|

रामेछाप : जिल्लाको दोरम्बा गाउँपालिका-५ गुन्सालका युवाहरू एकीकृत बस्ती निर्माणमा जुटेका छन्। स्थानीय संस्था सेतीदेवी जनजागृत युवा समाजको अगुवाइमा युवाहरू एकीकृत बस्ती निर्माणमा जुटेका हुन्। 

स्थानीय युवाको पहलमा भूकम्पपछि पुननिर्माणको क्रममा एकीकृत बस्ती निर्माण गर्न लागिएको हो। दोरम्बा गाउँपालिका-५ गुन्सालको विभिन्न ठाउँमा छरिएर रहेका ३५ घरलाई एकत्रित गर्ने उद्देश्यले एकीकृत बस्ती निर्माण गर्न लागिएको सेतीदेवी जनजागृत युवा समाजका उपाध्यक्ष निरबहादुर श्रेष्ठले बताए। 

बस्ती निर्माणको लागि जग्गा व्यवस्थापन, घरको नक्सा पास, एकीकृत बस्तीको डिजाइन समेत तयार गरी बस्ती निर्माणको काम थालिएको पनि उनले बताए। राजनीतिक दलले विकासका नारा धेरै लगाए पनि परिणाम आउने गरी काम नगरेकाले आफ्नो गाउँ आफै बनाउने उद्देश्यले एकीकृत बस्ती निर्माण गर्न लागिएको उपाध्यक्ष श्रेष्ठ भनाई छ। 

एकीकृत बस्तीअन्तर्गत निर्माण गरिने प्रत्येक घरमा दुइवटा बेडरुम, १ किचेन र ट्वाइलेट वाथरुम रहने एकीकृत बस्ती निर्माण समितिका संयोजक बाबुबाजी श्रेष्ठले बताए। उनका अनुसार प्रत्येक घरको अगाडि १३ फिटको सडक हुनेछ। त्यसैगरी एउटा सामुदायिक भवन, बाल उद्यान, मन्दिर र खेल मैदान पनि निर्माण हुने उनले बताए। 

एकीकृत बस्तीमा सहभागी भएका ३५ घर परिवारको आवास पुनःनिर्माणको लागि सरकारले उपलब्ध गराएको अनुदानको पहिलो किस्ताको रकम एकमुष्ट गरी घडेरी खन्ने काम गरिएको छ। प्राविधिक स्टिमेट अनुसार एउटा घर निर्माण गर्न नाै लाख ५० हजार रुपैयाँ लाग्ने छ भने ३५ घर निर्माणको लागि तीन करोड ३२ लाख ५० हजार रुपैयाँ लाग्ने छ। 

आवास पुननिर्माणको लागि सरकारले दिने अनुदानको रकम ३५ घरकै एकमुष्ट गर्दा एक करोड ५ लाख रुपैयाँ हुने छ। त्यो बाहेक सेतीदेवी जनजागृत युवा समाजले दुई करोड २७ लाख रुपैयाँ बजेटको ब्यवस्थापन गर्नुपर्ने छ। अहिले घर निर्माणको लागि ब्लक बनाउने र घरको जग खन्ने काम भइरहेको सेतीदेवी जनजागृत युवा समाजको उपाध्यक्ष निरबहादुर श्रेष्ठले जानकारी दिए। दोरम्बा गाउँपालिका-५ गुन्सालमा निर्माण हुन लागेको एकीकृत बस्ती रामेछाप जिल्लाकै पहिलो एकीकृत बस्ती हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.