|

चितवन : चितवनको राप्ती र नारायणी नदी किनारबाट बच्चा कोरल्नका लागि घडियाल गोहीका अण्डा संकलन गरिएको छ। 

गोही प्रजनन् केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार दुई वटा नदी किनारमा भेटिएका १६ वटा गुँड मध्ये नौ वटाबाट अण्डा संकलन गरिएको हो।

नारायणी नदी किनारका दुई वटा गुँडका ६६ अण्डा नारायणी नदी किनारमा रहेको घडियाल आईल्याण्ड सेन्टरमा राखिएको छ।

यस वर्ष मगर गोहीको एउटा गुँड अति नै असुरक्षित देखिएपछि मगर गोहीका १२ वटा अण्डा पनि प्रजनन् केन्द्रमा ल्याईएको खड्काले बताए। यस अघि प्रजनन् केन्द्रमा मगर गोहीका अण्डा ल्याउने गरिएको थिएन।

नदी किनारमा गोहीले अण्डा पारेको गुँड खोजी गरी असुरक्षित देखिएका ठाउँबाट अण्डा ल्याईने खड्काले बताए। सात वटा गुँड सुरक्षित देखिएकाले प्राकृतिक रुपमा नै बच्चा कोरल्नका लागि छाडिएको छ। 

नारायणी नदीमा गोलाघाटदेखि त्रिवेणीसम्म अण्डा संकलन गरिएको थियो। नारायणीमा ६ वटा गँुड फेला परेका थिए। जसमध्ये चार वटा गुँड छाडेर दुई वटा गँुडको अण्डा संकलन गरिएको हा।
गत शनिबारदेखि सोमबारसम्म तीन दिन र रातको समयमा अण्डा संकलन गरिएको बताउँदै खड्काले उज्यालोमा अण्डा संकलन गरी रातको समयमा ती अण्डालाई डुङ्गामा राखेर प्रजनन् केन्द्रसम्म ल्याइएको बताए।  
हरेक वर्ष चैत महिनामा गोहीले नदी किनारको बालुवामा खाल्डो खनेर अण्डा पार्ने गर्दछ। संकलित अण्डालाई गोही प्रजनन् केन्द्रमा ल्याएर बालुवा मुनी राख्ने गरिन्छ। 

बालुवा भित्र बच्चाको आवाज आउन थालेपछि कतिपय प्रजनन् केन्द्रका माउले निकाल्ने गर्दछन् भने कतिपय आफै बाहिर आउने गर्दछन्।  

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार यसरी कोरलिएका बच्चालाई हुर्काएर नदीमा छाडिदँै आएको छ। हालसम्म राप्ती, नारायणी, कालिगण्डकी, कोशी र बबईमा गरी १ हजार ३ सय ६५ गोही नदीमा छाडी सकिएको छ।
हाल प्रजनन् केन्द्रमा पाँच सय हाराहारी घडियाल गोही रहेका छन्। कालीगण्डकी र कोशीमा गोही हराउँदै गएपछि ती नदीहरुमा गोही छाड्न बन्द गरिएको अर्यालले बताए।
पछिल्लो गणना अनुसार राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ वटा गोही छाडिईसकिएको छ । यो वर्ष १ सय २० वटा गोही छाडिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.