|

सोलुखुम्बु : सगरमाथा आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माणको काम सम्पन्न भएको छ। सगरमाथा आरोहणमा जान प्रयोग गरिने उक्त बाटो निर्माण गरिएको आईसफल डक्टर आङसर्की शेर्पाले जानकारी दिए।

गत (अप्रिल १) अर्थात गत चैत्र १८ देखि निर्माण सुरु गरेका समूहले (अप्रिल ११) अर्थात गत शुक्रबार क्याम्प दुईसम्मको बाटो बनाउने काम सकेको आईसफल डक्टर शेर्पाले जानकारी दिए।

उनका अनुसार सगरमाथा आधार शिविरको बाटो निर्माण गर्ने काम निक्कै चुनौतीपूर्ण छ। एकै स्थानमा दुईदेखि तीन वटासम्म भर्‍याङ जोड्नुुपर्ने डक्टरको भनाई छ। क्याम्प दुईसम्म ११ स्थानमा भर्‍याङ राख्ने र अन्य क्षेत्रहरुमा समेत डोरी टांने काम गरिएको डक्टर शेर्पाले बताए।

डक्टर शेर्पाले भने, ‘आधारशिविरदेखि क्याम्प दुर्इसम्म ‘आइसफल’ क्षेत्रमा धातुको भर्‍याङहरू डोरीले बाँधेर तीनलाई जोडेर पुलहरु बनाउने काम सक्यौ।’ डक्टर शेर्पाले भने, ‘अहिले आरोहीहरु धमाधम क्याम्प दुर्इतर्फ लागिरहेका छन्।’

आधार शिविरदेखि क्याम्प एक र क्याम्प दुईसम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का आइसफल डक्टरको समूहले निर्माण गरेका हुन्। आईसफल डक्टर आङकामी शेर्पाको नेतृत्वमा आठ जनाको समूहले बाटो निर्माण गरेका हुन्।

आईसफल डक्टरको समूहमा शेर्पाको नेतृत्वमा आङ सर्की शेर्पा, ङिमा दोर्जी शेर्पा, मिङ्मा शेर्पा, याङ्डा शेर्पा, मिङ्मा पेम्बा शेर्पा, ङिमा वाङ्छु शेर्पा र दावा जाङ्बु शेर्पा रहेका छन्। आङकामी शेर्पा १९ बर्ष देखि निरन्तर यस कार्यमा सहभागी छन् भने आङसर्की शेर्पा ११ बर्ष देखि निरन्तर आइसफलको बाटो निर्माण गर्ने कार्यमा सक्रिय छन्। लामा विधिद्वारा पूजापाठ गरेपछि औपचारीक रुपमा बाटो बनाउने काम सुरु गर्ने प्रचलन छ।

बिहिबारदेखि क्याम्प दुई हुँदै चुचुरो जाने बाटो निर्माण गरिने पनि डक्टर शेर्पाले जानकारी दिए। यस याममा चुचुरोसम्म जाने बाटो निर्माणको जिम्मा हिमालयन गाईड कम्पनीले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.