|

सिमकोट : हुम्लामा रहेका स्याउ बगैंचा यतिबेला सेताम्य भएका छन्। बैशाख लागेसँगै यहाँका बगैंचा स्याउ, आरु, चुली, खाँबुलगायतका फलफूल  फुलेर  सेम्तामे हुन्छन्। वनपाखा तथा बारीमा फुलेका स्याउका फूलले मोहनी लगाउँछ। 

स्याउ फुलेर ढकमक्क भएसँग किसानका मन भने पलपल ढक्क–ढक्क फुलिने गर्दछ, हावाहुरीले फूल झार्छ कि भनेर। उनीहरुमा फूललाई कसरी जोगाउने भन्ने चिन्ता छ। बैशाखभरि हावाहुरीको समय भएकाले स्याउका फूलकै चिन्ता हुने बताउँछन् किसान गोर सिंह ।

फूल राम्रो भए पछि फल राम्रो हुने लाग्ने कृषि प्राविधिक रुद्रबाहादुर शाहीले बताए। त्यसैले किसानहरु फूल लागेपछि स्याउको हेरचाहमा तल्लीन हुन्छन्। बैशाखमा फूल फुले पनि असारदेखि मात्र फल लाग्न सुरु गर्छ। स्याउको फल कात्तिकको साता टिप्न सुरु हुने किसानहरुले बताउँछन्।

कीराले चिन्तित

स्याउ फुलेर ढकमक्क भए पनि बोटमा कीरा देखिएपछि  किसानहरु चिन्तित छन्। स्याउ फुल्ने समय सुरु भएसँगै बगैचाका अधिकांश बोटमा कीरा देखा परेपछि किसान चिन्तित बनेका हुन्।

जिल्लाका प्रायः स्याउ बगैंचामा कीरा र ढुसी देखा परेका स्थानीय जसबहादुर महतराले बताए। स्याउका फूल र पात कीराले खान थालेपछि यस वर्षमा स्याउ उत्पादनमा कमी आउने सिमकोट–५ का प्रकाश रावतले  चिन्ता व्यक्त  गरे। 

उनका अनुसार कीराले विरुवालाई खान थालेपछि स्याउका हाँगा सुक्दै जान थालेका छन्। लामो समयदेखि पानी नर्पुनुले पनि विरुवामा कीरा लागेको हुन सक्ने उनको अनुमान छ।

कीराले लागेका बोटमा फल राम्रो नलाग्ने, लागे पनि उमेर नपुग्दै झर्ने गरेको किसान महताराले बताए। स्याउ बगैंचामा कीरा रोकथाम गर्न कुनै पनि निकायले अहिलेसम्म चासो नदिएको किसानहरुको  गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.