|

चितवन ः भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैंडाको बच्चा(केटो)लाई पनि ‘पिट बोमा’(सानो खोर)मा राखिएको छ। 

चीन पठाउनका लागि अन्य गैंडाको बच्चा राखिएको बोमा नजिकै अर्काे बोमा बनाएर उसलाईपनि शुक्रबारबाट राखिएको चितवन राष्ट्रिय निकुञ्जका पुर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर उक्त केटोलाई भारत पुर्याएको थियो चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा ल्याएर पालनपोषण गरिंदै आईएको थियो।

अन्य तीनवटा गैंडाको बच्चालाई हालैमात्रै निकुञ्जबाट नियन्त्रणमा लिई बानीपार्न पिट बोमामा राखिएको छ। सोही नजिक अर्काे बोमा तयार गरी भारतबाट उद्धार गरिएको केटोलाई समेत राख्न थालिएको हो। 

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल केटो तन्दुरुस्त रहेको बताउनुहुन्छ । उनले निकुञ्जबाट हालै ल्याईएका अन्य गैंडा समेत तन्दुरुस्त रहेको र सबै खानेकुरा सहज रुपमा खान थालेको जानकारी दिए। 

अहिले यहाँ राखिएका ४ वटै गैंडाको केटोलाई दुध, फलफूल, घाँस लगायत खानेकुरा दिने गरिएको छ भने नियमित अनुगमन गर्ने गरिएको छ । पशुचिकित्सक सहितको टोलीले ४ गैंडाको निगरानी गरिरहेका छन्।

सरकारी निर्णय अनुसार चीनलाई २ जोडी गैंडा नेपालले उपहार दिंदै छ । एकजोडी गैंडा भने आगामी असारसम्ममा पठाईने चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। विभिन्न देशमा गरेर नेपालले अहिलेसम्म २ दर्जन बढी गैंडा उपहार दिईसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.