|

काठमाडौं : वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको सेवन नै नसर्ने रोगहर"को प्रमुख जड भएको स्पष्ट पारेका छन्। शुक्रबार क्यान्सर काउन्सिल नेपालले ललितपुर महानगरपालिका- १६ मा माछापुछ्रे बैंकको प्रायोजनामा आयोजित ‘जनचेतनामूलक अन्तर्क्रियात्मक कार्यक्रम’मा बोल्दै डा. पौडेलले यस्तो बताएका हुन्। 

उनले भने, ‘नसर्ने रोगहरूको प्रमुख कारण नै अहिले सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग रहेको पाइएको छ, नेपालमा वर्सेनि हजारौँ मानिसहरू सुर्तीजन्य पदार्थको सेवनको कारणले अकालमा ज्यान गुमाइरहेका छन्, यो डरलाग्दो अवस्था हो।’

उनले सरकार र नागरिक समाजले सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनमा रोक लगाउने गरी आफ्ना गतिविधिहरू अघि बढाउनुपर्ने धारणा राखे। उनले भने, ‘सरकार कडाइका साथ प्रस्तुत हुनुपर्‍यो, क्यान्सर काउन्सिलले पनि आफ्ना अभियानहरू अब देशव्यापी रूपमा संचालन गर्नुपर्छ।’

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्यले क्यान्सर काउन्सिल नेपालले विगत लामो समयदेखि क्यान्सर रोग रोकथामबारे सामाजिक कार्यक्रम संचालन गरेर धेरैको मन जितेको बताए।

उनले आगामी दिनमा महानगरपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरेर नागरिकहरूलाई सचेत गराउने प्रतिवद्धता जनाए। त्यस्तै, महानगरपालिकाले ललितपुरवासीलाई शल्यक्रिया गर्दा २० हजार रुपैयाँ सहयोग प्रदान गर्दै आइरहेको पनि उनले जनाए। 

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष कडरियाले मुलुक यतिबेला संघीय संरचनामा गएकाले अब सरकारका तीनवटै निकायले सुर्तीजन्य पदार्थ रोकथामका लागि गम्भीर पहलकदमी चाल्नुपर्ने सुझाव दिए। उनले भने, ‘मुलुकमा यतिबेला तीन तहका सरकार छन्, सबै तहका सरकारले जिम्मेवार ढंगले नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको सुर्तीजन्य पदार्थविरुद्धको ऐन, २०६८ कार्यान्वयन गर्नुपर्छ, हामी सरकारलाई साथ दिन हरदम तयार छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.