|

उदयपुर : स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ भने जनप्रतिनिधिहरु पनि अन्योलमा परेका छन्। निर्वाचन भएको एक वर्ष पूरा हुँदा पनि उदयपुरको कटारी नगरपालिकामा दरबन्दी अनुसार कर्मचारी छैनन्।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७४\०७५ का ८० प्रतिशत योजनाहरु सम्झौता गरिसकेको छ। तर, कर्मचारी नभएका कारण सम्पूर्ण काम ठप्प भएको नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। ‘लेखाशाखा रित्तै छ, अन्य विषयगत कार्यालयका कर्मचारी पनि छैनन्। कसरी काम गर्नु?,’ प्रमुख श्रेष्ठले भने, ‘प्रदेश र केन्द्रीय मन्त्रालय र विभाग सवै ठाँउमा मागेको छु। माथिबाट पठाउँदैनन्।’

साना तथा ठुला गरी नगरपालिकाको सात सय योजना मध्ये पाँचसय ६० योजनाको सम्झौता भएको जनाएको छ। लेखापाल नै नभएका कारण सम्झौता भएका योजना मध्ये ३० प्रतिशत योजनाको फर्छ्योट, फरफारक समेत नभएको प्रमुख श्रेष्ठको भनाइ छ। कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाल नगरपालिकाको बजेट हिनमिना गरी फरार भई पक्राउ परेपछि अहिलेसम्म कोही आएका छैनन्। कार्यालयका प्रशासकिय अधिकृत रमेश गौतम छन्। तर, अन्य महत्त्वपूर्ण शाखाका कर्मचारी नहुँदा समस्या भएको छ।

शिक्षा तथा स्वास्थ्यसँग सम्बधित योजनाहरूलाई प्राथमिकता दिइएको भए पनि कर्मचारी नहुँदा समस्यामा परेको प्रमुख श्रेष्ठको गुनासो छ। कार्यालयमा एक जना करारमा दुई जना ज्यालादारीमा इन्जिनियर छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले दरबन्दी अनुसारका विभिन्न शाखामा कर्मचारीको नहुँदा कामै रोकिएको बताए। ‘कर्मचारीको चरम अभाव छ,’ उनले भने, ‘मेयर साब र हामीले पटक पटक कुरा गर्दा पनि माथिबाट पठाउँदैन, पठाएका पनि विभिन्न बहानाबाजी गरेर आउँदैनन्।’

प्रमुख प्रशासकीय अधिकृत गौतमले भौतिक पूर्वाधारतर्फका ७० प्रतिशत योजना सम्झौता भएको बताए। उनले भने, ‘३० प्रतिशत बाँकी छ, तर, लक्षित वर्ग र विषयगत कार्यालयको बजेट नै धेरै फ्रिज हुने सम्भावना छ।’ लक्षित कार्यक्रमहरु कुनै पनि हुन सकेको छैन। खानेपानी, सिंचाइका सबै योजनाहरूको सम्झौता हुन बाँकी रहेको पनि कटारी नगरपालिकाका प्राविधिक नेत्रकुमार पौडेलले जानकारी दिए।

नगरपालिकाको १, ६, ८, ९, १३, नम्बर वडा कार्यालयमा मुखिया वडा सचिव भएर काम गरिरहेका छन्। ‘वडा कार्यालय समेत मुखिया र कार्यालय सहयोगीको भरमा सञ्चालन गर्नु परेको छ,’ ३ नम्बरका वडा अध्यक्ष राम पोखरेले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.