|
फाइल तस्बिर

सुर्खेत : रोजगारीका लागि गोर्खा पुगेका सुर्खेतका मजदुर कुटिएका छन्। भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम भइरहेका गोर्खा नगरपालिका–३ नारेश्वर दम्सुरीमा पुनर्निर्माणको काममा मजदुरीका लागि गएका सुर्खेत चिङ्गाड गाउँपालिका–३ का सन्तबहादुर घर्ती र उनका छोरा सुरेन्द्र घर्तीलाई स्थानीय युवाहरुले बिनाकारण कुटेको सन्तबहादुरले फोनबाट जानकारी गराए।

बजारमा साँझको समयमा दाल, तेल र नुन किन्न गएको बेला भट्टी सञ्चालन गर्दै आएका दिनेश भट्टलगायत पाँच जनाले मराणासन्न हुने गरी कुटेको घर्तीले बताए। घर्ती अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचारत छन्।

स्थानीय स्वास्थ्य संस्थाका डाक्टरले थप उपचारका लागि काठमाडौं या चितवन जान सल्लाह दिएपछि उनी चितवन पुगेका हुन्। उपचारका लागि केही रकम ल्याएर आएकोमा अहिले सबै रकम सकिएको उनले बताए।

‘मदिरा सेवन गरेका दुई जनाले म हिँडिरहेको ठाउँमा आई ओई के हिरो बनेको भनेर धम्क्याउँदै हातपात गरे,’ सन्तबहादुरले फोनमा भने, ‘म जसोतसो त्यहाँबाट फुत्किएर भागें। तर, अलि पर पुग्दा अरु तीन जना आएर घेरा हाली मराणासन्न हुने गरी कुटे।’ त्यसपछि बल्लतल्ल कोठामा पुगे पनि काटेर फालिदिन्छु भन्दै धम्की दिएको घर्तीले बताए। घर्तीले भने, ‘म त्यो ठाउँमा कसरी काम गर्ने, आफ्नै देशमा पनि मजदुरी गर्न अप्ठेरो भएको छ।’

कुटपिटपछि स्थानीय प्रहरी चौकीमा निवेदन दिएर उपचारका लागि चितवन आएको उनले बताए। निवेदन दिए पनि कुटपिट गर्ने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ नगरी सहायकलाई मात्र पक्राउ गरेको उनको गुनासो छ।

गाउँमा डकर्मी काम गरेर गुजरा गर्दै आएका उनी पाँच महिनादेखि गोरखामा मजदुरी गर्दै आएका छन्। सुर्खेतलगायत कर्णाली प्रदेशका मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जाने मजदुर गोर्खा, सिन्धुपाल्चोकलगायतका भूकम्प प्रभावित क्षेत्रहरूमा मजदुरीका लागि गएका छन्। त्यहाँ उनीहरू दैनिक ८०० देखि एक हजार २०० रुपैयाँसम्म ज्याला पाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.