो।’

गोरखा नगरपालिका ३ स्थित विन्दबासिनी माध्यमिक विद्यालयले उनको फोटो टाँसेर बहिनी हिरा बानियाँको नामको कागजात बनाइदिएको छ। ‘जिम्मेवार निकायको यस्तो गाइजात्रे पारा देखेर हामीले बिरोध गर्‍यौं’ श्रेष्ठ भन्छन् ‘त्यसपछि नतिजा टाँसिएपछि पनि नियुक्ति भने दिएका छैनन्।’

जिल्ला प्रशासन कार्यालयले समेत ती दुई व्यक्ति एउटै हुन् भनेर प्रमाणित गरेपछि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित वडा अध्यक्ष, विद्यालयका प्रअ र दिदी बहिनी दुवैलाई झिकाएर अनुसन्धान थाल्ने जनाएका छन्।

कारबाही गर्न प्रशासनको आलटाल 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उक्त कागजात प्रकरणमा मुछिएका सबैलाई जिल्ला प्रशासनमा झिकाएर कारबाहीको प्रक्रिया अगाडी बढाउने बताए पनि अहिलेसम्म कुनै प्रगती हुन सकेको छैन। 

बिन्दबासिनी माविले बहिनी हिराको कक्षा आठको लब्धाङ्कपत्रमा दिदि कविताको फोटो टाँसेर फर्जी कागज बनाएको छ। यता फर्जी कागज प्रकरण अनुसन्धान तथा कारबाही प्रक्रिया फितलो भएको स्थानीय श्रेष्ठको आरोप छ। 

‘यो मुद्दाको अनुसन्धान र कारबाही प्रक्रिया फितलो भयो’ श्रेष्ठले भने ‘यदि फर्जी कागजमा कर्मचारी छनोट गर्न संलग्न  सबैलाई कारबाही नगरे आन्दोलन गर्छाैँ।’ फर्जी कागज प्रकरणमा जिल्ला प्रशासन कार्यालय भित्रकै कर्मचारीको संलग्नता भएकाले कारबाही प्रक्रीया फितलो भएको श्रेष्ठले दाबी गरे।

फर्जी कागजलाई वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्मले सहि मानेर प्रमाणित गरेका छन्। कागजात फर्जी भएको प्रमाणित भएपनि दोषीलाई कुनै कारबाही नभएकोमा श्रेष्ठले आपत्ति जनाए।

यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएकोले प्रशासनले तत्कालै केही गर्न नसक्ने प्रशासन कार्यालयका सूचना अधिकारी गौतम भण्डारीले जानकारी दिए। 
‘हामीले मुद्दाको विषयमा छानविन गर्न प्रहरी कार्यालयलाई पत्राचार गरेका छौ’ भण्डारीले भने ‘प्रहरी कार्यालयबाट मुद्दाको छानबिन हुँदैछ।’ छानबिन भएर आएपछि मात्रै प्रशासनले कारबाहीको निर्णय गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.