|

जाजरकोट : जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नुन खानीको सम्भाव्यता देखा परेको छ।

खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए।

खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नुनको मात्रा रहेको तथ्य फेला परेको सांसद सिंहले बताए। खाराखोलाको पानी लिएर वाटर इन्जिनियरिङ एण्ड ट्रेनिङ सेन्टर काठमाडौंमा परीक्षण गरिएको थियो।

खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेश खनालले ल्याब परीक्षण गर्दा राम्रो नतिजा आएको बताए। उनले भने, “केही दिनमै नुन खानीको स्थलगत अध्ययनका लागि टोली पठाउनेछु। म सानै हुँदा बारेकोटमा नुन खानी रहेको बुढापाकाले पनि बताउने गरेका थिए।”

बारेकोटमा नून निकाल्न सके देशलाई नुनमा आत्मनिर्भर बनाउन सकिने उनको विश्वास छ। खोलामा धेरै ठूलो पानी नभए पनि निरन्तर बगिरहने पानीबाट धेरै नून उत्पादन गर्न सकिने उनले बताए। उनले भने, “यो खानीलाई विस्तृत अध्ययन गरी परियोजना अघि बढाउन सरकारको ध्यान जानु आवश्यक छ।

सिंहका अनुसार बारेकोटमा नुन खानीमात्र होइन र फलाम खानीसमेत छ। नुन र फलाम खानीको सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गरिएको र स्थानीय सरकारले त्यसका लागि आवश्यक सहयोग गर्नका लागि वचन दिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.